असल बुहारी, उत्कृष्ट किसान, विद्यार्थी र पत्रकारलाई जनही ५१ हजार राशिको पुरस्कार

0
448

कनकाई

विभिन्न चार विधाका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने गरी झापाको कनकाई–६ चम्पापुरमा चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषको घोषणा गरिएको छ ।

स्थानीय समाजसेवी चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले आफूहरु जीवित छँदै समाजमा सेवामुखी कार्य गर्ने सोचका साथ ३० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । शनिवार एक कार्यक्रमकाबीच कोष व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी–ईश्वरादेवीका छोरा एकराज उप्रेतीले अक्षयकोषको घोषणा गरे ।

स्थानीय भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा कार्यक्रम आयोजना गरी अक्षयकोषको घोषणा गरिएको हो । हरेक बर्ष अक्षयकोषको व्याजबाट विभिन्न चार विधामा जनही ५१ हजार रुपैयाँ राशिको पुरस्कार वितरण गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । अक्षयकोषका संरक्षक चिरञ्जीवी उप्रेतीले सभ्य, सुखी र सुन्दर समाजको निर्माण गर्न योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको कदर र सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए ।

समाजमा सकारात्मक सोच र मैत्रीपूर्ण भावनाको विकासमा रचनात्मक कार्य गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको कोषका प्रमुख संरक्षक उप्रेतीले बताए । उनले मानिस जन्मँदा र मृत्यु हुँदा नाङ्गै हुने भन्दै जीवनकालमा समाजका लागि योगदान गर्नु पर्ने बताए ।

कोषको रकमबाट कनकाई नगरक्षेत्रभित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारी, कनकाई नगरपालिका भित्रका एक जना उत्कृष्ट कृषक र झापा जिल्ला भित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई जनही एकाउन्न हजार रुपैँयाका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष उप्रेतीले जानकारी दिए । हरेक बर्ष भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाका दिन पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।

कोषका प्रमुख संरक्षक चिरञ्जीवी तथा संरक्षक ईश्वरादेवी उप्रेती र भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रहेका छन् । एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा. आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले उप्रेती परिवारको यो कार्यले कनकाईको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यो कोष कनकाईको उत्कृष्ट बन्न सकोस् भन्ने कामना गरे । उनले भविष्यमा कोषले अन्य विधामा समेत पुरस्कार वितरण गरोस् भन्ने शुभेच्छासमेत प्रकट गरे ।

कनकाई नगरका उपप्रमुख आशा शर्मा शिवाकोटीले उप्रेती परिवार पहिलादेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएको र अहिले अक्षयकोष स्थापना गरी थप पुण्यको काम गरेको बताइन् । शिवाकोटीले समृद्ध परिवारका लागि सुसंस्कारिक बुहारीको ठूलो योगदान हुने र उत्कृष्ट बुहारीलाई पुरस्कृत गर्ने गरी अक्षयकोषको स्थापना भएको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै कनकाई वडा नम्बर –६ का वडाध्यक्ष दीर्घबहादुर थापाले कोषका प्रमुख संरक्षक चिरञ्जीवीले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

वडाध्यक्ष थापाले सुखी र समृद्ध समाजको निर्माणमा उप्रेतीको सकारात्मक सोचले ठूलो भूमिका खेल्नुका साथै उनले गरेका कार्यले कनकाईको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उप्रेतीमा रहेको सकारात्मक सोचकै कारण ८९ बर्षको उमेरमा समेत उप्रेती स्वस्थ्य र हँसिलो रहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन राम निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here