सद्भावको पर्खाइमा गोलोक गौशाला

0
317

झापाको धार्मिक महत्वको स्थान हो– सतासीधाम । त्यसकै नामबाट स्थानीय तहको नामकरण भई शिवसताक्षी नगरपालिका बनेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तरमा चुरे पर्वतको काखमा अवस्थित सतासीधाम ऐतिहासिक, धार्मिक पौराणिक एवम् पर्यटकीय महत्व बोकेको झापाको गौरवका रुपमा सुपरिचित छ । भौतिक विकासका दृष्टिले पछि परेको सो ठाउँ पूर्वाधारहरुको निर्माण सम्पन्नताले अहिले सुगम भएको छ भने जिल्लाकै मुख्य आकर्षण र गन्तव्यको विकासमा पण्डित नन्दकिशोर भारद्वाजको अतुलनीय योगदान रहेको धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताएका छन् । द्वापर युगमा पाण्डवहरुले वनबास र गुप्तबास बसेको सोही ठाउँमा पाण्डवले सताक्षी देवीको आराधना गरेको किंवदन्ती रहेको र उनै देवीको कृपाबाट अश्रु वर्षा भई नदी उत्पत्ति भई बगेको जनविश्वास छ ।

सतासीधामका सम्बन्धमा अर्को भनाइ पनि त्यत्तिकै सान्दर्भिक छ । भारत आसामको तेजपुरबाट कुनै किराती राजाले आफ्ना गुरुहरु सतासी जना ऋषिलाई लिएर त्यही ठाउँमा बसेर देवीको ध्यान र तपस्या गरेका थिए । सतासी जना ऋषिले तपस्या गरेको ठाउँ नै सतासीधाम रहन गएको तर्क र मान्यताले पनि ओझेलमा परेको यो धाम आज प्रमुख तीर्थस्थलका रुपमा रहेको छ । पछिल्लो समय स्थानीय सरकार गठन भएपछि धामस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति हुन थालेपछि यसको महत्व झनै उज्यालिएको छ । धाममा पण्डित नन्दकिशोरको आगमन, बसाइ, समन्वय र अग्रसरताले भौतिक संरचना निर्माणसँगै गोलोक गोवद्र्धन गौशाला सञ्चालनमा ल्याइएको छ । गौमाता र तिनका सन्तानको संरक्षण गर्ने उद्देश्यले स्थापित गौशाला झापाकै ठूलो गौशाला हो जहाँ छ सय पचास वटा गाई रहेका छन् ।

गौशालामा स्थानीयदेखि उन्नत गरी पचहत्तर जातका बीऊ गोरु र गाई रहेका छन् । गौमाताको संरक्षण गर्ने उद्देश्यले सञ्चालित गौशालामा भारतबाट उन्नत जातका गोवंश ल्याएर संरक्षण गरिएको छ । शुरुमा गाउँ–गाउँ पुगेर गाईलाई मार्न दिनुहुँदैन, बेच्नु हुँदैन, काम लागेन बूढा भए भने हामी संरक्षण गर्छाैं भन्दै गौशाला सञ्चालन गरेको संरक्षक भारद्वाजले बताएका छन् । हाल गौशालामा भएका लैनो गाई मध्ये एक हजार छ सय वटा समुदायलाई हस्तान्तरण गरिएको गौशाला समितिले जनाएको छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार जन्मदेखि मृत्युपर्यन्त उपयोगी गाईको वैज्ञानिक एवम् धार्मिक महत्व त्यत्तिकै छ । त्यसै अनुसार घीऊ गौमुत्र, गोबर समेत बिक्री गरेर धाम समितिले गौशालाको आवश्यकता समेत पूरा गर्दै आएको छ । धर्म, अर्थ, काम र मोक्षको सांसारिक चाहना र आवश्यकताको परिपूर्तिमा सहायक गौशाला एवम् सतासीधाम पूर्वी नेपालकै गौरव हो । त्यसैले यसको समुचित विकासमा दाता, सहयोगी, स्थानीयबासी मात्र होइन स्थानीय, प्रदेश तथा संघीय सरकारको पनि उदार सहयोग, सद्भाव र सेवाको खाँचो छ । यसले आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढाउँदै यसको धार्मिक तथा सांस्कृतिक महत्व पनि बढाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here