संक्रमण बढ्दो, दलगत भेला तीब्र

0
570

दमक ।

दमकसहित झापामा कोरोना संक्रमणदर बढिरहेको अवस्थामा प्रशासनको निषेधाज्ञा अवज्ञा गरेर नै जिल्लाका अधिकांश ठूला राजनीतिक दलहरुले आफ्ना भेला तथा कार्यक्रमहरु गरिरहेका छन् । राजनीतिक दलहरुको अवज्ञापछि जिल्ला प्रशासनले यस्तो कार्यमा रोक लगाएको छ ।

प्रशासनले रोक लगाए पनि राजनीतिक दलहरुले अटेर गरेर कार्यक्रम गरिहँदा यसमा प्रशासनको भने चासो गएको छैन । नेकपा एमाले, नेपाली कांग्रेस, माओबादी केन्द्र लगायतले राजनीतिक कार्यक्रम तथा संगठन विस्तारलाई तीब्रता दिइरहेका छन् ।

जिल्लामा नै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको दमकमा नेकपा एमालेको टोल समितिहरु धमाधम बनिरहेका छन् भने माओवादी केन्द्रले वार्ड कमिटीहरु यसबीचमा नै गठन गरेको छ । नेपाली कांग्रेस चुनाव लक्षित कार्यक्रममा लागेको अवस्था देखिन्छ । भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यहरुको सञ्चालनमा रोक लगाउने डीसीएमसीले निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको निषेधाज्ञामा स्पष्ट रुपमा उल्लेख भएको भए तापनि यसको कार्यान्वयन भएको छैन । नीति नियम बनाउने राजनीतिक दलहरुका दैनिक कार्यक्रमहरु जिल्लामा भइरहेका छन् । यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरेर गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ भन्ने निषेधाज्ञा आदेशमा उल्लेख छ तर कार्वाही भने भएको छैन ।

कोभिड १९को संक्रमणको जोखिम यस जिल्लामा रहिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८को दफा ४, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here