मेरो गाडीको रफ्तार ४०/५० प्रती किलोमिटर थियो । आफ्नै धुनमा चलाउँदै गर्दा अगाडि–पछाडी, दायाँ–बायाँ सबैतर्फ हेर्दै सचेत बनी म आफ्नो गन्तव्य तर्फ अगाडि बढ्दै थिएँ । घ्याच्च बिस्तारै ब्रेक लाउँदै म आफ्नो रफ्तार स्लो गर्न पुगेँ । अर्को साइडबाट आइरहेका सवारीसाधनको लामो लर्को थियो । मेरो अगाडि भने दुईवटा बाइक साथमा अलिक कम स्पीडमा दौडिरहेका थिए । उनीहरु एकआपसमा गफ गर्दै सुस्तरी मजा लिएर हिँड्दै थिए ।
पिप पिप…पिप पिप…पि….प…..एउटा राईडर र उसको पछाडि बस्ने साथी साइड नगरी मलाई मुन्टो पछाडि घुमाउँदै हेर्न थाल्यो । ऊ केही बोलिरहेको थिएन । तर, उसको आँखा ठूला–ठूला पारी हेरेकोले रिसाउँदै आँखा तरेको म प्रष्ट महशुस गर्न सक्थे । ‘ओई आँखा तर्छस ?’ मेरो मनभित्रको क्रोध हो यो । म उसलाई न चिन्दछु न जान्दछु । तर, उसको हेराई मलाई मन परेको थिएन ।
(पिप… पिप…) म गाडिको हर्न बजाउँदै उसलाई अगाडि जाने अनुमति माग्छु । अहो कस्तो नसुनेको होला । ऊ त मलाई ठूलो आँखा तर्दै हेर्छ । अटेरी त्यो मान्छे मलाई दाहिने हातले इशारा दिँदै अघि बढ्न जनाउ दिन्छ । म पनि पास लाइट देखाउँदै अगाडि बढछु । ऊ हाइवेको बीचमा बाइक कुदाउँदै थियो । उसको छेउमा अर्को साथी पनि बाइक कुदाउँदै गफ गर्दै थियो । यी दुईलाई गफ गर्न मन भए घरमा गर्नु नि कि रोकेर चिया पसलमा गफ गर्नुनी कस्तो अमर्यादित काम गरेका दुर्घटना हुन सक्छ भन्ने कस्तो नसोचेका ? म आफ्नो स्पीड समाउँदै रफ्तारमा अघि बढे ।
बजार एरिया आईपुगेको थियो । म आफ्नो स्पीड स्लो गर्दै बिस्तारै पैदलयात्री एवम् सवारीसाधनलाई ग्याप राखेर अघि बढ्दो भए । व्यस्त बजारमा सिटिसफारी र टेम्पोको भिडले सवारी पहिला जस्तो सहज कुदाउन कहाँ पाइन्छ र ? घ्याच्च–घ्याच्च ब्रेक लगाउँदै करिब दश–बाह्रको स्पीडमा म जोगाउँदै अघि बढ्दै थिए । यत्तिकैमा मेरो अगाडिको एउटा टेम्पो पुरै यु–टर्न लियो । म होसियार हुँदै क्लज र ब्रेक लगाउँदै गाडी झ्याप्पै रोकेँ । सीसा तल झार्दै म टेम्पो ड्राइभरलाई सम्झाउँदो भए– ‘ओ भाइ के हो कुदाउन आउदैन ? झन्डै एक्सिडेन्ट भएन अहिले । राम्ररी कुदाउन सक्दैनौं ?’ ऊ फनफनिँदै रिसाएर मलाई तर्क दिँदै भन्यो– ‘के हो ग्याप राखेर कुदाउन सक्नुहुन्न ? बजार एरिया यस्तै त हुन्छ नि । सिकाउनुपर्छ मैले ?’
‘ए भाइ लाइसेन्स गाडी घुमाउँदै मात्र पाउँछौं क्या हो ? लुकिङ्ग ग्लास नि छैन तिम्रो राख्नु नि दुर्घटना हुन किन दिन खोज्छौ तिमी ?’ म झर्को मान्दै उसलाई सम्झाउँदै थिए । ऊ त ठूला आँखा पारेर हेर्दै मलाई भन्यो– ‘भाषण नदिनुस् हाम्रो संघ छ । उसलाई कुदाउन आउँदैन अनि मलाई भन्छ ।’ ऊ अझै ‘पछाडि गाडीको लाइन लागीसक्यो अगाडि बढ्नु छैन फुर्ती लगाउँछ ।’ भन्दै टेम्पोको एस्किलेटर बढायो । ‘ओई आँखा तर्छस् राम्रोभन्दा ।’ म यति भनेर गियर बढाउँदै अघि बढेँ ।
अहिलेको समयमा सडक दुर्घटना असाध्यै धेरै हुने गरेको छ । सवारीसाधन चेतना तथा सडक जनचेतनामा मानिसहरुको साक्षात्कार नहँुदा यस्ता समस्या बारम्बार आइरहन्छन् । म पनि एक चालक हुँ । अरुले भन्ने गर्छन् । गाडी चालकले असावधानी अपनाउँदा सडक दुर्घटना हुने गरेको छ, तर म भन्छु एक पटक चालक सिटमा बसेर हेर्नुस कति अफ्ट्यारो छ भनेर । गाडी मात्र होइन बाइकदेखि लिएर सबै सवारीसाधनमा उत्तिकै अफ्ट्यारा छन् । हुन त चालक पनि अनुशासनमा नबस्दा दुर्घटना बढेको घटना त ज्यादा धेरै छ । तर, यहाँ चालक को दृष्टिकोणबाट अहिले म कुरा गरिरहेको छु । सावधान त सबै जना हुन जरुरी छ ।
बजारमा किनमेल गर्न एकछिन गाडी पार्क गरेँ । किनमेल सकेर फर्किदा अर्को गाडी मेरो गाडीसँग टसाएर राख्न खोजिएको रहेछ । मैले तुरुन्त निकाल्न पाइन । म केहीबेर होल्ड गर्न पुगेँ । खुल्ला पार्किङ्गमा त्यो कसको कार हो मैले पत्ता लाउन सकिनँ । अगाडि बढाउन ठाउँ छैन पछाडि बढाउन खोज्दा ठोकिने निश्चित देखियो । संयमित हुँदै ४५ मिनेट पर्खदा बल्ल सवारी धनी आए । मैले संयमित हुँदै अनुरोध गरे– ‘सर हजुरले कार पार्क गर्दा अलिक साइड मिलाएर राख्नुभएको भए हुने नि, हेर्नुस न मेरो ४५ मिनेट खेर गयो ।’
ऊ ठूलो स्वरमा भन्न थाल्यो– ‘बजार भनेको यस्तै त हो नि सर । आफू छिटो निस्किनुपर्ने हँुदा ख्याल गर्नु पर्दैन ? त्यही किन राख्नुपर्ने तपाईले ?’ म उसको क्रोधको बोली र आँखाको हेराई स्पष्ट बुझ्न सकिरहेको थिएँ । मलाई भन्न मन लाग्यो ‘ओई आँखा तर्छस् ?’ तर, भनेर विवाद गर्नुभन्दा शान्त बस्न त्यस समयमा उचित देखँे । ऊ गएपछि म आफ्नो बाटो लागेँ ।
म गाडी भर्खरै स्टार्ट मात्र गरेर थोरै अगाडि बढेको थिए । अगाडि ट्राफिक ज्यादा देखियो अनि पैदलयात्रुहरु सडक काट्न हतार गर्दै थिए । एउटा मेरो गाडिको ठ्याक्कै अगाडि आयो । म उसलाई बचाउन घ्याचक्क ब्रेक दबाएँ । अहो ऊ पनि आतियो र दुई कदम पछाडि स¥यो । उसले मलाई हातले इशारा गर्दै हतार भए अगाडि जानु भन्ने भाव देखायो । एकछिन अगाडि घ्याचक्क ब्रेक मार्दा पक्कै उसको सातो गएको हुनुपर्छ । उसले यमराजलाई झण्डै नजिकबाट नियाल्न पाएन । त्यसैले पनि होला मलाई ठूलो–ठूलो आँखा तर्दै थियो । ऊ यसरी उभिएको थियो कि उसको जिउले मेरो गाडी अगाडि बढ्न ठाउँ दियो, तर उसको खुट्टा माथि गाडीको चक्का चढ्छ कि भन्ने धेरै चिन्ता म मा थियो । बिस्तारै अगाडि एस्किलेटर दबाउँदा म उसलाई मन मनै भन्दो भएँ ‘ओइ आँखा तर्छस् ? बाटो त अलिकति छोड नत्र खुट्टा पिल्सिएला ।’
के हजुरले याद गर्नु भएको छ ? बाटो क्रस गर्दा आजकल नयाँ तरिका अपनाएका छन पैदलयात्रीहरुले । उनीहरु पहिला सडकको बीच भागमा आउने अनि सवारीसाधनको साइज हेर्दै सोही अनुरुप शरीरको आकार परिवर्तन गर्ने अनि सवारीलाई पास हुन दिने गर्छन् । शरीरको आकार भन्नाले पोस्चर वा भनौं उभिने तरिका । बाइक आउदा साइड दिँदैनन्, तर टक्क छेउमा उभिन्छन् अनि बाइकको ऐनाले भुँडी छुन्छ कि जस्तै गरेर एकछिन सास बन्द गर्दै भुँडीभित्र पार्छन् । विशाल भुँडीभित्र नतमस्तक बनी पस्छ, लाग्छ कसैले चाहेर फुलेको बेलुन खुम्चाए झैं । त्यति भएपछि ऐनामा भुँडी नठोकिँदोरहेछ र बाइक सजिलै पास हुँदा रहेछन् । कहिलेकाहीँ कसैको भुँडीमा छ्यास्स लाग्यो भने उनीहरु ठूलो आँखा पार्दै कराएको लुकिन्ङ्ग ग्लासनमा स्पष्ट देखिन्छ ।
म केही समय एक सोचमा मग्न हुन्छु अनि सम्झन्छु– ‘यमराजले छिट्टै यसरी नै आँखा नतरुन् ।’ घर आएर बजार जानुपर्ने भयो फेरि एकजना साथीले काम छ भनेपछि म उसको बाइकमा बजार जान तयार भए । ऊ मलाई कुदाउन आग्रह गर्दै थियो, तर म उसको आग्रह अस्वीकार गरी पछाडि बस्ने निर्णय गरेँ । यत्तिकैमा मोहन देखियो अर्को बाइकमा हाम्रो अघि अघि । मेरो चालक साथी– ‘ऊ मोहन यही रहेछ’ भन्दै एक्सिलेटर दबायो । हामी अलिक हुत्तिदै अगाडि बढ्यौं । झ्याप्प ब्रेक मार्दै साथीले बाइकको स्पिड कम ग¥यो । यत्तिकैमा पछाडिबाट गाडीको जोड आवाज आयो पिप… पिप…पिप…पिप…।
म र साथी यस्तो खुल्ला बाटोमा कसले हामीलाई इरिटेट गरेको भन्दै रिसले पछाडि फर्की हे¥यौं । ड्राइभर ठूला–ठूला आँखा तर्दै हामीलाई हेर्दै थियो । उसको गाडी अगाडि बढ्यो अनि मैले भने– ‘पख्लास् । कति हतार गरेको । यमराजले आँखा तर्लान् ।’