शहिद डिल्ली गौतम स्मृति कार्यक्रममा पोखरेल र कट्टेल सम्मानित

0
218

सुरुङ्गा ।

जननेता मदन भण्डारीको हत्याको विरोधमा निस्किँदा प्रहरीको गोली लागेर शहिद भएका झापा सुरुङ्गाका युुवा डिल्ली गौतमको स्मृतिमा आयोजित कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल र अधिवक्ता हेमकला कट्टेल सम्मानित भएका छन् ।

कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा शिक्षासेवी एवम् साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा जिल्ला बार एशोसिएसनकी सचिव हेमकला कट्टेललाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

शिक्षण र साहित्यका क्षेत्रमा पु¥याउनुभएको उच्च योगदानको मूल्याङ्कन गर्दै धार्मिक पर्यटकीय बन्दमुक्त सुरुङ्गालाई कर्मक्षेत्र बनाएर नेपाली साहित्याकाशमा निरन्तर चम्किरहने नक्षत्रका रूपमा मोफसलमा रहेर पनि राष्ट्रिय प्रतिभाको अति उज्यालो छबि बनाएका बहुमुखी प्रतिभावान अग्रज स्रष्टाको रूपमा पोखरेललाई सम्मान गरिएको हो ।

त्यसरी नै, सामाजिक रूपान्तरणका लागि खेलेको भूमिका र डिल्ली गौतम स्मृति प्रतिष्ठानको स्थापना, विकास र प्रबद्र्धनमा पु¥याएको उच्च योगदानको मूल्याङ्कन गर्दै कट्टेललाई सम्मान गरिएको हो ।

डिल्ली गौतम स्मृति प्रतिष्ठानद्वारा आयोजित २९ औ स्मृतिसभाको अवसरमा सम्पन्न रक्तदानमा ११ महिलासहित ४६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का संघीय सांसद एल.पी. साँवा लिम्बुुले समाजमा बेथिति, अन्याय र भ्रष्टाचारको जालो रहेसम्म शहिदको सपना साकार हुन नसक्ने बताए । समाज रूपान्तरणका लागि सामाजिक एकता अपरिहार्य रहेकोमा सांसद साँवाले जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, सम्मानित व्यक्तित्वद्वय कोमलप्रसाद पोखरेल र हेमकला कट्टेल, प्रजापति सामुदायिक वन समूहका अध्यक्ष दलवहादुर वि.क., नेकपा माओवादी केन्द्र कनकाईका अध्यक्ष यामनाथ सेडाईँ लगायतले शहीदले देखाएको बाटोमा इमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

शहीदपत्नी देवका र आमा पुण्यवती गौतम लगायत परिवारजन साथै विभिन्न पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानकी सदस्य मन्जु प्रसाईँले औचित्यसहित स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव विनोद रानामगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here