सहाराको नाफा ४५ करोड

0
564

झापा ।

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले गतआर्थिक वर्ष २०७७/०७८मा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २५औँ वार्षिक साधारणसभामा सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिइएको बताए । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी प्रमुख गिरीले भने– अब हाम्रा सदस्यलाई नेपालका ‘क’ बर्गका वैंकले प्रदान गर्ने सेवा भन्दा स्तरीय सेवा दिन्छौं ।

प्रतिवेदन प्रस्तुत गर्दै गिरीले भने – ‘संस्थाले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य लिएको छ । हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ पुगेको छ ।’ संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

यसैबीच सोही समारोहमा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई एक लाख १ हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको । बडालको अनुपस्थितिमा उक्त सम्मान मिनराज कँडेलमार्फत हस्तान्तरण गरिएको हो ।

संस्थाकी उपाध्यक्ष पवित्रा सुब्बाले शव्दद्वारा र इस्ट होराइजन मावि धुलाबारीका विद्यार्थीले नृत्यद्वारा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाले रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य लिएको बताइएको छ । हाल सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुई–दुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

संस्थाले एकीकरण प्रयास अन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजनाअघि सारेको र बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्यूआर कोड, इटेलर, एटीएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाइएको छ ।

गत असार मसान्तसम्म एक लाख ५० हजार तीन सय ५४ शेयर सदस्य रहेको सहाराले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने प्रक्षेपण गरेको छ । एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको जनाइएको छ ।

९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको बताइएको छ । सो अन्तर्गत यो वर्ष दुईजनाबाट शुरु गरिने संस्थाका कार्यकारी निर्देशक गिरीले बताए । ३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सँधैका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।

सामुदायिक विकास कार्यक्रम अन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ । संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ । सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सहारा सफल भएको कार्यक्रममा जानकारी दिइयो ।

नेवाङ पनि सहाराको सदस्य

झापाको चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसदस्य बनेका छन् ।

सहकारीको २५औं साधारणसभाको उद्घाटन गर्दै एमाले नेता नेम्वाङ सहाराको सदस्य बन्ने घोषणा गरेका थिए ।

सहकारीको साधारण सभामा सहभागी बनेका नेम्वाङले भने – ‘यति राम्रो संस्थामा म कसरी छुटेछु ? संस्थाको विगत र वर्तमान सुनेरै सदस्य बन्ने निर्णय गरेको छु, संस्थाले मलाई सदस्य घोषणा गरेकामा असाध्यै खुशी लागेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here