नेपाली कांग्रेसको १४औं महाधिवेशन र यसका चुनौतिहरु

0
694

नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रारम्भिक चरण वडा, पालिका, नगर र प्रदेश हुँदै मंसीर ६ मा भएको क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा कैयन प्रश्नहरु उब्जिएका छन् । उत्तर कसले दिने अन्यौल छ, तर प्रश्नहरूको चाङ लागेको छ । वर्षौंदेखि पार्टीलाई आफ्नो बिर्ता र पुख्र्यौली सम्पत्ति ठान्ने अनि आफ्ना श्रीमती, छोराछोरी, ज्वाइँ, भाञ्जाभाञ्जी, भाइभतिज आदिलाई पहिलो प्राथमिकता, चाकडीबाज, हुक्के बैठके, आफ्नो भजन गाउने भक्तहरुलाई दोस्रो प्राथमिकतामा राख्ने अनि पार्टीका इमान्दार, कर्मठ, योग्य कार्यकर्ताहरूले उनीहरुको जुठोपुरोमा चित्त बुझाउनुपर्ने अत्यन्त पीडादायी अवस्था यसपटक पनि दोहोरिरहेको छ ।

जाने, कहाँ जाने ? कलिलो उमेरदेखि बुढो भइञ्जेलसम्म सधैँ पार्टीको खम्बा भएर त्यही मान्छे उभियो, जेलनेल भोग्यो, आफ्नो उर्वर समय त्यही पार्टीको लागि समर्पित ग¥यो र अन्त्यमा अपमानको माला पहिरिएर चारतारे झण्डालाई हेर्दै पिलपिल आँखा बनाउन बाध्य भयो । घरको मूली रुँदै–रुँदै आश्रम जानुप¥यो भने त्यही दिनदेखि त्यो घरको दुर्दशा शुरु हुन्छ । केही स्वाभिमानी कार्यकर्ताहरु छाती तन्काउँदै निर्भय भएर अधिकारको उपयोग गर्न अग्रसर नभएका चाहिँ होइनन् । तर, त्यो पनि सत्ताको अहंकारका अगाडि विवश भयो ।

भनिन्छ, चुनाव लोकतन्त्रको गहना हो । तर, ज्ञात रहोस् खाली चुनावको नाममा चुनाव मात्र गहना बन्न सक्दैन । स्वतन्त्र, स्वच्छ, भयरहित वातावरणमा, लोभलालसारहित स्वविवेकको प्रयोग गरी मतदाताले मतदान गरी सम्पन्न हुने चुनाव मात्र सही अर्थमा लोकतान्त्रिक चुनाव हो । त्यो चुनाव मात्र गहना बन्न लायक हुन्छ । तर, आज नेपालका अन्तरपार्टीबीचको चुनावको त कुरा छोडौं आफ्नै पार्टीभित्रको आन्तरिक चुनावमा पनि सबै विकृतिहरु भित्रिएका छन् । चुनाव जित्नलाई डर, त्रास, प्रलोभन आदि जस्ता सबै हत्कण्डाहरु प्रयोग गरिएका छन् । कल्पना गरौं यसरी हुने चुनावले कस्तो नेतृत्व निर्माण गर्ला ? अनि त्यस्तो नेतृत्वले नेतृत्व गरेको पार्टी र मुलुकको भविष्य कस्तो होला ? यस सम्बन्धमा गम्भीर भएर सोच्ने बेला भइसकेको छैन र ? समय घर्किसकेपछि पश्चाताप गर्नु बाहेक के रहन्छ ?
नेपाली कांग्रेसका नेताहरुले बोलेको सुनिएको छ– ‘हामीले राणा धपायौं, राजा फाल्यौं, धर्म निरपेक्षता ल्यायौं, संघीयता र गणतन्त्र ल्यायौं ।’ यति भनेर पार्टीको कर्तव्य पूरा हुन्छ ? राजनीतिक रूपमा आएको परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने होइन, परिवर्तन त जनताका लागि उपलब्धिमूलक हुनुपर्छ । परिवर्तन त परिणाममुखी हुनुपर्दछ । परिवर्तनपछिको परिणामले जनताको जीवनमा सार्थक रूपान्तरण ल्याउन सकेमा मात्र जनआन्दोलन र जनसंघर्षको उपादेयता हुन्छ । परिवर्तनको परिणामले जनजनको मनमनमा स्पर्श गर्न सक्नुपर्दछ ।

जनताले परिवर्तन महशुस गर्न सकेनन् भने जनताले गरेका बलिदान, त्याग, जेलनेल, यातनाको कुनै महत्त्व हुँदैन । परिवर्तनले जनताको धुकधुकीमा खुसीको स्पन्दन ल्याउन सकेन भने परिवर्तनमाथि नै प्रश्न उठ्छ । साँच्चै भन्ने हो भने अहिले प्रश्नहरु उठ्न थालेका छन् । आम जनताको भावना विपरस्त नेताहरूको लहडमा भएको परिवर्तन दीर्घजीवी हुँदैन । जनताको माग बिना थोपरिएका कुराहरु माथि आम कार्यकर्ता र जनतामा बहस शुरु भएको छ ।
हाम्रा श्रद्धेय आदर्शपुरूष जननेता वीपी कोइरालाको दृष्टिकोण अनि सन्त नेता कृष्णप्रसाद भट्टराई के पछिल्लो चरणमा व्यक्त गरेका विचारहरू जायज पो थिए कि भनेर पुनः सोच्नुपर्ने भएको छ । हामीले हाम्रै नेताहरूका विचारलाई मनन गरेनौं र अरु कसैको प्रत्यक्ष–परोक्ष प्रभावमा परेर पार्टीको आदर्श बिर्सेर जनताले माग नगरेका विषयहरूलाई संविधानमा लेख्यौं । मुलुक र जनताको दुर्दशाको बीजारोपण जानेर नजानेर ग¥यौं । हामीले हाम्रो पार्टी नेपाली कांग्रेसको मौलिकता र स्थापित मान्यता तथा परम्परालाई छोड्नाले आजको स्थिति आएको हो । हामीले बलेको आगो ताप्ने लालसामा आफ्नै स्वत्व नष्ट गर्दै ग¥यौं ।

नेपाली कांग्रेस हुनुको अर्थबाट हामी विचलित भयौं । आफ्नोपन हराएपछि हामी कसैको भरिया हुनुको विकल्प रहेन । अरुका एजेण्डा लागू गर्ने काम मात्र हाम्रा प्राथमिकताका सूचीमा परेका छन् । समयक्रममा पार्टीभित्र गलत प्रवृत्तिहरु प्रवेश गर्दै झ्यागिँदै गए र आज कांग्रेसको आफ्नो मौलिकता लोप भएर कांग्रेसको परिचय तुँवालोले ढाकेको आकाश जस्तै भएको छ । पार्टीभित्र घातप्रतिघातका श्रृंखलाहरु मञ्चित हुँदै गए । गुट–उपगुटका अन्तरघातले नेता–कार्यकर्तालाई सिकार बनाउँदै लग्यो । पार्टीका निर्णयहरू तस्कर, माफिया र पैसावालाबाट प्रभावित हुन थाले । पार्टीभित्र कांग्रेस विरोधी विजातीय प्रवृतिहरु हुर्कंदै गए । पैसा र शक्तिको दुरूपयोग हुँदै गयो । यी सबै विकृतिको समष्टि रूप आजको अवस्था हो । कांग्रेसमा मौलाएको मौलिकताविहीन, स्वार्थी, नीति र सिद्धान्तविरोधी सारा क्रियाकलाप कांग्रेसले बाटो बिराएपछि सृजित स्वाभाविक परिणतिहरू हुन् ।

आज हाम्रासामु पार्टीको पुरानो साखलाई ब्यूँताउने जिम्मेवारी आएको छ । पार्टीको मौलिकतालाई पुनः जीवित तुल्याउने उत्तरदायित्व हामीसामु आएको छ । यो जिम्मेवारी हामीले पार्टीको १४औं महाधिवेशन मार्फत पूरा गर्नुछ । मुलुकका अन्य पार्टीभन्दा फरक, अरुभन्दा बढी जनमुखी, अरुभन्दा बढी लोकतान्त्रिक र प्रजातान्त्रिक समाजवादको आदर्शमा निष्ठावान रहँदै राजनीतिक दलको अभिष्ट सत्ताभोग होइन, जनसेवा हो भन्ने सच्चाइलाई पुनः पुष्टि गर्नुछ । यो अभियानको एउटा कडी जिल्ला अधिवेशन पनि हो ।

पार्टीका तमाम विकृति र विकृतिका विरुद्ध आफ्नो मतद्वारा पार्टी शुद्धीकरणको अभियान शुरु गर्न आम क्षेत्रीय प्रतिनिधि, वार्ड अध्यक्ष तथा नगर÷गाउँ समितिका प्रमुखहरुले बिना डर, लोभ, प्रभावमा नपरी मत दिनु जरुरी छ । तमाम विसंगतिको अन्त्य गर्न, भागबण्डा र बाँडफाँडको परम्परालाई बिदा गर्न र अयोग्य भए पनि उत्तराधिकारी बनाउने चलनलाई रोक्न, विरासतमा आउन खोज्ने नेतृत्वलाई पाखा लगाउन मतदान गर्न आवश्यक छ । सामुहिक चिन्तनको अभ्यास गर्न, कार्यकर्तामा रहेको दास मनोवृत्तिको अन्त्य गर्न र नेता मालिक बन्ने कुसंस्कारलाई तीलाञ्जलि दिन र संगठनलाई पारदर्शी बनाउन भयमुक्त भई दूरदृष्टि राखेर आफ्नो अभिमत जाहेर गर्न जरुरी छ ।

अब पनि आर्थिक चलखेलको बोलबाला हुने हो भने असल नेतृत्व स्थापित गर्न अप्ठेरो हुन्छ । पार्टीको नेतृत्व समझदार, विनम्र र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हुनुपर्दछ । नवीन सोच, प्रष्ट योजना, स्वच्छ छबि र इमान्दार व्यवहार नेतृत्वका कसी हुन् । सबै कार्यकर्तालाई समान व्यवहार गर्ने, विपक्षी दलहरूसँग शिर ठाडो पारेर स्वस्थ प्रतिष्पर्धा गर्दै नेपाली कांग्रेसलाई विजयको माला पहि¥याउन सक्ने आजको नेतृत्व चाहिएको छ । सबैले निर्धक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आवश्यक छ ।

पार्टी र मुलुकको भविष्य अधिवेशनसँग जोडिएको छ भने शहीदका सपनासँग नेपाली कांग्रेस जोडिएको छ । यो सच्चाइ सबैले आत्मसात गर्न जरुरी छ । निमुखा नेपाली जनताका सपना र हाम्रा सन्ततिको भविष्य यही अधिवेशनसँग जोडिएकाले नेपाली कांग्रेसको मौलिकताको रक्षा गर्न सक्ने र सबल, सक्षम र जनप्रिय पार्टीको रूपमा नेपाली कांग्रेस पार्टीलाई उभ्याउन सक्ने नेतृत्वको छनौट आजको आवश्यकता हो ।

(संग्रौला नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here