दशैं दशा नबनोस्

0
1428


नेपालीहरुको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं नवरात्र हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म प्रसाद ग्रहणका लागि मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्लपक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।

बताइन्छ कि भगवान रामले यसै दिन रावणको बध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता, कुटुम्ब, ठूला, बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद थाप्ने गर्ने नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

शान्ति र सद्भावको सन्देश बोकेर आउने बडा दशैंले सम्पूर्ण हिन्दू नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभूति दिलाउने गर्दछ । हुन पनि हो, दशैं जस्तो महान चाडमा हामीले हरेक दुःखकष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एकअर्कासँग खुशी साटासाट गर्ने र मान्यजनबाट टिका ग्रहण गरी दशैं मनाउने परम्परा परापूर्व कालदेखि चलिआएको छ । दशैं हामी नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपुर्ण चाड हो । दशैंको समयलाई कुनै न कुनै किसिमले मान्ने चलन दक्षिण एसियाका अन्य देशमा पनि रहे पनि नेपालमा भने दसैं विशेष महत्व र पर्खाइको चाड हो ।

शरद ऋतुमा नै पर्छ उल्लासमय दशैं चाड । जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजन पुनर्मिलनका लागि दशैं कुर्छन् । गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन् । सरकारी र निजी कार्यालयमा समेत लामो विदा र एक महिनाको थप तलब दशैं खर्च पाइन्छ । मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दशैंपछि । खाने, पिउने र उत्सव मनाउने समय हो, दशैं । बाँकी सबै काम त्यसपछि ।

‘असत्यमाथि सत्यको विजय’ भएको सम्झनामा मनाउँदै आएको यो पर्व आम नेपालीहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ । दशैं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्तिले गर्दा उल्लास र उमँगको चाड हुन सकेको छैन । जसले गर्दा दशैं ‘दशा’ भएर आउने गरेको छ । तसर्थ, यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा ‘घाँटी हेरि हाड निल्नु’ भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस् अनि मात्रै दशैं साच्चिकै दशैं बन्न सक्छ । अहिले खाद्य, लत्ताकपडा, मासु आदि वस्तुहरुमा छाएको महंगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बावजुद पनि दशैंलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले अहिले नै सोच्नुपर्दछ ।

आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु पनि यो पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिने परम्परा रहेको यो पर्वले ऐतिहासिक महत्व बोकेको छ । त्यसैले हामीहरु पनि परम्परा जोगाउन चनाखो हुनु जरुरी छ । घटस्थापनादेखि शुरु हुने यो पर्व विभिन्न शक्तिपीठहरुमा बलि दिएर देवीदेवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाइने दशैं पर्वमा विशेषगरी नवदुर्गाको पूजा आराधना गर्ने हाम्रो प्रचलन छ । विजयादशमी भगवान रामको विजयको रुपमा मनाइने पर्व हो । दशैं पर्वले दश प्रकारका पापहरु काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य र हिंसाको अन्त्य गर्नु पनि हो ।
तर, दशैं कसैका निम्ति दशा नबनोस् । आफू र आफ्नो परिवारको क्षमता अनुसार योजना बनाउने गर्नु पर्दछ । त्यही योजना अनुसारको क्रियाकलाप गर्ने गरियो भने सरल र सहज हुने गर्दछ । दशैं दुःख–सुःख आदान प्रदान गर्ने पर्व पनि हो त्यसैले परिवारमा आफ्ना समस्या, अनुभवहरु, सिकाईहरु आदान–प्रदान गर्ने वातावरण बनाउन एकजुट हुनु पर्दछ । परिवारका सबै सदस्यसँगै बसेर घरमा जे छ जे किन्न सकिन्छ त्यसैमा रमाउने गर्नु पर्दछ ।

हामी नेपाली संस्कृतीका धनी छौं । सानो देशमा एक सय २५ जातिहरु रहेका छांै । पछिल्लो तथ्यांक अनुसार नेपालमा हिन्दू धर्म मान्नेहरको संख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशंै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायहरले पनि दशैं पर्वलाई महत्व दिने गरेको पाइन्छ । हाम्रा हरेक संस्कृती र पर्वहरु आर्थिक पक्षमा जाडिएको हुन्छ । आर्थिक हैसियत भएका वर्ग र विपन्न बर्ग समेत हाम्रै समाजमा रहेका छौं ।

खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता संस्कृती पर्वहरु मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासेखी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ । यो २०७० सालको विजया दशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै दशंै पर्व मनाउन सिकाओस् यही शुभकामना छ ।

त्यसो गर्दा दशैं दशा बन्दैन । ऋण लिएर दशंै मनाउँदा परिवारका सदस्यलाई खुशीभन्दा बढी दुःखी बनाउँदछ । कुनै पनि पर्व दुःख दिने नियत हँुदैन । त्यसलाई हामीले कसरी मनाउने भन्ने विषयमा भर पर्दछ । त्यसैले पर्वको नाममा हामीले फजुल खर्च गर्ने बानी गर्नुहुन्न । कसका घरमा कत्रो खसी काट्यो, कसले कति धेरै दक्षिणा दियो भन्ने विषयमा छलफल गर्ने समय होइन । त्यसरी हामीले सोच्न थाल्यौं भने समाजको संस्कृतिलाई भुलेर विकृति निम्तिन थाल्दछ । त्यसैले दशैं आफ्नो धर्म संस्कृति र चालचलन अनुसार आ–आफ्नो क्षमता र गच्छेता अनुसार दशैं मनाउँ । दशैं कसैलाई दशा नबनोस् । विजय दशमीको सबैलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here