हरित क्रान्तिको उचित व्यवस्थापन

0
265

माटोलाई उर्वर बनाउन विभिन्न पोषकतत्वहरु आवश्यक हुन्छ । उर्वर माटोबाट मात्रै बाली–बिरुवा सप्रिन्छ र कृषि उत्पादन राम्रो हुन्छ । त्यस्तो बाली–बिरुवालाई चाहिने पोषकतत्वहरुमा प्राकृतिक रुपमा पाइने अक्सिजन, कार्बन र हाइड्रोजन बाहेक नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, सल्फर, आइरन, कपर लगायतका तत्व छन् । यिनै तत्वको परिपूर्तिका लागि माटोमा प्राङ्गारिक मल प्रयोग गर्ने परम्परागत प्रचलनमा रासायनिक मलको उपयोग हुन थालेको छ । बढीभन्दा बढी उत्पादन लिनका लागि कृषि कर्ममा आधुनिकताको उपयोग हुन थालेको हो । आधुनिक प्रविधि तथा विभिन्न रासायनिकहरुको मिश्रण गरेर यस्तो मलको उत्पादन गरिन्छ । त्यही मलखादको थोरै प्रयोग गर्दै धेरै उत्पादन गर्ने उद्देश्यले रासायनिकयुक्त, आधुनिक, प्रविधिपूर्ण खेती विश्वभर नै गर्ने गरिएको छ ।

खासगरी दोस्रो विश्वयुद्धको अन्त्यपछि भयावह बनेको भोकमरीको समस्यालाई न्यूनीकरण गर्न हरितक्रान्तिको आरम्भ भएको हो । यही क्रान्तिको परिणामले रासायनिक मलको उत्पादन पनि प्रयोग कै तुलनामा बढ्न थालेको हो । हरितक्रान्तिको प्रभाव विस्तार हुँदै जाँदा नेपालमा पनि रासायनिक मलको प्रयोग बढ्दै गयो । मल कारखाना नभए पनि उत्पादक राष्ट्रहरुबाट आयात गरेर हामी कहाँ रासायनिक मलको प्रयोग हुँदै आएको छ । बदलिएको जीवनशैली, भोगाइ र व्यवहारले पशुपालन खुम्चिँदै गएको अवस्थामा कृषि वस्तुमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्नैपर्ने हुन्छ । त्यसका लागि रासायनिक मल मुख्य आधार हो भने यो सँगै सिँचाइ तथा उत्पादित वस्तुको बजारीकरण पनि त्यत्तिकै अनिवार्य आधार हुन् ।

रासायनिक मलबाट बिरुवालाई तत्काल पोषण प्राप्त हुने हुँदा प्रविधिसँगै मलखादको सहज उपलब्धता राज्यको मूल जिम्मेवारी हुनुपर्छ । तर, हामीकहाँ खेतीको समयमा किसानले मल पाउँदैनन् । मल पाए सिञ्चाइ हुँदैन र भए प्रविधिको पहुँच असहज हुन्छ । त्यसैले राज्यले कृषि कर्मका लागि आवश्यक मलखाद समयमै किसानसम्म पु¥याउने मुख्य लक्ष्य बनाउनुपर्छ । सिञ्चाइ, प्रविधि, उपकरण लगायतका सेवा यथासमय उपलब्ध गराइनु पर्दछ । यस्तो बेला केही नाफाखोरहरुले गुणस्तरहीन मल आयात गरी किसानलाई ठगी रहेको समाचार आउनु दुःखद् हो । भद्रपुर भन्सार कार्यालयमा भारतीय बजारबाट ल्याइएको मल फेला परेको छ । भन्सार कै पहलमा गरिएको गुणस्तर परीक्षणमा नाइट्रोजनको मात्रा कम भएको प्रतिवेदन आएको छ । यसले कतिपय किसानले त्यस्तै मल प्रयोग गरेको हुनसक्ने आशंका जन्मिएको छ । यस्तो मलले माटोको उर्वराशक्ति घटाउने, माटोलाई सुख्खा बनाउने, जमिनमुनिको पानीलाई विषालु बनाउने, बिरुवालाई डढाउने, आर्थिक क्षति हुने, माटोलाई अम्लीय बनाउने हुँदा गुणस्तरीय र उचित प्रयोगमा ध्यान दिनु पर्दछ । बढ्दो जनसंख्यालाई बाँच्नका लागि नभइनहुने खाद्यवस्तुको उत्पादन बढाउँदै जीवनस्तरमा सुधार ल्याउन पनि सरकारको प्राथमिकता हुनुपर्दछ । अनि मात्र गुणस्तरहीन वस्तुको आयात नियन्त्रण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here