झापामा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान शुरु

0
532

सुरेन्द्र भण्डारी
झापा, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान शुरु गरेको छ ।
जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन नै देखिएपछि ट्राफिक प्रहरीले दुर्घटना रोक्न यस्तो अभियान शुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सभाकक्षमा यातायात व्यवसायी, सवारी चालक र नागरिक समाजका पदाधिकारी समेतको उपस्थितिमा अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सबारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सचेत बन्नुपर्ने बताए । उनले नेपाल विश्वमै धेरै सवारी दुर्घटना हुने मुलुकमध्येमा परेको बताउँदै कुल ग्राहस्थ उत्पादनको ०.७५ प्रतिशत क्षति सवारी दुर्घटनाका कारण राज्यले व्यहोर्दै आएको बताए । ‘सानो लापरवाहीका कारण सबारी दुर्घटनामा परी मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ’– प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘सवारी दुर्घटनाका कारण मात्रै राज्यलाई बार्षिक तीन अर्बभन्दा बढी क्षति हुन्छ ।’
काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिए कारवाही गर्दै सचेतना कक्षा सञ्चालन गर्दा धेरै फाइदा पुगेको देखियो प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘झापामा पनि त्यस्तै प्रकृतिको कक्षा सञ्चालन गर्न लागिएको हो । मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा काठमाडौंमा जस्तै झापामा पनि डेढदेखि दुई घण्टासम्म ट्राफिक प्रहरीले कक्षा लिँदै उनीहरुलाई सचेतना शिक्षा प्रदान गर्छ ।’ ‘जनशक्ति अभावका कारण ग्रामीण क्षेत्रमा सवारी चेकजाँच गर्न अझैंपनि कठिनाइ छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘शहरी क्षेत्रमा नियमित कडाइ गरेको खण्डमा मादकपदार्थ सेवन गरी सवारी चलाउने परिपार्टी विस्तारै कम हुँदै जान्छ र यसले दुर्घटना न्यूनीकरणमा फाइदा पुग्ने हामीले विश्वास लिएका छौं ।’ चल्तीका राजमार्गमा नै धेरै सबारी साधन चल्ने भएका कारण पनि मादक पदार्थ सेवन चेकजाँचलाई शहर केन्द्रीत गरिएको हो– प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

अभियान उद्घाटन समारोहमा बोल्दै यातायात व्यवस्था कार्यालय झापाका प्रमुख हरि लामिछानेले राजधानीमा सफल भएको अभियान अन्य जिल्लामा कमै मात्रामा रहेको र झापामा यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । जसका लागि ट्राफिक प्रहरी र प्रशासनले अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम भएको यो कार्यक्रम झापामा सफल हुने र यातायात व्यवस्था कार्यालयको तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताउँदै यो कार्यक्रम झापामा सफल भएसंगै यसको प्रभाव छिमेकी जिल्लामा समेत पर्ने उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरले मादक पदार्थ सेवन गरी सवारी
चलाउनेहरुलाई सचेतना कक्षा दिन शुरु गरेसँगै मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या स्वतः घटेर जाने बताए । उनले अझै पनि सवारी चलाउँदा सवारी दर्ता किताव र सवारी चालक अनुमति पत्र बोकेर हिँड्नुपर्छ भन्ने चेत झापाबासीमा नभएको र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा कारवाहीमा परे भनसुन गर्ने प्रवृत्ति देखिएको बताए । अब भनसुनले चल्दैन– उनले भने– ‘दुर्घटनामा पर्दा ज्यान तपार्इँको जाने हो मृत्यु भनसुनले रोकिँदैन तसर्थ मादक पदार्थ सेवन गरी सवारी नचलाउन म सबैलाई आग्रह गर्छु ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जवेगूले दुर्घटना न्यूनीकरणका लागि झापामा शुक्रवारबाट जिल्लाका दुई स्थानमा ‘मापसे’ कक्षा सञ्चालन गर्ने बताएका छन् । उनले बिर्तामोड र दमकमा अब ट्राफिक प्रहरीले ‘मापसे’ कक्षा सञ्चालन गर्ने बताए ।
वैशाखको तुलनामा झापामा जेठ महिनामा सवारी दुर्घटनाको संख्या कमी भएको बताउँदै जवेगूले भने– यो अभियान सञ्चालन गरेसँगै दुर्घटना कमी हुँदै जाने हाम्रो अपेक्षा छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले समेत सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षलाई सचेत रहन आग्रह गरे ।

५५० वटा दुर्घटनामा १०६ जनाको मृत्यु

चालू आर्थिक वर्ष जेठ तेस्रो सातासम्ममा झापामा ५५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १०६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
चालूआर्थिक वर्षको साउन महिनामा ४९ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने भदौमा ५१ वटा दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै असोज महिनामा मात्रै
जिल्लामा ५५ वटा दुर्घटनामा ९ जनाले ज्यान गुमाए भने कात्तिकमा ५६ वटा दुर्घटनामा १३ जना र मंसीर महिनामा ४५ वटा दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पुस महिनामा ४४ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । माघ महिनामा ५४ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको छ । फागुनमा ५८ वटा दुर्घटनामा ९ जना, चैतमा ५१ वटा दुर्घटनामा १४ जना, वैशाखमा ५५ वटा दुर्घटनामा ६ जना र जेठको तेस्रो सातासम्ममा ३२ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

ट्राफिक नियम उल्लङ्घन गर्दा २ करोड ७७ लाख राजश्व

सवारी नियम उल्लङ्घन गर्दै सबारी सञ्चालन गर्दा ट्राफिक प्रहरीले झापामा ३९ हजार २ सय ५० वटा सवारीलाई कारवाही गरेको छ । सवारी नियम उल्लङ्घन गर्दा दुई करोड ७७ लाख एक
हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्षमा १३ हजार ८ सय मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले सबै भन्दा धेरै राजश्व संकलन गरेको छ । मोटरसाइकल बाट मात्रै प्रहरीले एक करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । चालू आर्थिक वर्षमा मोटरसाइकल पछि सबैभन्दा धेरै ट्रक कारवाहीमा परेका छन् । ९ हजार ३ सय ४७ वटा ट्रक कारवाहीमा पर्दा ६७ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्दै सवारी सञ्चालन गर्ने १ हजार ७ सय ३२ वटा टिपरलाई कारवाही गर्दा १० लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । १ हजार सात सय ८९ वटा वस कारवाहीमा पर्दा ११ लाख ४० हजार रुपैयाँ राजश्व संकलन भएको हो । त्यस्तै ५ हजार २ सय ७६ वटा जिप कार र भेन कारवाहीमा पर्दा ३५ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । ३ हजार २ सय ८४ वटा ट्याक्टर कारवाहीमा पर्दा २१ लाख ३९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो । टेम्पो अटो र सिटी सफारी ३ हजार १ सय ९८ कारवाहीमा पर्दा २२ लाख ३७ हजार ५ सय राजश्व संकलन भएको हो । त्यस्तै ८ सय २४ वटा अन्य सवारी कारवाहीमा पर्दा ५ लाख २८ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here