‘अन्तिम कुमारी रात’ कविता संग्रह एक दुर्लभ कृति

0
86


नेपाली साहित्यको काव्य भण्डारमा अर्को गहन कृति थपिएको छ । त्यो कृति हो स्रष्टा ‘लीला अनमोल’को सिर्जना ‘अन्तिम कुमारी रात’ कविता संग्रह ।
प्रायशः गजल सिर्जना गरिरहने साहित्यकार अनमोलको यो कविता कृतिले अनमोल कविता लेखनमा पनि उत्तिकै सक्षम रहेको प्रमाणित हुन्छ । यस कृतिभित्रका कविताहरु सरल भाषाका तर खारिएका स्तरीय लेखन शैलीका रहेका पाइन्छन् । कविताहरुका शब्द र हरफहरु मन छुनेखालका छन् । कविता पढ्न थालेपछि अहिले नै सबै कविता पढीसकौँ लाग्दछ । एउटा मिठास, एउटा आनन्द, एउटा छुट्टै अनुभूति मिल्दछ कविताहरुमा । मानौं झरनाको कञ्चन चिसो पानीले लामो तृष्णा मेटिएको अनुभव हुन्छ पाठकलाई ।
काव्यकार अनमोलका कविताका विशेषता के छन् त ? प्राज्ञ तथा साहित्यकार मुनाराज शेर्माको विचारबाट जानौं । ‘लीला अनमोलको कवितामा महिला मुक्ति आवाजको प्रखर प्रक्षेपण, देशको विसङ्गत अवस्थाको उजागर, आफ्नै बाँचेको जीवनको शाश्वत अनुभूतिको शालिन भव्य अभिव्यक्ति, प्रेमिल समय, जीवन र भोगाइको खुलेआम उद्घोष, प्रेमको बुलन्द आलिङ्गन, काव्यिक शिल्प, सुललित मुलायम भाषामा भावनाको उच्च वेगवान प्रस्तुति उनको काव्यिक वैशिष्ठ्य हुन् ।’ प्रस्तुत कृति प्राज्ञ शेर्माका विचार जस्तै काव्यिक शिल्पले कुँदिएको, मुलायम भाषामा लेखिएका र उच्च वेगवान प्रस्तृतिका रुपमा पाठक समक्ष आएको छ ।
यस कविता संग्रह सिँधै कविताबाट शुरु हुन्छ र कविताबाटै अन्त्य हुन्छ । भूमिका, विचार र सर्जकको भनाई केही छापिएका छैनन् संग्रहमा । यो पनि एक शैली हो । भूमिका, विचार र भनाईले कृति पढ्नुभन्दा पहिल्यै नै विशेषता या दृष्टिकोण थाहा हुन्छ । जसले पाठकको पठन रुची अर्कोतिर मोड्न सक्छ । त्यसैले यो पनि एक उत्तमशैली भएको अग्रज स्रष्टाहरुको विचार रहेको पाइन्छन् । कविता संग्रहमा पहिलो कविता, संग्रहकै नाम ‘अन्तिम कुमारी रात’ कविताबाट शुरु हुन्छ । त्यसपछि देश भनेको के हो ?, अमृता विश्वकर्मा, मलाई जन्मकैद हुनसक्छ, भेन्टिलेटरमा किशोरी रहर हुँदै पाँच दर्जनभन्दा बढी कविताहरु समेटिएका छन् ।
संग्रहका कविताहरु अधिकांशतः प्रेमसँग सम्बन्धित छन् । मानिसहरु सोच्दछन् प्रेम एक मिठास र आनन्दको कुरा हो । तर, प्रेममा परिसकेपछि, प्रेम त उतारचढाव र तनावमा पो बद्लिन्छ । अनि मानिस प्रेमबाट भाग्न खोज्छ, तर ऊ फँसिसकेको हुन्छ र प्रेमको पीडामा बाँच्न बाध्य हुन्छ । प्रेमको मिठो कल्पना त तितो विपनामा परिणत भएको पाएपछि प्रेमी या प्रेमिका चित् पर्दछन् । अनि उम्कने बाटाहरु पनि नपाएपछि तनाव, छटपटी र डिप्रेसनको भुँवरीमा रुमल्लिन बाध्य हुन्छन् । अनमोलका प्रेम कविताहरुले यस्तै भाव उजागर गरेका छन् । प्रेमको गुण अनुसार प्रेम नभएको पत्ता लागेको रहस्य पोखेका छन्– कविताका हरफहरुले ।
कविताहरुले अर्को कुरा पनि उजागर गरेका छन्– ती हुन्, प्रेमले आखिर युवती या नारीहरुलाई रुमल्याउँदछ । जसले गर्दा नारी प्रायशः प्रेमको छाँयामा परिरहन्छन् । नारीहरुको दोष होइन्, समाजको सोचको परिणाम हो । भन्नुको तात्पर्य केटा या पुरुषलाई चाहिँ निर्दोष ठान्छ समाजले । कविताले यस्तै सन्देश दिएको पाइन्छ । ‘प्रेमको सम्पन्नता’ शीर्षकको कविताका कुनै हरफले प्रेमबारे यसो भन्छन्– तिमीले मेरो मनको मैदानमा खेलेपछि, प्रेमको खेल परिवर्तन भएको छ, मेरो जीवनको दर्शन पनि । यो कविताको सन्देश यो हुन सक्छ कि, प्रेम परेपछि पुरुषको दर्शन चाहिँ उस्तै रहने तर नारीको दर्शन फेरिनुपर्ने ? यसरी प्रेमले नारीलाई सताउँछ या परिवर्तन गर्दछ ।
‘म’ शीर्षकको कविताले, प्रेम सोचे जस्तो नहुन सक्छ, ऊ या उनीलाई सोचे जस्तो नपाउन सकिन्छ, ऊ या उनीबाट आशा गरे जस्तो व्यवहार नपाउन सकिन्छ र धोखा पनि हुन सक्छ भन्ने भाव व्यक्त गरेको छ । कविताको हरफहरु यस्ता छन्– काँडा लागेर मेरो वर्तमान, हिँड्नै नसक्ने बनायौं तिमीले, मरुभूमि भएर मेरो मनको फाँट, हरियो उम्रदैन अचेल, साँच्चै निको हुन नसक्ने भएको छ, म भित्रको घाउ । आखिर प्रेमले नारीलाई प्रताडित बनाउँछ भन्ने सन्देश यस कविताले पनि दिएका छ । तर, केही कविताहरुमा भने प्रेमका मिठास र सकारात्मकताका भाव पोखिएका छन् । ‘सपनाको क्यानभास’ शीर्षकको कविताले यस्तै भाव पोखेको छ ।
प्रत्येक सुरम्य बिहानीले, मेरा आँखा चुम्न खोज्छ, र त म जिन्दगीको रङ्गीन चंगामा टेकेर, सुहागरात उडिरहन्छु । तर, अनमोलका धेरैजसो कविताहरुले प्रेमप्रतिको बैराग्यताका भाव व्यक्त गर्दछन् । यसका पनि कारण अवश्य होलान् । प्रेम, प्रेम जस्तो नभएको या नहुने भाव पोखिएका छन् अधिकांश कविताहरुमा । कविताहरु पढेर पाठकवर्गले प्रेमप्रतिको दृष्टि नै परिवर्तन गर्न सक्छन् । स्रष्टा अनमोलका कविताहरु उस्तो विद्रोही छैनन् । तर, बेगवान, बुलन्द र मुलायम छन्, साथै सरल र मिठो शब्द शैलीमा सजिएका छन् । यी कविताहरु पढ्नुको आनन्द नै अर्कै भइदिन्छ ।
संग्रहका कतिपय कविताहरुमा स्वतन्त्रता शब्द दोहोरिरहन्छन् । नारीको त्यसमा पनि नेपाली नारीको व्यक्तिगत स्वतन्त्रता धेरै नै कुण्ठित या कैद या थुनिएको भाव पाइन्छ कविताहरुमा । हुन पनि नेपाली समाजले नारीको हरेक स्वतन्त्रता थुनेर राखेको पाइन्छ । समाजमा विद्यमान अन्धविश्वास, विभेदबाट नारीहरुले स्वतन्त्रता पाउन राजनीतिक स्वतन्त्रताभन्दा गाह्रो भएको भाव कविताहरुले व्यक्त गर्दछन् । नारीहरु समाजले निर्धारण गरेका, परम्पराले तोकेका नियमहरुमा सधैँ हाजिर भइरहरनुपर्ने बाध्यता रहेको भाव छ कवितामा । साथै, यस्तो विभेद र जन्जिर तोड्न सचेतना प्रवाह गर्दछन् कविताहरुले । जो कोही नेपाली या मानवहरु स्वतन्त्र हुनु पर्दछ । यस कविताको सन्देश यही छ ।
कृतिभित्र निराशापूर्ण प्रेमका कवितामात्र छैनन् देशको बिग्रँदो अवस्थाप्रति चिन्तनहरु छन् । लोकतन्त्र शीर्षकको कवितामा, नेपालको लोकतन्त्रले गलत स्वतन्त्रताको प्रयोग गरेको, मौलिक संस्कृतिमाथि अतिक्रमण, समाजको एकता भत्काएको, मुस्कुँराउँदो उज्यालो खुसी घाइते बनाएको, झुठो सपनाको बिस्कुन लगाएको भाव छ कविताहरुमा । तर, आशाहरु पनि जगाउँदछन् कविताहरुले, झुल्कने छ त्यो रातो घाम कविताले भन्छ, म सम्भावनाको रातो घाम झुल्किन चाहन्छु, जस्ता हरफहरु लेखिएका छन् ।
सर्जक अनमोलका कविताहरुले, देश भनेको जनताले न्याय नपाउने हो ? भनेर प्रश्न गर्छन् र त्यस्तै गरी एक किशोरीको रहर के हुन्छ ? भनेर पनि प्रश्न गर्छन् । देशभक्ति र आमाको ममताका कविता पनि छन्– यस संग्रहमा । बालपनका सम्झनाहरुले पाठकवर्गलाई आफ्नै बालपनमा फर्काउँदछन् । बालपनका ती रमाइला पलमा पु¥याउँदछन् कविताहरुले । यस कृतिभित्रका कविताहरुले विशेष गरेर किशोर–किशोरी, युवा–युवतीका मनको भावहरु व्यक्त गर्दछन् ।
धेरै–धेरैको युवा समय कविताहरुले भने जस्तै भावनामा बित्दछन् । आफ्ना सुन्दर सपना, चाहनाहरुलाई भने जस्तो बनाउन खोज्दाखोज्दै पनि ती प्राप्ती नहुँदा मनमा कस्तो असर पर्छ ? युवा–युवतीका सामाजिक जीवन त खल्बल्याउँछ नै तर व्यक्तिगत जीवनमा धेरै आघात भरिदिन्छ । सम्भावनाहरु धुमिल भइदिन्छन् । यिनै आपवितिहरु समेटिएका छन् यस कृतिमा । यस कृतिको नाम या कविताको शीर्षक नै यस्तो छ कि, यो शीर्षक कृतिमा संयोजित हुनु एउटा दुर्लभ घटना मान्न सकिन्छ । लामो समयको पर्खाइपछि प्राप्त भएको अमूल्य उपहार हो यो नाम या शीर्षक, कविता अनि सिंगो कृति ।
बिर्तामोड झापा निवासी कृतिकार अनमोल एक साहित्यकार, रेडियो तथा सञ्चारकर्मीका साथै स्तरीय कृतिहरुका स्रष्टाका रुपमा सक्रिय भएको पाइन्छ । अनमालेका यस नवीन कृति आफ्नो विधामा अब्बल गुणले सजिएको पाइन्छ । कविताहरु पढेपछि मनमा छाप बनेर अडिरहन्छन् । अनि यस कृति पठन संस्कृति पुनःस्थापना गर्न सक्षम छ । स्रष्टा लीला अनमोलका शसक्त सिर्जना तथा दुर्लभ ‘अन्तिम कुमारी रात’ शीर्षकको कविताको रहस्य, मिठास र अरु कविताहरुले पाठकको मनमा के प्रश्न गर्छ ? के उजागर गर्छ ? के सन्देश दिन्छ ? कस्तो तरंग र हलचल ल्याउँछ र कस्तो समाधान सुझाउँछ ? पढ्ने जिम्मा पाठकवर्गमा । सांग्रिला बुक्सले भर्खरै प्रकाशन गरेको यस चिटिक्क बान्कीको गहन काव्य कृति पढ्न अवश्य नछुटाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here