उहिलेको झापा ! अहिलेको झापा !!

0
622

 


सुरुङ्गाका सबैभन्दा पुराना बासिन्दामा सन्थालहरु हुन् । अहिलेको सुरुङ्गा चोकभन्दा मास्तिर र पूर्व–दक्षिणमा उनीहरुको बाक्लो बस्ती थियो ।

पहाडे मूलका मान्छेहहरुमा जामुनखाडीका बस्नेतहरु हुन् । मेरा दाजुहरु यहाँ आउनुभन्दा पहिल्यै उनीहरु इलामको इभाङबाट यहाँ आएर बसोबास गरिसकेका थिए । त्यसपछि उनीहरmका ज्वाइँ दत्तसिंह कार्की पनि आए । अहिलेको जामुनखाडी स्कूलका हेडसर तुलसी कार्की उनै दत्तसिंहका छोरा हुन् ।

त्यसपछि इलामको आमचोकतिरबाट खड्काहरु आएर बसोबास गरे । तेह्रथुमको होडाबाट आएर बसोबास गरेका ओलीहरु पनि यहाँका पुराना मान्छे हुन् । त्यसपछि तेह्रथुमको चुहानडाँडाबाट उप्रेतीहरु आए । इलामको नामसालिङबाट ढकालहरु, लक्ष्मीपुरबाट बास्तोलाहरु आए । इलामकै साँखेजुङबाट आएका बस्नेत र भट्टराईहरुले पनि सुरुङ्गालाई आफ्नो बसोबास थलो बनाए । यहाँका शिवाकोटीहरु पनि इलामबाटै आएका हुन् । उनीहरुसँगै अरुअरु छिमेकी, चिनारु, आफन्तहरु पनि झर्न थाले । दिनप्रतिदिन पहाडे मूलका मान्छेहरु सुरुङ्गा ढाकियो । विभिन्न ठाउँबाट आएका मान्छेहरुको बसोबाससँग साँस्कृतिक अन्तरघुलन भयो । चेतनास्तर पनि उकासियो । यहाँका मान्छे अन्यत्रका भन्दा निकै बाठा र चलाख पनि भए ।

त्यो बेलाका सुरुङ्गाका गन्यमान्यमा मान्छेमा कृष्णबहादुर खत्री थिए । मेरो पुरानो घरभन्दा पश्चिम जामुनखाडीमा उनको मौजा थियो । सुरुङ्गाबाट शनिश्चरे जोड्ने पञ्चायत मार्ग बनाउने पहल उनैले गरेका हुन् । वि.सं. २०१८ सालमा झापामा राजा महेन्द्रको सवारी भएपछि उनको निर्देशनमा पञ्चायत मार्ग बनाउने लहर नै चलेको थियो ।
त्यसअघि झापामा एउटा बजारबाट अर्को बजार जानु पर्दा बाटाहरु घुमाउरो बाटो हिँड्नु पथ्र्योे । ती बाटाहरु बीचमा पर्ने बस्तीहरु हुँदै घुमाएर लगिएका हुन्थे । राजा महेन्द्रले ती बाटाहरmलाई सिधा बनाउन र तिनको नाम पञ्चायत मार्ग राख्न निर्देशन दिए । पञ्चायत शब्दलाई जनजनमा मुखाग्र गराउने उनको कोसिस थियो त्यो ।

राजाको निर्देशनपछि यहाँका जिम्दारहरु पञ्चायत मार्ग खोल्ने काममा जोडतोडले लागे । घैलाडुब्बाका जिम्दार देवीप्रसाद उप्रेतीले घैलाडुब्बाबाट पूर्वमा बिर्ताबजार र पश्चिममा शिवगञ्ज जोड्ने बाटो सिधा बनाए । बिर्ताबजारबाट गरामनी हुँदै भद्रपुर जाने बाटो त्यहाँका जिम्दारहरुले बनाए । भद्रपुरबाट दुहागढी हुँदै धुलाबारी निस्कने अर्को पञ्चायत मार्ग बनाइयो । झापामा जति पनि पञ्चायत मार्ग छन् ती सबै त्यतिबेलै बनेका हुन् ।

जिम्दार देवीप्रसादले घैलाडुब्बामा मात्रै होइन, इलामको करफोक, आठराईको चुहानडाँडा आदि ठाउँमा स्कूल खोल्न पहल गरेका थिए । शिक्षाका लागि मरिहत्ते गरेर लाग्ने मान्छे हुन् उनी । घैलाडुब्बाको आदर्श मन्दिर स्कूल उनैको देन हो । उनका सन्तानहरुमध्ये केही काठमाडौं, केही अमेरिका छन् । उनका एकजना छोरालाई चाँहि पछि माओवादीले निर्मम तरिकाले दुवै आँखा फुटाइदिए ।

जिम्दार कृष्णबहादुर खत्रीका छोरा हरिध्वज खत्री लामो कालसम्म घैलाडुब्बाको आदर्श मन्दिरमा शिक्षक भए । उनी ऊबेलै दार्जेलिङमा पढेर आएका मान्छे हुन् । एक समय उनी जिविस सदस्य पनि भएका थिए । अहिले यतैतिर छन् तर निकै बुढा भए ।

त्यो बेला झापामा भद्रपुरपछि चल्तीका बजारका रुपमा बिर्ताबजार र बाह्रदशी थिए । दक्षिणमा राजगढ थियो, झापाबजार थियो । पन्थापाडामा हरेक बेलुका हाट लाग्थ्यो । अहिलेको महारानीझोडा क्षेत्र चन्द्र समशेरकी महारानीको बिर्ता थियो । पछि सखुवाका काठ बेच्न झोडा फाँडियो । त्यही कारण त्यो ठाउँको नाम महारानीझोडा भएको हो । अहिलेको गौरादहको ठूलो क्षेत्र सबै रानीको बिर्ता अन्तर्गत थियो ।

त्यो बेला शिवगञ्जमा थियो, गौरीगञ्जमा थियो तर गौरादहमा बस्ती खासै थिएन । मोरङमा मधुमल्लामा थियो, लेटाङमा पनि थियो तर उर्लाबारीमा थिएन । बरु उर्लाबारी मुन्तियार अँठियाबारीमा धिमालहरुको बाक्लो बस्ती थियो । पूर्वी पहाडबाट मधेश झर्ने मुख्य नाका भएकाले मधुमल्लामा थाना पनि थियो । झापा बजारमा एउटा र रङ्गेलीमा अर्को थाना थियो । केही अपराध या घटना भइहालेमा झापाका मान्छेहरुले पुलिस बोलाउन हिंडेरै झापा बजार पुग्नु पथ्र्यो ।

२००७ सालसम्म पनि झापा बजारमै थियो सदरमुकाम । माल अड्डा त्यहीँ थियो, बरको रुखनेर । त्यसको नजिकै अमिनी अफिस थियो । २००७ सालपछि घैलाडुब्बाका देवीप्रसाद जिम्दार, भद्रपुरका ब्रह्मलाल मुखिया, शनिश्चरेका धर्मप्रसाद ढकाल, नरेन्द्रनाथ बास्तोला आदि अगुवाहरु भएर चन्द्रगढी सारेका हुन् । २००७ सालको आन्दोलनका अगुवा भैरवप्रसाद आचार्य र देवीप्रसाद जिम्दारहरुले बाह्रदशी डाँडामा राखौँ भनेका थिए । चन्द्रगढी राख्दा भारतसँगको सिमा नजिकै हुन्छ भन्ने उनीहरुको तर्क थियो । तर भद्रपुर ठूलो निकासी हुने ठाउँ भएकाले सरकारी सेवा सुविधा लिन सदरमुकाम पायक ठाउँमा चाहिन्छ भनेर चन्द्रगढीमा राखे । त्यहाँ पनि भैरवप्रसादको जग्गा थियो । २००७ सालको आन्दोलनपछि यो क्षेत्रको गभर्नर उनै भएका थिए ।

शुरुमा सरकारी अड्डाहरु भद्रपुरमै रहेको ब्रह्मलाल मुखियाको गौशालामा राखे । पछि मात्रै चन्द्रगढी सारेका हुन् । त्यसबेला सिडिओ हुँदैनथे बडाहाकिम हुन्थे । सेना पुलिसबाट अवकास पाएका आफ्ना विश्वासिला मान्छेलाई राजाले आफ्नो हुकुम अनुसार बडाहाकिम बनाएर पठाउँथे ।

भद्रपुरभन्दा पुरानो ठाउँ हो चन्द्रगढी । राणाकालभन्दा पहिल्यैदेखि आवादी हुन्थ्यो । त्यहाँ राजवंशीहरुको बस्ती थियो । जिम्दार, पटवारीहरु पनि राजवंशी नै हुन्थे । चन्द्र समसेरको मौजा क्षेत्र भएकाले त्यसको नाम चन्द्रगढी भएको होइन । त्यसअघि नै यो ठाउँको नाम चन्द्रगढी भएको देखिन्छ । मोरङको रङ्गेलीभन्दा पूर्व हरिचनगढी, झापाको दक्षिणमा राजगढ, मेचीको किनारमा चन्द्रगढी, त्यहाँभन्दा मास्तिर ज्यामिरगढी, भारतको पश्चिम बङ्गालमा शिलगढी, त्यहाँभन्दा पूर्व डुबर्सतिर मैनागढी, धुपगढी, भुटानको सिमामा देवानगढी आदि ठाउँहरm एउटै पेरिफेरिमा भएको हेर्दा यो इलाका सेन राजाहरु वा त्यसभन्दा अघिका राजाहरुको सिमावर्ती क्षेत्रजस्तो देखिन्छ । तर यसबारेको तथ्य इतिहास मैले कतै भेटेको छैन ।

छोराछोरीलाई पढाएर शिक्षित बनाउनु पर्छ भन्ने चेतना मान्छेमा थियो । तर धेरैजसोसँग आर्थिक सामथ्र्य थिएन । आर्थिक सामथ्र्य भएकाहरुले भारततिरबाट आउने शिक्षकहरुलाई आफ्नै मौजामा राखेर छोराछोरी पढाउने व्यवस्था गरेका थिए । ०७ सालपछि चै ठाउँठाउँमा स्कूल खोल्न लहर शुरु भयो । राणाकालमै खुलेका स्कूलमा भद्रपुर र करफोकको आदर्श मन्दिर आदि हुन् ।

त्यस समयमा माल अड्डाको काम भनेको जग्गा व्यवस्थापन थियो । नापी भएपछि मालपोत तिरेर लालपूर्जा लिन सकिन्थ्यो । त्यसलाई लङ्गड पूर्जा भन्थे । जग्गा नाप्न वैज्ञानिक विधि आइसकेको थिएन । निकै पछिसम्म पनि “जग्गा नाप्न अमिन आउने भए” भन्ने थाहा पाउँदा मान्छेहरु घर छाडेर भाग्थे । सरकारी हाकिमहरुले कसैलाई कारवाही गर्नुपर्ने भए जग्गा थपिदिन्थे । त्यसबेला मालपोत धेरै थियो, मान्छे तिर्न सक्दैन थिए । उब्जेको धानले पुग्दैन थियो । मालपोत तिर्न नसकेर मान्छेहरm केही वर्षमै जग्गा अर्कोलाई जिम्मा लगाउने वा छाडेर अन्यत्र जाने अवस्थामा पुग्थे ।

त्यो बेला झापामा नामीनामी मौजावालाहरु थिए । अहिलेको धरमपुर र खरखरेसहित दमकको सेरोफेरो काजी भनिने रेवन्तबहादुर कार्कीको मौजा थियो । लप्टन भूपालमानसिंह कार्की एक भाइका नाती, यिनी अर्का भाइका नाती हुन् । खजुरगाछी, जुरोपानीतिर भीमप्रसाद चौधरीको, डाँगीबारीमा हंशनारायण चौधरीको, केरौनमा खड्गनारायण चौधरीको सय–सय बिगाहभन्दा बढीका मौजा थिए । उनीहरु सबै राजवंशी हुन् । चौधरी चै उनीहरुका बाजेलाई सरकारले पोत उठाउने अधिकारसहित दिएको पदवी हो । जग्गा कमाइ गर्नेहरुबाट सरकार आफैंले पोत उठाउन मुस्किल भएपछि जङ्गबहादुरका पालामा मदेसमा चौधरी, पटवारी अनि पहाडमा जिम्वाल, मुखियाहरुलाई यो अधिकार दिइएको थियो ।

अहिलेको धाइजनको सेरोफेरो र धुलावारीको केही भाग डिट्ठा विष्णुलाल प्रसाईंको मौजा थियो । वि.सं. १९६२ तिर ओखलढुङ्गामा डिट्ठा पदमा कार्यरत रहेका उनी इलाम हुँदै राणाकालमै झापा झरेका थिए । सात ओटी श्रीमती बिहे गरेका विष्णुलालका छोराहरु पनि थुप्रै भाइ थिए । इलामबाट चुनाव जितेर सांसद हुने बेनुपराज प्रसाईं उनै विष्णुलालका सन्तान हुन् । झापाको धाइजन, धुलाबारीतिरका विष्णुप्रसाद, नसूह, रत्न, भरत, लक्ष्मणहरु सबै विष्णुलालका सन्तान हुन् । धुलाबारीको पुरानो नन्दा टे«डिङ भन्ने पेट्रोलपम्प र मेची ग्यास उनै नसूहका छोराको हो ।

गरामनीको एउटा क्षेत्र उनै विष्णुलालका छोरा गंगाप्रसाद प्रसाईंको थियो । उनलाई त्यो बेला जन्तरे मुखिया भन्थे ।
अहिलेको बिर्तामोड मास्तिरको सेरोफेरो नेपाली काङ्ग्रेसका पुराना नेता रामबाबु, भरतबाबुका पिता लप्टन देवीप्रसाद प्रसाईंको मौजा थियो । उनकै नामका कारण अहिले त्यो ठाउँलाई देवीबस्ती भनिएको हो । विराटनगर, सिरहा, जनकपुर, सर्लाही, बाँकेदेखि महेन्द्रनगरसम्म उनका मौजा थिए । लप्टन देवीप्रसाद एकदमै पौरखी र निष्ठावान मानिस थिए । जागिरका सिलसिलामा जहाँजहाँ जान्थे, त्यहाँ जग्गा जोडेकै हुन्थे । २०१७ सालमा राजा महेन्द्रले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाएपछि रामबाबु, भरतबाबुका नाममा रहेको धेरैजसो जग्गा सरकारले हरण गरिदियो ।

शनिश्चरे मास्तिरको हात्तीकिल्ला २०२८ सालमा भूमिगत मालेहरुले हत्या गरेका धर्मप्रसाद ढकालको मौजा थियो । शनिश्चरे बजार र ज्यामिरगढीमा रघुवीर बुढाथोकी र फत्तेबहादुर बुढाथोकीका मौजा थिए । पछि उनीहरmले शनिश्चरेमा राइस मिल पनि खोले । अहिलेका नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी उनै रघुवीरका छोरा हुन् ।

नेपाली काङ्ग्रेसका नेता गोपालकुमार बस्नेत पनि झापाका पुराना मान्छे हुन् । उनका बाजे धनराज बस्नेत राणाकालको मध्यतिरै इलामको साँखेजुङबाट खेती गर्न झापा आउ–जाउ गर्थे । अनारमनी, बिर्तामोड पश्चिमको केही भाग र बैंसावाडीमा उनको मौजा थियो । गोपालका बाबु टुङ्गले पनि थुप्रै जग्गा जोडे ।

बुट्टाबारीमा बगान भएका गिरीहरm हामीभन्दा अलि पछि आएका हुन् । उनीहरm खोटाङका हाम्रा छिमेकी पनि हुन् । खुदुनावारीका डबल सुब्बा धेरैपछि पाँचथरबाट झरेका । पछि उनका केही छोराहरmले बसोबासका लागि धुलाबारी रोजे । उनीहरुको खेती चै खुदुनावारीमा पनि थियो । नेपाली काङ्ग्रेसका नेता भूविक्रम नेम्बाङ, पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङ, कवि वैरागी काइँलाहरm उनै डबल सुब्बाका छोराहरु हुन् ।

राष्ट्रिय पञ्चायत सदस्य भएका नरेन्द्र खनालका बाबु रविरत्न खनाल पनि राणाकालको अन्तिमतिर झापा झरेका हुन् । पछि उनले धुलावारीमा एकजना मारवाडीसँग मिलेर आफ्नो नाममा रवि राइस मिल खोलेका थिए । धुलाबारीका पुराना मान्छे चै राइटर वीरबहादुर श्रेष्ठ हुन् । अहिलेको धुलाबारी बजार भएको ठाउँदेखि क्याम्पस भएसम्मको ठाउँ पहिला धौलासिं राजवंशीको बाडी अर्थात् मौजा थियो । मानिसहरुले धौलाबाडी भन्दाभन्दै धुलाबारी भनिन थालेको हो । धौलासिंका कुनै सन्तान थिएनन् ।

अमिनमा दर्ता नभएको अहिलेको बजार क्षेत्रमा आफूले ऋण सापटीमा पैसा दिई–दिई मानिसहरुलाई घर टहरा बनाउन लगाएर बजार बसाउने काम राइटर वीरबहादुर श्रेष्ठले गरेका हुन् ।

अहिलेको सुरुङ्गाको नाम कसरी सुरुङ्गा भयो भन्नेबारे ठ्याक्कै किटेर भन्न सकिने प्रामाणिक तथ्य केही भेटिएको छैन । मैले सुने अनुसार अहिलेको सुरुङ्गा बजारभन्दा पूर्व एउटा सानो खोलो छ । त्यो खोलो पहिला पट्टेर झाडीले छोपिएको सुरुङजस्तो थियो । त्यहाँ जङ्गली सुँगुर अर्थात् बँदेल हिँड्थे । मानव बसोबास शुरु भएसँगै त्यो खोलाले सुरुङ्गे नाम पायो । अहिलेको बजारभन्दा मुन्तिर त्यही खोला किनारको जमिन खेतीका लागि आवादी भएपछि त्यो मौजाको नाम नै सुरुङ्गा राखे । यसरी त्यो ठाउँले सुरुङ्गा नाम पाएको हो ।

भद्रपुरका प्रसिद्ध व्यापारी मोहनलाल अग्रवालका बाजे लेखराम राणाकालको सुरुतिरै नेपाल आएका हुन् । लेखरामका छोराको नाम सत्यनारायण हो । उनीहरmका घोडामारा, बालुवाडी, महाभारा आदि गरी २०–२२ ठाउँमा मौजा थिए । भद्रपुर बजार शुरु भएपछि चै उनीहरुले त्यहीँ व्यापार सुरु गरे । मोहनलाल अग्रवाल अहिलेको मेची बहुमुखी क्याम्पसका संस्थापकहरmमध्येका एक हुन् । पञ्चायतकालको उत्तराद्र्धकालमा रापंसको उम्मेदवार समेत बनेका उनका छोराहरुले यति बेला मित्तल टि स्टेट लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन् ।

झापामा भद्रपुर बजार कसरी शुरु भयो भन्ने बारेमा पनि रमाइलो घटना छ । अहिलेको शनिश्चरे मुन्तिरदेखि चारपाने बिर्ताबजार हुँदै गरामनीसम्मको जङ्गल सबै चन्द्र समशेरकी कान्छी महारानी तोपकुमारीदेवीका नामको बिर्ता थियो । रानीको बिर्ता भएकै कारण त्यस क्षेत्रका ठाउँका नाम बिर्ता गरामनी, बिर्ताबजार, बिर्तामोड आदि रहन गएको हो । गरामनी, बिर्ताबजार आदि ठाउँको झोडा फाँड्ने जिम्मेवारीसहित बिर्ता मालको हाकिम भएर आउने मान्छे चाहिँ मुखिया नन्दलाल पोखरेल हुन् । मेरा दाजुहरुभन्दा पहिला नै अर्थात् वि.सं. १९६० तिरै उनी यहाँ आएको इतिहास देखिन्छ । उनी हरिनन्दनका जेठा दाजु नरोत्तमका छोरा शिवनिधि तर्फका सन्तान हुन् । यहाँको जिम्मेवारी सकिएपछि उनी रघुनाथपुरमा रहेको मालको हाकिम भएर गए । पछि माधव समशेरको बिर्ताको हाकिम पनि भए । महोत्तरी पूर्व अहिलेको धनुषा आसपासमा उनको मौजा थियो । पछि उनका छोराहरुले बेचे ।

चारपाने पूर्व राजमार्ग मुन्तिर अहिले पनि सखुवाका रुखको सानो जङ्गल छ, त्यो चन्द्र समशेरकै कान्छी महारानीको बिर्ताको बाँकी अवशेष हो । २००६ सालमा भूपालमानसिंह कार्की यहाँको लप्टन हुँदा संरक्षण गरेर राखिदिएका हुन् । अरु जमिनचाहिँ त्यसअघि नै महारानी र उनका सन्तानहरुले बेचिसकेका थिए ।

चन्द्र समशेर श्री ३ प्रधानमन्त्री भएका समयमा गरामनी बिर्तामा सखुवाको घना जङ्गल थियो । यहाँका सखुवाका रुख काटेर भारतमा लगेर बेच्ने ठेक्का ब्रह्मलाल मुखियाले पाए । काटेका काठ भारत लैजाने सजिलो बाटो गलगलिया थियो । त्यहाँसम्म रेल आउन थालेको थियो । अन्यत्र रेलको लिक बिस्तार गर्नका लागि इष्ट इन्डिया कम्पनीलाई ठूूलो परिमाणमा काठ चाहिएको थियो । सायद कम्पनी सरकारको आग्रहमै प्रधानमन्त्री चन्द्र समशेरले जङ्गल फँडानीको ठेक्का लगाएका थिए ।

यसरी काटिएका काठको घाटगद्दीका लागि गलगलिया वारीको भूभाग उपयुक्त हुने नै भयो । त्यस समयमा त्यहाँ कुनै बजार थिएन । सानोतिनो मानव बस्ती मात्रै हुँदो हो । काठको घाटगद्दीसँगै काठ चिर्न डाँफे स–मिल खुल्यो । तर त्यहाँभन्दा पारी गलगलियाको छेउमा भादगाउँ भन्ने बजार लाग्थ्यो । त्यही बजारमा आउने केही व्यापारीहरुलाई बोलाएर आफूले घाटगद्दी गरिरहेकै ठाउँमा बजार शुरु गराए । पारीको बजारको नाम भादगाउँ भएकोले यसको नाम भद्रपुर राखे ।

यहाँ बजार लाग्न थालेपछि पारीको भादगाउँ बजारको कारोवार ठप्प भयो । किनकि त्यो बजार नेपालबाट जाने ग्राहकहरmकै भरमा चलेको थियो । त्यसपछि भादगाउँ बजारका व्यापारीहरु आएर ब्रह्मलाललाई प्रस्ताव राखे, “यताको बजार बन्द गरिदेऊ, हामी तिमीलाई तिमीले मागेका रुपियाँ दिन्छौँ ।”

तर ब्रह्मलाल त्यो लोभमा फँसेनन् । बरु उनले आफ्नो बसोबासो नै त्यहीँ बनाए । उनले घर बनाएपछि झापाका अरु धनीमानीहरुले पनि घर बनाउन थाले । विस्तारै नयाँनयाँ व्यापारीहरm पनि थपिँदै गए । मारवाडी र बङ्गालीहरु पनि आए । सरकारले भन्सार, माल अड्डा लगायतका कार्यालय राखिदियो । अलिपछि बैंक खोलिदियो । हिमालयन, डिबी, जगन्नाथ, गुप्ता, नन्दु आदि राइस मील खुले । धान चामलको ठूलो कारोबार हुन थाल्यो । यहाँको चामल फूलबारी नाका हुँदै बाङ्लादेश निर्यात हुन्थ्यो । चामलबाट उद्योगीहरmले राम्रो मुनाफा गर्न थालेका थिए । राणाकालको अन्त्यसम्ममा आइपुग्दा भद्रपुर देशका प्रमुख बजारहरुमध्ये एक भइसकेको थियो ।

अहिलेको चन्द्रगढी एयरपोर्ट, झापा कारागार लगायतको सेरोफेरो उनै ब्रह्मलालको मौजा थियो । पाटनतिर मूल घर भएका उनी नेवार हुन् । उनका सन्तानमा शम्भु र त्रिरत्न भन्ने भतिजहरु थिए । अहिले कता छन् थाहा छैन । भद्रपुर बजार बसाउन ब्रह्मलाल मुखियाले गरेको योगदानबारे कसैले चर्चा गरेको पनि सुनेको छैन । मैले थाहा नपाएको पनि हुनसक्छु ।

त्यति मात्रै होइन, २००७ सालको आन्दोलनमा यो क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएका डाँगीबारीका हंशनारायण राजवंशी, गौरीगञ्जका भीमप्रसाद चौधरी, मोरङ केरौनका खडगनारायण चौधरी, लोहाङ्ग्रा छेउमा मौजा भएका चैतुनारायण चौधरीहरुलाई अहिले कसैले सम्झँदैन । यिनीहरm सबै राजवंशी हुन् । यिनका सन्तान पनि सार्वजनिक जीवनमा आएजस्तो लाग्दैन ।

सुनसरीका दानालाल चौधरी थारु पनि त्यो बेलाका सक्रिय मान्छे हुन् । उनले त वेदानन्द झा, डा. अवधनारायण कायस्थ आदिसँग मिलेर त्यो बेला तराई कांग्रेस नामको पार्टी खोलेका थिए । यिनीहरm नेहरुलाई भेट्न उबेलै दिल्ली पनि गएका थिए । वेदानन्दलाई पछि राजाले राजसभा स्थायी समितिको सभापति पनि बनाए । दानालालका एकजना छोरा काठमाडौंको सिडिओ पनि भएका थिए ।

(अजम्बरी पब्लिवेशनले हालै बजारमा ल्याएको पुस्तक रैतीको इतिहासबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here