गुनासालाई तत्काल सुनिदिने जनप्रतिनिधिले पाए धन्यवाद

0
611

सोलुखुम्बु,

जनस्तरबाट सम्भव नहुने तर विभिन्न कारणले नागरिकमा आइपर्ने समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी सरकारको हो । नेपालमा तीन तहका सरकारले नागरिकको समस्या समाधान गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा जुटेको बताउँछन् तर पनि कतिपय क्षेत्रका नागरिकले उठान गरेको समस्या चाँडै समाधान हुन्छ भने कतिपयको समस्या वर्षौंवर्ष हुँदा पनि ज्यूँका त्यूँ हुन्छ । यसका पछाडि त्यस क्षेत्रका जनप्रतिनिधिको भूमिका नै महत्वपूर्ण मानिन्छ ।

बर्खाको समयमा ग्रामीण क्षेत्रको सडक हिलाम्मे हुनाका साथै खाल्डाखुल्डी भएपछि आवतजावतमा समस्या हुनु सामान्य मानिन्छ । यस्तै जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका–१ नेलेबाट वडा नं ६ मुक्ली, ७ र ८ देउसा हुँदै माप्यदूधकोसी, सोताङ र महाकुलुङ गाउँपालिका जोड्ने मुख्य सडकखण्ड हिलाम्मेसँगै खाल्डाखुल्डी हुँदा समस्या भएको भन्दै नागरिकले गुनासो गरे । सामाजिक सञ्जाल ‘फेसबुक’मा सडकको अवस्था सार्वजनिक भएको एक साता नपुग्दै गाउँपालिकाले समस्याको समाधान गर्ने गरी बजेट व्यवस्था गरेर काम सुरु गरेको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।

वडा नं ७ देउसामा रु दुई लाख र वडा नं १ नेलेमा रु तीन लाख बजेट व्यवस्था गरी करिब ५०० मिटर सडक सोलिङ गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस कदमप्रति स्थानीयवासी पनि हर्षित बनेका छन् । थुलुङ दूधकोसी गाउँपालिका–१ नेलेबाट सोताङ, महाकुलुङ जाने सडक सोलिङमा व्यस्त रहनुभएका स्थानीयवासी लोकेन्द्र खत्रीले सोलिङपूर्वको सडकको अवस्थाबारे भन्नुभयो, “सडकको अवस्थाको त के कुरा गर्नु र ? वल्लो घर पल्लो घर हिँड्डुल गर्न नै गाह्रो थियो ।”

बर्सातका कारण हिलाम्मे भएको सडकखण्डमा आवतजावतमा समस्या भएको गुनासोपछि स्थानीय सरकारले तत्काल समाधानतर्फ लागेको भन्दै नेले–१ का फौदबहादुर खत्रीले खुसी व्यक्त गर्नुभयो । उहाँले यसरी भएको विकास निर्माणले सडकको अवस्था सुधार हुनाका साथै रोजगारीसमेत सृजना भएको बताउनुभयो ।

हिलो तथा ठूलो ठूलो खाल्डो भएको सडकमा दुःखका साथ सवारी सञ्चालन गर्न बाध्य हुनुभएका सोलुदूधकुण्ड नगरपालिका–४ का काजी तामाङले सडक सोलिङ भएको देखेपछि थुलुङदूधकोसी गाउँपालिका सरकारलाई धन्यवाद दिनुहुन्छ ।

गाउँपालिकाबाट प्राप्त करिब रु तीन लाख बजेटले नेलेको १५० मिटर सडक सोलिङ गर्ने प्राविधिक अनुमान रहेको भए पनि थप काम गर्ने उपभोक्त समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष रोशन पौडेलले वडाध्यक्ष घनराज सुनुवार र गाउँपालिका अध्यक्ष राईलगायतलाई स्थानीयवासीको समस्या समाधानमा सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

यस्तै सोही गाउँपालिकाको वडा नं ७ देउसामा सोही सडक सोलिङ गरिरहेका ५०÷६० जनाको नेतृत्व गर्नुभएका सिद्धिमान तामाङले सडक मर्मतपछि स्थानीवासीलाई रोजगारी मिल्नाका साथै सडकको अवस्था सुधार भएको बताउनुभयो । त्यस क्षेत्रका उपभोक्ता समितिका अध्यक्ष तामाङले प्राविधिक अनुमानभन्दा दोब्बर काम गर्ने योजना रहेको बताउनुभयो । “कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा रोजगार ठप्प भएको थियो”, स्थानीयवासी पेम्बा तामाङले भन्नुभयो, “डोजर नलगाइकन मान्छेले गरेको काम राम्रो पनि हुन्छ, यसले हामीलाई दिनको रु ५०० नै बचे पनि त्यतिकै बस्नुभन्दा फाइदा नै हुन्छ ।”

सकारात्मक परिवर्तनमा इच्छाशक्ति महत्वपूर्ण

सकरात्मक परिवर्तनका लागि मानिसमा आवश्यक पर्ने इच्छाशक्ति नेलेका स्थानीयवासी र गाउँपालिकाका जनप्रतिनिधिमा देखिएको नेलेमा निर्माणाधीन सकडमा भेटिनुभएका माप्य दूधकोसी–६ का भीमराज राईले बताउनुभयो । उहाँले जनप्रतिनिधि भनेको थुलुङदूधकोसीको जस्तो हुनुपर्ने भन्दै प्रशंसा गर्नुभयो ।

थुलुङदूधकोसीसहित चार गाउँपालिकाका नागरिकले यात्रा गर्ने सडकखण्ड सवारी साधनका लागि सोलिङ भएसँगै अहिले निकै सहज भएको बताउँछन् । गाउँपालिकाको बजेटले एकातिर रोजगारी सृजना भएको छ भने अर्को तिर सडकको अवस्था सुधार भएको छ । त्यति मात्र नभई अनुमानभन्दा सोलिङ गर्ने पक्षमा रहेका स्थानीयवासीको योजना प्रशंसायोग्य रहेकाले अन्य क्षेत्रका नागरिकले पनि सिक्न आवश्यक रहेको प्रत्यक्षदर्शी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here