जनप्रतिनिधिसँग अपेक्षा धेरै

0
407

गौरीगञ्ज ।

गौरीगञ्ज गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि एक ढिक्का भएर अघि बढ्नुपर्ने स्थानीयले बताएका छन् । विशेषगरी कृषि क्षेत्रको विकासका लागि जनप्रतिनिधिले चासो दिनुपर्ने त्यहाँका सर्वसाधारणको माग छ । कृषिमा निर्भर रहेका गाउँपालिकाबासीका लागि मलखाददेखि सिञ्चाईको समेत व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।

कृषि पेशामा निर्भर रहेका किसानलाई अहिले सरकारले युरिया, डिएपी लगायतका रसायनिक मल उपलब्ध गराउन नसक्दा किसान मारमा परेको गौरीगञ्ज–३ का कुमारप्रसाद भण्डारीले बताए ।

भारतीय बजारमा मल किन्न बाध्य छौं, महंगो मूल्यमा किनेको मल गुणस्तरीय हुँदैन– भण्डारीले भने– नेपाली बजारमा मल अभाव भएपछि गुणस्तरहीन मलको प्रयोग गर्दै खेती गर्न बाध्य छौं ।

जनप्रतिनिधिले किसानका लागि तत्काल मलखादको व्यवस्थापन गर्दै कृषिलाई व्यवसायिकीकरण गरेर आत्मनिर्भर बनाउन आवश्यक छ– भण्डारीले भने । गाउँपालिकामा अहिले विद्युतको समस्या रहे पनि स्थानीय जनप्रतिनिधिले पूरा गर्न नसकिरहेको उनको भनाइ छ । किसानका खेत–खेतमा विद्युत्को पोल र सिञ्चाईको व्यवस्था गर्दै कृषकलाई विद्युत् महशुलमा समेत सहुलियत दिनुपर्छ– भण्डारीले भने– यहाँ खेतीका लागि मात्र होइन, खानेपानीका लागि समेत समस्या छ ।

धान उत्पादनको यो समयमा मल वीऊको पीडा व्यहोरिरहेका गौरीगञ्जवासीले खानेपानीको समस्या पनि झेल्दै आएका छौं– भण्डारीले भने– कृपाल टोलको खानेपानी ट्यांकीबाट सबैतिर पाइप विस्तार गर्दै खानेपानी वितरण गर्नु यहाँका जनप्रतिनिधिको पहिलो कर्तव्य हुनुपर्छ ।

लेहरा खोरामा पुल नबन्दा गौरीगञ्ज र ठेकी टोल सम्पर्क विच्छेद हुने अवस्था छ । जनप्रतिनिधिको प्रयासमा तत्काल खोलामा पुलको व्यवस्थापन गरिनुपर्छ । बर्खा शुरु हुनु अगावै वल्लो गाउँ र पल्लो गाउँ सम्पर्क विच्छेद भइसक्यो– भण्डारीले भने । ठेकी टोलका मानिसलाई गौरीगञ्ज आउन समस्या देखिएकाले तत्काल समाधानका लागि पुल निर्माणमा जोड दिनुपर्छ ।

यसअघिका जनप्रतिनिधिले सडक निर्माणलाई प्राथमिकता दिए पनि उच्च स्तरीय सडक निर्माण नगरेको उनको दुःखेसो छ । एक बर्षमै कालोपत्रे गर्नुभन्दा उच्च स्तरीय ग्राभेल गरेकै राम्रो– भण्डारीले भने । गौरीगञ्जमा सार्वजनिक शौचालय र फोहोर मैला व्यवस्थापनमा जनप्रतिनिधि चासो राख्नुपर्छ ।

उनी जस्तै गौरीगञ्ज–६का लीलानाथ कोइरालाले समेत पुल नाका सहज र फत्तेपुर रोड निर्माणमा जोड दिए । फत्तेपुर रोड निर्माण नहुँदा त्यस ठाउँका स्थानीय पलायन हुने क्रम बढेको उनले बताए । उनले भारतसँग सीमा जोडिएका नाकालाई सहज गर्न समेत जनप्रतिनिधि समक्ष माग गरेका छन् । स्थानीय बाबुजान अन्सारीले कृषकका समस्या समाधानका लागि आग्रह गरेका छन् ।

किसानका लागि मलखादको व्यवस्थापन गरिनुपर्ने, सडक निर्माणलाई प्राथमिकता दिएर कृषकका खेत–खेतमा पुग्ने सडक उच्चस्तरीय ग्राभेल गरिनुपर्ने, किसानलाई सिञ्चाईको व्यवस्थापन गर्नुपर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न जनप्रतिनिधिले चासो देखाउनुपर्ने भनाइ छ ।

गौरीगञ्ज–३का गंगाप्रसाद घिमिरेले निर्वाचित जनप्रतिनिधिले पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता राख्नुपर्ने बताए । सामान्य विरामी हुँदा समेत उपचारका लागि अन्यत्र जानुपर्ने भएकाले थप सेवासुविधा स्वास्थ्य संस्थामै उपलब्ध गराउनुपर्ने उनले बताए ।

गौरीगञ्ज–८का राजन दाहालले अधुरा बाटाको निर्माण सम्पन्न, कज्वे र कल्भर्टको मर्मत सम्भार तथा आवश्यक स्थानमा विस्तार, ग्राभेल रोडलाई कालोपत्रे, सबैका घरमा विद्युत् सेवा विस्तार गरिनुपर्ने बताए ।

सामुदायिक विद्यालयले स्तरोन्नति गर्दै निम्न आय भएका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदानका लागि नयाँ नियम बनाएर अघि बढ्नुपर्ने उनीहरुको माग थियो ।

गौरीगञ्जको विकासका लागि हुलाकी सडक कोशेढुंगा सावित भए पनि हुलाकी सडक मापदण्ड अनुसार नबनेको उनीहरुले गुनासो गरेका छन् । हुलाकी सडकको स्तरोन्नति भयो तर सोचे अनुसारको सडक बनेन– दाहालले भने । बर्षौ पछिको सपना हुलाकी सडकले पूरा ग¥यो तर, बाङ्गो र टेडो सडक बनाएकाले गौरीगञ्जवासी हुलाकी सडकप्रति सन्तुष्ट छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here