बिर्तामोडको परिणाम कस्तो आउला ?

0
718

बिर्तामोड।

बिर्तामोड नगरपालिकामा प्रमुख पदका लागि १० जना र उपप्रमुख पदका लागि नौ जना चुनावी मैदानमा छन् ।
सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ भने सत्तारुढ गठबन्धन दल नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चुनावी तालमेलबाट बाहिरिएको छ ।

प्रमुख पदमा एकीकृत समाजवादीले उम्मेदवारी नदिए पनि उपप्रमुखमा उम्मेदवारी दिएको छ । प्रमुख पदका लागि गठबन्धन दलकातर्फबाट कांग्रेसले मेयरमा र उपप्रमुख पदका लागि माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । प्रमुख पदमा गठबन्धन दल कांग्रेसकातर्फबाट भोजराज सिटौला र उपप्रमुख पदमा माओवादी केन्द्रका सीपी कडरियाको उम्मेदवारी छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट पवित्रादेवी महताराले उम्मेदवारी दिएकी छन् भने उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धन दलसहित बिर्तामोडमा नौ राजनीतिक दलसहित एकजना स्वतन्त्र उम्मेदवारले प्रमुखको दावी गरेका छन् ।

उपप्रमुखमा नौ वटै दलले दाबी गरेका छन् । दश वटा वडा रहेको यो नगरमा नगर प्रमुखको दाबी गर्दै सिटौला, महतारासहित जनता समाजवादी पार्टी नेपालका उदय गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रवकुमार उप्रेती, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार लावती, आमुल परिवर्तन मसिहा पार्टी नेपालका मनकुमार खुदाङ लिम्बू, नेपाल लोकतान्त्रिक पार्टीका अञ्चल धिमाल, मौलिक जरोकिलो पार्टीका प्रज्ज्वल अधिकारी शर्मा, नेपाल परिवार दलका केदार ढुंगाना र नगेन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यता उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका कडरिया, एमालेका संग्रौला, जनता समाजवादी पार्टी नेपालका चिजा राई, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका तीर्थ सिग्देल, विवेकशील साझाका निसासोनी कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावती, मंगोल, नेशनल अर्गनाइजेशनकी रीतादेवी शर्मा र मौलिक जरोकिलो पार्टीकी रोमादेवी निरौला घिमिरेले उम्मेदवारी दिएका छन् ।
२८ हजार पाँच सय २६ पुरुष र २८ हजार आठ सय ८१ महिला तथा दुई अन्य गरी ५७ हजार चार सय नौ जना मतदाता रहेको यो नगरमा प्रमुख र उपप्रमुखसहित अन्य पदमा कसले बाजी मार्ला भन्ने जनचासो चुलिएको छ– यतिबेला । गठबन्धन दल एकातिर र एमाले एक्लै एकातिर चुनावी मैदानमा छन् भने अन्य दलले समेत नगर प्रमुखको दाबी गर्दै घरदैलो गरेसँगै बिर्तामोडको चुनावी माहौल तातिएको छ ।

अहिले घर–घर र टोल–टोलमा स्वतन्त्रसहित ठूला र साना दलका उम्मेदवार मत माग्न व्यस्त छन् । पूर्वकै व्यापारिक केन्द्रका रुपमा चिनिएको बिर्तामोड, त्यसमा पनि उदाउँदो शहरको रुपमा विकसित हुँदै गरेको बिर्तामोडले राजनीतिक दलको ध्यान खिचेको छ ।

अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने बिर्तामोडमा एमालेले नौ हजार एक सय १२ मत प्राप्त गर्दै प्रमुख पद जितेको थियो भने उपप्रमुखमा समेत एमालेले जित हासिल गरेको थियो । यस अनुसार नेपाली कांग्रेस दोस्रो ठूलो दलको रुपमा देखिएको छ । नगरमा कांग्रेसले आठ हजार दुई सय १७ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले तीन हजार सात सय ९७ मत प्राप्त गरेको थियो ।

अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेस र माओवादी केन्द्रको मत संख्या १२ हजार १४ हुन जान्छ । एमाले एक्लैको मत नौ हजार एक सय १२ छ ।

यसपटक नेकपा एमालेभित्रको फुट र गठबन्धन दल एक ठाउँमा उभिँदा गठबन्धनले जित्ने देखिए पनि एमालेले नै प्रमुख र उपप्रमुख जित्ने दाबी गर्दै घरदैलोलाई तीव्र पारेको छ ।

यता गठबन्धन दलसहित अन्य दलले समेत घरदैलो अभियानलाई तीव्र पारिरहेका छन् । नगर प्रमुख उपप्रमुखसहितका जनप्रतिनिधिका उम्मेदवार अहिले मतदाता फकाउन व्यस्त छन् । मतदातालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र बढी मत प्राप्त गर्दै जित हासिल गर्न सकिन्छ भन्ने दौडधुपमा दल र दलका उम्मेदवार लागीपरेका छन् ।

एकीकृत समाजवादीको शुरुवाती अवस्था कस्तो छ भन्ने खुलेको छैन । एमालेका अधिकांश नेता तथा कार्यकर्ता नखुल्दा एमालेलाई यस पार्टीले कस्तो असर पार्ला भन्ने अनुमान समेत लगाउन गाह्रो छ । नागरिक समाजका अगुवाका अनुसार नेकपा एमालेका लागि अहिले परीक्षाको घडी छ । एमालेका नेता तथा कार्यकर्ताले कतिको पार्टीको निर्णयलाई विश्वास गर्छन्, त्यो भने हेर्न अब धेरै दिन कुर्नु पर्दैन ।

नेपाली कांग्रेसले सबै नेता तथा कार्यकर्तालाई एकीकृत गर्दै गठबन्धनको उम्मेदवारी सशक्त रहेको बताउँदै आएको छ । यता गत स्थानीय चुनावमा तेस्रो शक्तिको रुपमा देखापरेको राप्रपाले समेत आफ्नो उपस्थिति बलियो रहेको र नगर प्रमुख जित्ने गरीको तयारी गरिएको राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले बताए । ‘गठबन्धन दलसँग हाम्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा जितको नजिक पुगेता पनि यसपटक कार्यकर्ताको उत्साहजनक उपस्थिति र नयाँ पार्टी प्रवेश गरेका सदस्यले मतदान गर्ने हुँदा राप्रपाको जित निश्चित छ’– जिल्ला अध्यक्ष ओझाले भने ।

एमालेको जनलहर र उपस्थिति दह्रो देखाउन नेकपा एमालेले बिर्तामोडमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गराएको छ । कार्यकर्ताको मनोबल उच्च राख्न र निर्वाचनलाई आफ्नो पक्षमा पार्न ओलीको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गर्दै जित निश्चित भएको दावी गरिएको छ । गठबन्धन दलले समेत अहिले बिर्तामोडका १० वटै वडामा विभिन्न कार्यक्रम गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न खोजिरहेको छ । अहिले गठबन्धन दलले समेत बिर्तामोडका विभिन्न ठाउँमा दैनिक सभा, सम्मेलनको आयोजना गर्दै मतदाता रिझाइरहेको छ ।

एकीकृत समाजवादी समेत घर–घर र टोल–टोलमा पुगेर मतदाता आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ भने राप्रपाले केन्द्रीय नेता राजेन्द्र लिङ्देनको उपस्थितिमा बिर्तामोडमा सभा, सम्मेलनको आयोजना गर्दै मतदाता आकर्षित गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here