किभमा परमाणु बम खस्न सक्छ !

0
597

युक्रेनमा रुसले युद्ध शुरु गरेको दुई महिना भएको छ । जीतको नतिजा आक्रमण गर्ने पक्षले निकाल्नुपर्ने हो । तर, रुसले अहिलेसम्म स्पष्ट रुपमा कुनै पनि किमिमले नतिजा निकाल्न सकेको छैन । पूर्वी युक्रेन जहाँ रुस समर्थित जनता छन् त्यहाँ समेत रुसलाई गाह्रो भइरहेको छ । कारण रुससँग अत्याधुनिक हतियार जस्तै कम्ब्याट ड्रोन, गाइडेड ट्यांक, गाइडेड तोप, गाइडेड स्टिनजर, इन्टरसेप्टर मिसाइल, राडार, लेजर र इन्फ्रारेड गाईडेड हतियार छैनन् या रुसले अहिले यस्ता हतियार प्रयोग गर्न चाहेको छैन । बरु आपूmतर्पm निकै क्षति व्यहोरिरहेको छ । ठूला र अत्याधुनिक हतियार प्रयोग नगर्नु रुसको कस्तो रणनीति हो ? बुझ्न सकिएको छैन ।

रुसले चाहने हो भने ठूला विध्वंसात्मक हतियार प्रयोग गरेर युक्रेनलाई केही दिनमै खुत्रुक्कै पार्न सक्छ । रुसले त्यसो नगरे पनि युक्रेनभित्र ठूलो मात्रामा भवन, सरकारी र सार्वजनिक पूर्वाधारहरु नष्ट गरिसकेको छ । करिब पचास लाख युक्रेनीहरुले देश छाडेका छन् र अरु करोडौं मानिसहरु आन्तरिकरुपमा विस्थापित भएका छन् । युक्रेनलाई सजिलै घुँडा टेकाउन नसकेकाले युक्रेनमा ठूलो भौतिक क्षति गरेर गलाउने र मानवीय संकट पैदा गरेर जनविद्रोह गराउने रणनीति रुसले लिएको हुनसक्छ । युक्रेनीहरुको साहस र पश्चिमा सहयोग देख्ता रुसको चाहना पूरा होला जस्तो लाग्दैन । तर, रुसले आफ्नो क्षमता प्रदर्शन पनि गरिरहेको छ । पश्चिमी देशहरुले युक्रेनमा पठाएका हतियार बोेकेका सैन्य विमान लगायत हतियारहरु समेत ध्वस्त गरिदिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उदृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

यसबीचमा दुई देशका राष्ट्रपतिहरुले बयानबाजी गरिरहेका छन् । सञ्चारमाध्यमहरुका अनुसार, युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भनेका छन् कि– रुसले हामीलाई मार्न सक्छ तर ऊ पनि बाँच्ने वाला छैन । रुसले युक्रेनको कुनै पनि भू–भाग पाउने छैन । रुससँग युद्धको ५०औं दिन पूरा हुँदा देशलाई सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरुलाई जेलेन्स्कीले सम्मान जनाएका छन् । ‘बहादुर देशका अडिग जनता । हामी ५० दिनदेखि डटिरहेका छौँ जबकि कब्जा गर्नेहरुले हामीलाई पाँच दिनको समय दिएका थिए । ५० दिन हाम्रो लागि उपलब्धीमूलक छ । यो युक्रेनका लाखौँ जनताको उपलब्धी हो’ –जेलेन्स्कीले भनेका छन् ।

उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि विभिन्न बयानबाजी गरिरहेका छन् । उनले भनेका छन्– रुसले युक्रेनलाई असैन्यकरण गर्नेदेखि नेटोमा सामेल हुन नदिनेसम्म भनेका छन् । युक्रेनबाट रुसको भू–भागमा हुने आक्रमणको बदलामा रुसले युक्रेनको राजधानी किभमा मिसाईल आक्रमण गरिने भनेका छन् र रुसले त्यसै गरिरहेको पनि छ । युद्धको लक्ष्य हासिल गर्ने विश्वास रुसका राष्ट्रपति पुटिनले लिएका छन् । यसैबीचमा स्वेडेन र फिन्ल्याण्ड नर्थ एलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो)मा सामेल हुने प्रक्रियामा छ । यस विषयमा रुसले सीमामा परमाणु हतियार तैनाथ गर्ने भनेको छ ।

परिस्थितिहरु चाखलाग्दो किसिमले बदलिइरहेको छ । युक्रेनका सहयोगी युरोपीय देश, बेलायत, अष्ट्रेलिया र अमेरिकाले युक्रेनमा सैन्य हतियार पठाइरहेका छन् । जसले रुसलाई युद्ध जित्न चुनौति थपिँदो छ । अमेरिकाले निकै नै आक्रमक रुपमा युक्रेनलाई सैन्य हतियार सहयोग गरिरहेको छ । अमेरिकाको यस्तो कामलाई रुसका राष्ट्रपति पुटिनले, अमेरिका युक्रेनमा शान्ति चाहँदैन भनेका छन् । युरोपीय देशहरुले युक्रेनलाई सहयोग गरिरहेको अवस्थामा जर्मनी केही पछि हटेको देखिन्छ । जर्मनीले भनेको छ कि उसलाई रुसको ग्यास, तेल चाहिन्छ । नेटो आबद्ध देशहरुले रुसविरुद्ध लगाएको नाकाबन्दीले रुसलाई पुग्ने क्षतिभन्दा रुसको ग्यास र तेलको अभावमा जर्मनीमा पर्ने घाटा धेरै ठूलो हुनेछ । त्यस्तै गरी बेलारुस, हंगेरी र सर्विया पनि रुसको पक्षमा देखिएका छन् । अर्कोतर्पm फ्रान्समा हुन गइरहेको राष्ट्रपतिको चुनावको एक उम्मेदवार म्यारिने लि पेन रुसको समर्थनमा देखिएकी छन् । नेतृ पेनले निकै चाखलाग्दो विचार व्यक्त गरेकी छन् । रुसलाई युरोपीयन ब्लकमा सामेल गराएमा युरोपमा दीर्घकालीन शान्ति छाउने विचार लि पेनको छ । रुस चीनको पोल्टामा जानु युरोपको शान्तिका लागि खतरा हुने विचार पनि पेनले व्यक्त गरेकी छन् । यता भारतले पनि अमेरिकालाई खरो जवाफ दिएको छ । रुसबाट सैन्य हतियार र ग्यास, तेल खरिद गरिरहने बयान भारतका विदेश मन्त्री एस जयशंकरले दिएका छन् । यसैबीच चीनले सर्वियामा चार वटा ठूला विमानबाट सैन्य हतियार निर्यात गरेको छ । अमेरिकाका सेक्रेटरी अफ स्टेट्स् एन्टोनी ब्लिङ्केनले चीन रुसको साइलेन्स् सपोर्टर हो भनेका छन् ।

अर्र्कोतर्पm कैयन मतभिन्नताबीच पनि र घोषणा नगरेरै भए पनि एशीयाका ठूला देश रुस, भारत र चीन एक ठाउँमा आइरहेका छन् । एशीयाका धेरै देश, मध्यपूर्व, ल्याटिन–दक्षिण अमेरिका, अफ्रिका र अरब राष्ट्रहरु पनि रुसको समर्थनमा देखिन्छन् । जसले गर्दा अमेरिका र नेटो आबद्ध देशहरुले चाहे जस्तो वल्र्ड अर्डर नरहने देखिन्छ ।

यो युद्ध युक्रेन र रुसबीचको युद्ध जस्तो देखिए पनि यस युद्धमा धेरै देश लडिरहेका छन् । जसलाई छद्म युद्ध भन्न सकिन्छ । युक्रेनलाई विभिन्न सहयोग गरेर युरोप या नेटो र अमेरिका रुससँग युद्ध लडिरहेको छ । अमेरिकामा के पनि विश्वास छ भने चीनले रुसलाई भित्रभित्रै सहयोग गरिरहेको छ । यो युद्ध अमेरिका र चीनबीचको युद्ध पनि हो भनेर सञ्चारमाध्यमहरुमा विचारहरु प्रकाशित भएका छन् । त्यसैगरी यो युद्ध नेटो र चीनबीचको युद्ध पनि मान्न सकिन्छ । नर्थ एलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो)का सेक्रेटरी जनरल जेन्स स्टोलटेनबर्गले पटक–पटक चीनले किन रुसको आलोचना गरिरहेको छैन ? भनेर प्रश्न गरेका छन् । जसको प्रतिक्रियास्वरुप चीनले स्टोलटेनबर्गलाई, चीनलाई प्रश्न सोध्न बन्द गर भनेको छ । त्यसपछि भने स्टोलटेनबर्गले चीनलाई प्रश्न गरेका सुनिएको छैन ।

यो युद्धका सम्बन्धमा धेरै देशले रुसको मौन समर्थन गरेका छन् भने प्रत्यक्षरुपमा युक्रेनलाई सहयोग गर्ने देशहरुमा अमेरिका, अष्टे«लिया, बेलायत र नेटो आबद्ध देश रहेका देखिएका छन् । यस युद्धमा धेरै कुरा जोडिएका र जेलिएर आएका छन् । कतिपय देशको प्रतिष्ठा र पीडाको प्रश्न छ । रुसको आफ्नै सपना र पीडा छ र युक्रेनको पनि । अमेरिकाको टड्कारो लक्ष्य छ विश्व नेता बन्ने । त्यसै होडमा चीन अघि बढिरहेको छ । मध्यपूर्व र अरब राष्ट्रहरुको पनि आ–आफ्नै अडान छन् । भन्नुको मतलब सबैलाई यस युद्धबाट आ–आफ्नै जीत निकाल्नु छ । सैद्धान्तिक, वैचारिक, रणनीतिक, सैन्य, व्यापारिक, आर्थिक र प्रतिष्ठा आदिका जीत ।

युक्रेनलाई त जित्नु नै छ । उसका सहयोगी नेटो र अमेरिकालाई पनि जित्नु नै छ । रुसलाई त एकदम जित्नु छ, उसको इतिहास, सपना र रवैया हेर्दा त्यस्तै देखिन्छ । तर, जीत निकाल्ने कसरी ? रुसले प्रष्ट भनिसकेको छ कि जीवनमरणको अवस्थामा रुसले परमाणु अस्त्र प्रयोग गर्नेछ । जारी युद्धले के देखाइरहेको छ भने, रुसले यो युद्ध हार्नु भनेको रुसको मरण हुनु जस्तै हो । त्यसपछि रुसले क्रिमिया, गुमाउने छ र सायद चेचेन्या पनि । अनि नेटो र अमेरिका रुसको राजधानी मस्को नजिकै पुग्ने छ ।

रुसले कसरी जीत निकाल्ला त ? रुसले अहिले लडिरहेको युद्ध शैलीले त रुस हार्ने प्रष्ट देखिन्छ । रुसको सबैभन्दा कमजोरी के देखिएको छ भने शत्रुले हानेका हतियार बाटैमा या आकाशमै नष्ट गर्ने सटिक प्रणाली रुससँग नहुनु । रुसलाई हराउन युक्रेन, नेटो, अष्ट्रेलिया, बेलायत र अमेरिका पूरा शक्तिका साथ लागेका छन् । तब रुसका लागि परमाणु अस्त्र प्रयोग गर्नुको बिकल्प देखिँदैन । रुसले युक्रेनको राजधानी किभमा परमाणु बम खसाल्ने प्रबल सम्भावना बढेर आएको देखिन्छ, तर यो नै अन्तिम घटना भने हुने छैन ।

अमेरिका, नेटो, यूके, अष्ट्रेलिया, चीन र उत्तर कोरिया चुप बस्ने छैनन् । त्यसपछिको परिणाम झन् भयाभव हुने देखिन्छ । विश्व मानव समुदाय गम्भीर मानवीय संकटमा पर्नेछन् । तसर्थ यो युद्ध पुनः नचर्किने गरी सकिनु वाञ्छनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here