तनाव व्यवस्थापनमा ध्यान नदिँदा मानसिक रोगीको संख्यामा वृद्धि

0
597

झापा ।

तनाव व्यवस्थापनमा ध्यान नदिँदा पछिल्लो समय मानसिक रोगीको संख्यामा वृद्धि हँुदै गएको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेभन्दा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुनुले पनि मानसिक रोगीको अवस्था बढेको पुष्टि गर्ने उनीहरुको तर्क छ ।

लामो समयसम्मको बन्दाबन्दीले मानसिक समस्यामा परेकाहरु यही कारण आत्महत्या गर्न बाध्य छन् । मानसिक समस्याको जरो पहिचान गरेर न्यूनीकरणका लागि प्रयत्न गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । पछिल्लो समय युवापुस्ता यो रोगबाट धेरै प्रभावित बन्दै गएको पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलका मानसिक रोग विशेषज्ञ डाक्टर आभाष निरौलाले बताए ।

उनले मानिसको जीवनयापन तथा देखासेखी गर्ने बहानामा मानवीय अवश्यकता बढी हुने र पूरा नहुँदा मानसिक समस्यामा पर्ने गरेको बताए । मनोविज्ञान कमजोर भएका कारण मानिस मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या गर्ने, डिप्रेसनमा पर्ने तथा विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको पाइएको छ । कमजोर मनोविज्ञानका कारण पहिला पनि आत्महत्या गर्थे भने अहिले यो झन् बढ्दै गएको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान नपु¥याएको खण्डमा अझ ठूलो समस्या उत्पन्न हुने अवस्था आउन सक्छ– डाक्टर निरौलाले भने ।

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनलाई हेर्दा नेपाल जस्ता अल्पविकसित देशमा ८० प्रतिशतभन्दा बढी मानिस मानसिक स्वास्थ्य सेवाबाट बञ्चित छन् । कोरोना महामारीको लामो बन्दाबन्दीका कारण रोजीरोटी गुमाएका, घरभित्र सीमित भएका सबै तहका विद्यार्थीमध्ये केहीलाई मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न खालका समस्या देखिए पनि धेरैलाई यसको उपचार कहाँ र कसरी गर्ने भन्ने थाहा नभएको चिकत्सिकको भनाइ छ । पछिल्लो समय अस्पताल आउनेको संख्यामा समेत वृद्धि भएको छ । डाक्टर निरौलाका अनुसार सात वर्षका बालकदेखि ९५ वर्ष उमेरका वृद्धमा समेत मानसिक समस्या देखिएपछि उनीहरु अस्पताल आएका छन् ।

लागूऔषधको दुव्र्यसनमा पर्ने युवामा समेत मानसिक समस्या धेरै रहेको उनको भनाइ छ । मानसिक रोगबाट बच्न आफूलाई ब्यस्त बनाउने, शारीरिक व्यायाम गर्ने, मादिरा सेवन तथा नशालु पदार्थ सेवनबाट टाढा रहने, सकारात्मक कुरालाई मात्र मनमा लिने, पर्याप्त मात्रामा निदाउने लगायत परिवारमा खुलेर आफ्ना समस्या तथा खुशी बाँड्ने काम गरेमा यो रोगबाट टाढा रहन सकिने डाक्टर निरौलाको भनाइ छ ।

यसैबीच विश्व मानसिक स्वास्थ्य दिवस आज आइतवार मनाइँदैछ । मानसिक स्वास्थको मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई बिश्वभरि मिलेर सामना गर्न विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखको दिन यो दिवस मनाउन शुरु गरिएको हो ।

मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरु हुन् । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेको जानकारहरु बताउँछन् ।

हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरिएको छ । मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्न आव्हान गर्दै यो दिवस मनाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here