गौरीगञ्जमा फेरि बाजी मार्ने दाउमा राप्रपा

0
466

झापा।

२३ हजार ४ सय ७४ जना मतदाता रहेको गौरीगञ्ज गाउँपालिकामा राप्रपा पुनः अध्यक्ष पदमा वाजी मार्ने दाउमा छ ।

यो गाउँपालिकामा कुनै दलले आपसी तालमेल र गठबन्धन गरेका छैनन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपाले अध्यक्ष पद जितेको थियो । वैशाख ३० गते हुने स्थान्ीय तहको निर्वाचनका लागि दलहरु बिना तालमेल चुनावी मैदानमा उत्रिएपछि राप्रपाले वाजी मार्ने आँकलन गर्न थालिएको छ । चुनावको मिति नजिकिएसँगै चुनाव निकै रोचक हुने आँकलन गरिँदै आएको छ ।

गौरीगञ्जमा योपटक चार प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न दलहरूका तर्फबाट पालिकाको अध्यक्ष पदमा सातजनाको उम्मेदवारी परेको छ । अघिल्लो निर्वाचनमा प्राप्त परिणामलाई विश्लेषण गर्दा गाउँपालिका अध्यक्षमा मुख्यतः चार प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा भएकोमा राप्रपाका बाबुराजा श्रेष्ठले बाजी मारेका थिए । कांग्रेसकी प्रत्यासी फूलवती राजवंशी अन्तिमसम्म टक्कर दिए पनि थोरै मतान्तरले पराजित भएकी थिइन् । अरू पदहरूमा कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
गत निर्वाचनमा राप्रपाले ३७४० मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले ३४५३ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ३३५३ र एमालेले २७५७ मत प्राप्त गरेको थियो ।

कांग्रेसले नेत्री फूलवती राजवंशीलाई पुनः अध्यक्षको उम्मेदवार बनाएको छ । महिला र स्थानीय आदिवासी तथा अल्पसंख्यकको प्रतिनिधित्व गर्ने भएकाले आफूलाई मतदाताको शुभेच्छासहितको समर्थन रहने राजवंशी बताउँछिन् । म आदिवासीको रूपमा मात्र नभएर एउटा सशक्त महिला उम्मेदवारको रूपमा उभिएकी छु– उनले भनिन् । उनी कांग्रेस राजनीतिमा निकै लामो समयदेखि सक्रिय छिन् ।

योपटक पनि राप्रपाका तर्फबाट ०७४ मा समेत अध्यक्षमा निर्वाचित बाबुराजा श्रेष्ठ उम्मेदवार बनेका छन् । अहिले पनि फूलवती र बाबुराजाबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आफू फेरि एकपटक नेतृत्वमा पुग्ने श्रेष्ठको दाबी छ । उनी भन्छन्– कतिपय अधुरा अपुरा काम पूरा गर्न पनि मैले नेतृत्वमा जानुपर्ने अवाश्यकता भएको हो ।

अध्यक्षमा एमालेबाट बिजयकुमार अग्रवाल र माओवादी केन्द्रकी मेनुका राजवंशी उम्मेदवार छन् । अग्रवाल कांग्रेस, लोसपा हुँदै अहिले एमालेमा प्रवेश गरी गौरीगञ्जको अध्यक्ष पदको उम्मेदवार बनेका हुन् । तत्कालीन महाभारा गाउँ विकास समितिको निर्वाचित अध्यक्ष भएर उनले एक कार्यकाल काम गरेका थिए । जनता समाजवादी पार्टी (जसपा)बाट घनश्याम रिजाल अध्यक्षका उम्मेदवार छन् । लामो समयसम्म कांग्रेस राजनीति गरेका उनी पार्टी परित्याग गरी जसपाबाट उम्मेदवार बनेका हुन् ।

उनले भने– कांग्रेसमा वास्तविक कार्यकर्ताको मूल्यांकन नभएपछि जसपातिर आएको हुँ । माओवादी केन्द्रकातर्फबाट अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका विद्यानन्दसिंह राजवंशी योपटक उपाध्यक्षका उम्मेदवार छन् । राजवंशी माओवादीको सशस्त्र युद्धकालदेखि राजनीतिमा सक्रिय नेता हुन् । उनी तत्कालीन कोचिला राष्ट्रिय मुक्ति मोर्चाको राज्य समिति अध्यक्ष समेत भएका थिए । उनी अहिले पार्टीको गौरीगञ्ज गाउँपालिकाका इञ्चार्ज छन् ।

उनीसँगको प्रतिस्पर्धामा कांग्रेसका तर्फबाट उपाध्यक्षमा मखना महतो र एमालेकी उदीयमान महिला नेतृका रूपमा पुजन न्यौपाने कुँवर छिन् । महतो यसअघिको निर्वाचनमा गौरीगञ्ज–३ मा वडाध्यक्ष निर्वाचित भएका थिए । महतो झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज, खजुरगाछी शाखाका अध्यक्ष हुन् ।

न्यौपानेलाई नयाँ पुस्ताकी उदीयमान नेत्री मानिएको छ । उनी भन्छिन्– युवाले समेत राजनीतिमा राम्रो काम गर्न सक्छन् र योजनागत रूपमा विकासलाई अघि बढाउन सक्छन् भन्ने उदाहरण दिन चाहन्छु । उपाध्यक्षमा सन्थाल समुदायकी रानी सोरेनलाई राप्रपाले अघि बढाएको छ । उपाध्यक्ष पदमा सातजना चुनावी मैदानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here