गल्तीबाट सच्चिनु पर्छ

0
452

व्यग्र प्रतिक्षा गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न भई मत परिणाम आउने क्रम शुरु भइसकेको छ । अबको दुई चार दिनभित्रमा देशभरका निर्वाचन सम्पन्न भएका पालिकाहरुले नयाँ जनप्रतिनिधि प्राप्त गर्नेछन् । झण्डै–झण्डै दुई दलीय जस्तो देखिएको यस पटकको निर्वाचन विगतको तुलनामा असहज भएको प्रतिक्रिया मतदाताले दिएका छन् । नेपाली कांग्रेसको धुरामा एउटा दल र नेकपा एमालेको धुरामा संगठित अर्को दल मूलतः यसपटकका विभिन्न पदका उम्मेदवारका प्रत्यासी देखिए । एउटा दल एक्लै निर्वाचन नलडेका कारण मतदाताहरुलाई प्रतिनिधि चयन गर्न असहज भएको कारणले मतदाताका लागि असहज बनेको यसपटकको स्थानीय तहको दोस्रो निर्वाचनले आफूले चाहेको प्रतिनिधि निर्वाचित हुने सम्भावना थोरै देखिएको छ ।

देशमा पाँच दलीय गठबन्धनको सरकार छ । सत्ता साझेदार दलहरुकाबीचको सहमतिमा स्थानीय तहको निर्वाचन पनि गठबन्धनकै आधारमा गरियो । तर, आ–आफ्ना दलकै चुनाव चिह्नका आधारमा निर्वाचन गरिँदा मतदातालाई मत संकेत गर्न असहज भयो । एकातिर निर्वाचन आयोगले मतदाता शिक्षालाई प्राथमिकतामा राखेन अर्कातिर राजनीतिक दलहरु खासगरी गठबन्धनका दलहरुले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकेनन् । धेरै स्थानीय तहमा एक्लै चुनाव लडेको एमालेलाई भने मत संकेतको सहजता कै कारण परिणाम आफ्नो पक्षमा ल्याउन सजिलो भएको छ । एउटै मतपत्रमा पालिका प्रमुखदेखि सदस्यसम्मका लागि मतदान गर्नुपर्ने कारणले मतदाताका लागि मत संकेत गर्न कठिनाइ भएको मतदान प्रक्रियाका जानकारहरुले टिप्पणी गरेका छन् ।

जे भए पनि विशेष परिस्थितिले मतदान स्थगित भएका बाहेकका पालिकाहरुको नतिजा आउने क्रम शुरु भएको छ । मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको यसपटकको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुन नसके पनि आउने दिनमा निर्वाचन प्रक्रियामा सुधार गर्नुपर्ने शिक्षा भने दिएको छ । यो निर्वाचन आयोगसँगै राजनीतिक दलहरुका लागि पनि उपयोगी हुनसक्छ । निर्वाचनका समयमा मात्रै मतदाता खोज्ने दलहरुलाई मतदाताको जीवनसँगै बाँच्नुपर्छ भन्ने सन्देश दिन सक्यो भने अनुभवले दिएको शिक्षा सार्थक हुनेछ । आयोगले पनि मतदाताको संख्याका आधारमा मतदान केन्द्र थप गर्दै स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु पर्दछ । मतदानको विधि वैज्ञानिक तथा प्रविधि पूर्ण बनाउन राज्य पनि गम्भीर हुनुपर्दछ । अन्यथा मतदानको निष्पक्षता, स्वतन्त्रता र स्वीकार्यताको रक्षा गर्न सकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here