दशैं बजार : भारतमा भीड, नेपालमा सुनसान

0
339

झापा ।

कोभिडका कारण थलिएको व्यवसाय दशैंको बेला सुध्रिएला भन्ने धेरै झापाली व्यवसायीको अपेक्षा थियो । तर, दशै शुरु भइसक्दा समेत झापाको बजार सुनसान छ ।

यसअघि तिजमा समेत राम्रो व्यवसाय गर्न नसकेका झापाली व्यवसायीले सोह्रश्राद्ध शुरु भएपछि पनि दशैको व्यापार नभएको व्यवसायीको गुनासो छ । तर, सीमावर्ती भारतीय बजारमा भने नेपालीको भरिभराउ देख्न सकिन्छ । यहाँका अधिकांश नागरिक दशैंको सामग्री खरिदका लागि नजिकैको सीमवर्ती बजार पानीट्याङ्की, नक्सलवाडी, गलगलिया, दिघलबैंक लगायत जाने गरेका छन् भने केही शिलगढीसम्म पुग्ने गरेका छन् । बिगतका वर्षमा भन्दा यस आएको आर्थिकमन्दीका कारण बजारमा आर्थिक कारोबार घटेको व्यापारीहरुको भनाइ छ ।

दुई पैसा सस्तोमा सामान पाइने भन्दै झापा, इलाम र मोरङका बासिन्दाले किनमेलका लागि भारतीय बजार नै रोज्ने गरेका छन् । यस समयमा भारतमा उत्पादित खाद्यान्न, लत्ताकपडासहित दैनिक उपभोग्य सामग्री नेपाल अत्यधिक भित्रिने गरेको छ । झापाका मुख्य बजारहरु बिर्तामोड, धुलाबारी, दमक, सुरुङ्गा, शिवसताक्षी, भद्रपुर र काँकरभिट्टाका अहिले प्रायः सुनसान छन् । तर, भारतीय बजार खचाखच हुने गरेका छन् ।

नेपालीले भारतीय बजारमा खरिद गरेको सामग्री नेपाल प्रवेश गराउँदा भारतीय प्रहरीले अवरोध गर्ने गरेपनि नेपालीको रोजाई भारतीय बजारमा नै पर्ने गरेको छ । चाडवाडका समयमा वर्षभरि विक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने भारतीय व्यवसायीको क्रियाकलापले सीमापारिका बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण रहेको बताइएको छ ।

नेपालतिरको तुलनामा सीमावर्ती बजारमा सामान निक्कै सस्तो पाइने भएकाले पनि अधिकांश त्यहीँ पुग्दछन् । पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा पनि कमी आएको अर्थमन्त्रालयको प्रक्षेपणले जनाएको छ ।
कृषिजन्य वस्तुमा आएको आर्थिक गिरावटका कारण त्यसको प्रत्यक्ष असर बजारमा परेको व्यापारीहरुको भनाइ छ । बजारमा आर्थिक मन्दी भएपछि साविक मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दशैंको समयमा पनि कारोबार १० प्रतिशत नबढेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।

भारतीय व्यापारीलाई भ्याइनभ्याइ

भारतको पानीट्याङ्की झापालीका लागि प्रमुख बजार भएको छ । झापाका बजारमा भन्दा भारतको पानीट्याङ्कीमा घरायसी सामग्री सस्तो पाइने भएकाले झापाली उपभोक्ता पानीट्याङ्कीमा केन्द्रीत बनेका हुन् । जसको प्रत्यक्ष असर झापाका स्थानीय बजारमा परेको छ ।

चाडवाडको समयमा पनि सोचे अनुसारको व्यापार नभएपछि अहिले झापाली व्यवसायी चिन्तित बनेका छन् । तर, भारतीय बजार पानीट्याङ्कीमा भने नेपाली उपभोक्ताको घुइँचो नै लाग्ने गरेको छ । जसका कारण त्यहाँका व्यापारीलाई अहिले सामान बेच्न भ्याइ–नभ्याई छ ।

खुल्ला सीमाना र सहज रुपमै भारतीय वजारबाट सामग्री आयात गर्न सकिने भएकाले नेपाली उपभोक्ता सामान खरिदका लागि भारत केन्द्रीत भएका हुन् ।

सटहीमा मालामाल

भारतीय बजारमा सामग्री खरिदका लागि कतिपयले यतै भारतीय रुपैयाँ साटेर लाने गरेका छन् ।
तर, कतिपयले भारतीय बजारमा नेपाली रुपैयाँ दिएर सामग्री खरिद गर्छन् । भारतमा भारु साट्दा ठगिने डरले काँकरभिट्टामा खुलेका सटही काउण्टरमा भारतीय रुपैयाँ साट्दा सटही काउण्टरमा कारोवार बढेको हो ।

जसका कारण उनीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ । सटही काउण्टरले आफू खुशी सटही मूल्य लिँदा भारतीय रुपैयाँ सटही गर्ने प्रत्यक्ष मारमा पर्ने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here