चार बर्षमा पनि बनेन एक किलोमिटर सडक

0
223

सुरेन्द्र भण्डारी,
झापा।

ग्रामीण कृषि सडक ‘¥याप थ्री’ अन्तर्गत बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नति थालिएको चार वर्ष पूरा भएको छ ।
बिर्तामोड–भद्रपुर सडकको बैकल्पिक मार्गका रुपमा हेरिएको सो सडकलाई स्तरोन्नति गर्दै प्रयोगमा ल्याउने योजनाका साथ २०७५ साल असारमा ठेक्का लगाइएको थियो । भ्याट बाहेक चार करोड २८ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न लागिएको सो सडक २०७६ साल असारमा नै निर्माण सम्पन्न हुनुपर्ने हो । तर, हालसम्म सो सडकको न स्तरोन्नति गरियो न त कालोपत्रे नै । ठेक्का लागेको ५० महिना पूरा हुँदा समेत हर्कलाल मार्गको १ हजार ५८ मिटर सडक स्तरोन्नति हुन सकेको छैन ।

सडक निर्माणका लागि ठेक्का लिने कम्पनीको चरम लापरवाही र नियमनकारी निकाय पूर्वाधार विकास कार्यालय चन्द्रगढी झापा मुकदर्शक बन्दा सो सडक अलपत्र परेको हो । २०७३ सालमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोड रुपैयाँको विस्तृत गुरुयोजना (डीपीआर) तयार गर्दै बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी थालेको थियो ।

ग्रामीण कृषि सडकको मापदण्डमा ‘¥याप थ्री’ अन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिने भएपछि योजना समेत स्वीकृत भएको थियो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सो सडक २०७५ असारमा दी कञ्चनजंघा कन्ट्रक्सन निर्माण कम्पनीले निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।

ग्रामीण कृषि सडक ‘¥याप थ्री’को मापदण्डमा सडक स्तरोन्नतिको ठेक्का लगाएपछि स्थानीयले सडक फराकिलो बनाउनुपर्ने माग राखेका थिए । पूर्वाधार विकास कार्यालय चन्द्रगढीले सडक निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीयले सडक फराकिलो बनाउनु पर्ने माग राखेपछि सडक निर्माण कार्य केही समय रोकिएको थियो ।

तीन किलो मिटर सडक निर्माणका लागि ठेक्का लागेपनि दुवैतर्फ ड्रेन र उच्चस्तरीय कालोपत्रे गर्न स्थानीयको मागपछि सो सडकलाई १०५८ मिटर मात्रै स्तरोन्नति गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुसार नालासहित सडकलाई ५० मिटर चौडा बनाइने गरी काम अघि बढाइएको थियो । तर, सम्झौता अनुसार काम अघि बढे पनि हालसम्म स्तरोन्नति हुन भने सकेको छैन ।

तीव्र शहरीकरणका रुपमा विकास भइरहेको बिर्तामोडमा जनघनत्व दिन प्रतिदिन बढेसँगै मुख्य डाइभर्सनका रुपमा हेरिएको हर्कलाल मार्गलाई ‘¥याप थ्री’ को मापदण्डभन्दा बाहिर लगेर स्तरोन्नति गर्न स्थानीयवासी, जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालय नै राजी भए ।

¥याप थ्रीसँग गरिएको सम्झौतामा सो सडकको स्तरोन्नति गर्दा १७ फिट मात्रै कालोपत्रे गर्ने भनिएको थियो । तर, स्थानीयवासीको सहमतिमा सो सडकलाई बढाएर नाला सहित ५० फिट पु¥याइयो । सहमति अनुसार तीन किलोमिटर सडक कालोपत्रेका लागि छुट्याइएको बजेटबाट घटाएर एक किलोमिटर ५८ मिटर मात्रै सडकको स्तरोन्नति गर्ने सहमति अनुरुप सो सडकको स्तरोन्नतिको काम अघि बढेको थियो । तर, समयमा स्तरोन्नतिको काम नहुँदा हर्कलाल मार्गको अवस्था दिनानुदिन बिग्रदो छ ।

हर्कलाल मार्ग सहजकर्ता समितिका संयोजक गुरुभक्त न्यौपानेका अनुसार सडक निर्माणको काम ५० प्रतिशत पूरा भएपनि अझैं सडकको स्तरोन्नतिको काम सक्न समय लाग्ने बताउँछन् ।

सडक निर्माणका लागि ठेक्का लिने व्यक्ति नै जेल परेकाले समयमा सडकको स्तरोन्नति हुन नसकेको हो– उनी भन्छन्– सडक निर्माणका लागि ठेक्का लिने व्यक्ति आफै कालोसूचीमा परेका रहेछन् । पछि उनी जेल परे, त्यसपछि यो सडकको काम ठप्प भएको हो । तीन किलोमिटर हर्कलाल मार्गको स्तरोन्नतिको काम सम्पन्न गर्न थप १३ करोड रुपैयाँ लाग्ने सहजकर्ता समिति संयोजक न्यौपानेको भनाइ छ ।

यता सहजकर्ता समितिका सचिव ओमकृष्ण बिमलीले सो सडक निर्माणका लागि स्थानीय नेतृत्वले पहल नगर्दा समस्या भएको बताउँछन् । हामीलाई सडक निर्माणका लागि शुरुमा कसैले साथ दिएनन्–उनी भन्छिन्– यहाँका राजनीतिक दलको नेतृत्वले सडकका विषयमा एक दिन पनि सोधीखोजी नगर्दा निर्माण व्यवसायीले नटेरेका हुन् । यदि दलका नेताले शुरुदेखि नै पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीलाई घच्घच्याएको भए आज यो दिन आउने थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here