बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना

0
449

विनोद सापकोटा
झापा,
झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
लामो समय देखिको बैगुनधुराबासीको मागलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालय झापाले बिहिबारदेखी बैगुनधुरामा अस्थाई प्रहरी चौकीको स्थापना गरेको हो । लगभग १० हजार जनसंख्या रहेको वडामा यस अघि करिव १८ किलोमिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले सर्वसाधरणको जिउ धनको सुरक्षा गर्दे आएको थियो । गौरादह नगरपालिका वडा नम्बर ९ साविकको बैगुनधुरा गाविस हो ।
कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, पशु लगायतका सरकारी कार्यालय रहेको बैगुनधुरा र आसपासका गाँउमा प्रहरी चौकी स्थापना भएपछि स्थानीयबासिन्दाले सुरक्षाको बलियो प्रत्याभुती गर्न पाउन थालेका छन् । प्रहरी कार्यालय स्थापनाका लागि त्यहाँका स्थानीयले यसअघि जिल्ला प्रहरी, प्रदेश प्रहरी र संघिय प्रहरी कार्यालयमा लिखित माग गरेका थिए । स्थानीयबासिको माग र बैगुनधुरामा प्रहरीको भौतिक उपस्थिती राख्न अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।
प्रहरी सहायक निरीक्षक कुमार कटुवालको नेतृत्वमा ६ जना प्रहरी बिहिबार देखीनै नव स्थापित अस्थाई प्रहरी चौकीमा कार्यरत छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार साविकको उपस्वास्थ्य चौकी बैगुनधुराको भवनमा प्रहरी चौकी रहेको छ । सोही कार्यालयलाई रङ रोगन र केही पुर्न निर्माण गरेर प्रहरी चौकीको कार्यालय स्थापना गरिएको छ । सो भवनमा व्यारेक, कार्यालय प्रमुख कक्ष, आवास र भान्सा कोठा रहेको छ ।
यसअघि नै स्थानीय दाताले प्रहरी कार्यालयका लागि ५ कठ्ठा जग्गा दान दिएका थिए । अब बजेट निकासा भएपछि आफ्नै भवनबाट सेवा प्रवाह हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
बैगुनधुरामा प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रका स्थानियले प्रहरी सेवा लिनकै लागि अन्यत्र जानुपर्ने झण्झटबाट मुक्ति पाएका छन् । वडा अध्यक्ष सिताराम भट्टराईले भने,‘गाउँमा केही त्यस्तो घटना भयो भने ४५ मिनेट दुरीको धरमपुर प्रहरी चौकी र झण्डै १ घन्टा समय दुरीको इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी आउनु पर्थ्यो । अब तत्काल प्रहरी घटना स्थल पुग्न सक्छ ।’
बुगुनधुरामा हुने अपराध र अन्य सामाजिक विकृति विसंगती समेत प्रहरी कार्यालयको स्थापनाले कम हुनेमा स्थानीय बासिन्दा ढुक्क छन् । उनिहरुले भने ‘शान्ती शुरक्षामा ठुलो सहयोग पुग्ने कुरामा हामी विश्वस्त छौ ।’
झापामा यस्ता प्रकृतिका अस्थायी प्रहरी चौकी १३ वटा छन् । कुनै पनि अस्थायी प्रहरी चौकीमा प्रहरी दरबन्दी हुँदैन । दरबन्दी भएका कार्यालयबाट काजमा प्रहरी खटाउँदा त्यस्ता कार्यालयहरुमा जनशक्ति अभाव हुने एक प्रहरी अधिकृतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here