विपद् व्यवस्थापनमा एकीकृत प्रयास

0
713

झापाका सीमा जोडिएका चारवटा पालिकाले विपद् व्यवस्थापनका लागि सामूहिक अग्रसरता देखाएका छन् । अर्जुनधारा, कनकाई, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले प्रदेश सरकारको समेत सहयोग र सहकार्यमा विपद् व्यवस्थापन गर्न एकीकृत प्रयास थालिएको हो । यसलाई स्वीस सरकारले पनि सहयोग गर्ने आइतबार अर्जुनधारामा आयोजित समारोहमा नेपालका लागि स्वीस सरकारका नेपाली प्रतिनिधि राजदूत एलिजावेथ बोन क्यापलरले बताएकी हुन् । दाता तथा दातृ निकायहरूले यस अघि केन्द्र सरकारमार्फत अनुदान वा आर्थिक सहयोग गर्दै आएका थिए । प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरी विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने रणनीतिक साझेदार योजनालाई एकीकृत विपद् व्यवस्थापन केन्द्र भनिएको छ।

केन्द्रले फोहरमैला व्यवस्थापन, कृषिजन्य वस्तु उत्पादन, सङ्कलन, प्रशोधन, बजारीकरणको काम गर्नेछ। यस्तै अपाङ्गता पुनस्र्थापना केन्द्र, पर्यावरणीय पर्यापर्यटन प्रवद्र्धन केन्द्र, आदिवासी जनजातिको संस्कार–संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने केन्द्रको उद्देश्य रहेको छ । गत जुन २ मा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र झापाका चारवटा स्थानीय सरकारका वीच केन्द्र निर्माण तथा सञ्चालन सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको थियो । सम्झौता अनुसार केन्द्रमा चारवटा दमकल, चारवटा साना सवारी, तिनको मर्मत गर्ने कार्यशाला,पानी भण्डारण, विपद् व्यवस्थापनका सामग्री राख्ने घर रहनेछ । त्यसैगरी केन्द्रमा प्रहरी तथा कर्मचारीका लागि आवास तथा विपद्मा सहयोग गर्न हेलीप्याड पनि निर्माण गरिनेछ। अर्जुनधाराको वडा नम्बर १को मदनपुरमा स्थापना गर्ने केन्द्रका लागि जीओटेक सर्वे र डीपीआरको काम भइरहेको छ ।

सहयोगी राष्ट्रका प्रतिनिधिका रूपमा उपस्थित नेपालका लागि स्विजरल्याण्डकी राजदूत क्यापलरले केन्द्रका वारेमा जानकारी लिएकी थिइन् । चारवटै पालिकाका प्रमुख तथा प्रतिनिधि उपस्थित कार्यक्रममा अर्जुनधाराका प्रमुख हरिकुमार रानाले केन्द्रको औचित्य तथा हालसम्म भएका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले समेत कार्यपत्र प्रस्तुत गरेको समारोहमा कनकाई नपा प्रमुख राजेन्द्रकुमार पोखरेल लगायत साझेदार स्थानीय सरकारका प्रतिनिधिहरू सहभागी थिए । विपद् व्यवस्थापन मूल लक्ष्य बनाएको केन्द्रले स्थानीय आवश्यकतादेखि मौलिकताको संरक्षणमा समेत योगदान गर्ने उद्देश्य लिएको केन्द्रले चाँडो आकार पाओस् । राजदूतले भनेजस्तै तीनै तहका सरकारका बीचको समन्वय, सहकार्य र सहअस्तित्व का आधारमा गरिने कार्यमात्र सफल हुने भएकाले आपसी समझदारी, सहभागिता र सहकार्यले लक्षित उद्देश्य पूरा होउन् । यसले यसक्षेत्रको चिनारी र गौरव बढाउन पनि सहयोग गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here