प्रतिस्पर्धी निश्चित, जित अनिश्चित

0
493

झापा ।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला २०४८ सालयता संसदीय राजनीतिमा सक्रिय छन् । उनले यो अवधिमा एक उपनिर्वाचनसहित ७ वटा निर्बाचनमा प्रतिस्पर्धा गरेका छन् । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्बाचनमा उनी यसपटक पनि झापा क्षेत्र नम्वर ३ बाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्दैछन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनसँग उनी पराजीत बनेका थिए । यसपटक पनि सिटौलाको भेट उनै नेता लिङ्देनसँग हुने पक्का छ । किनकि राप्रपा अध्यक्ष समेत रहेका नेता लिङ्देन यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धाका लागि मैदानमा छन् ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा लिङ्देनलाई पराजित गर्दै सिटौला निर्वाचित भएका थिए । त्यसको बदला २०७४ सालमा भएको संसदीय निर्वाचनमा लिङ्देनले वाम गठबन्धनसँग चुनावी एकता गर्दै लिए र सिटौलालाई पराजीत गरे ।

यसपटक फेरि कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेसले संसदीय निर्वाचनका लागि सिटौलाको एक मात्र नाम सिफारिस गरेको छ भने राप्रपाले पनि लिङ्देनको एकल नाम सिफारिस गरेको छ ।

यो निर्वाचनमा कूल मतदाता संख्या एक लाख ३१ हजार ३ सय ९६ रहेको छ । झापा क्षेत्र नं. ३को १मा पुरुष मतदाताको संख्या ३३ हजार सात सय ८२, महिला मतदाताको संख्या ३३ हजार चार सय ६६ गरी ६७ हजार दुई सय ४८ रहेका छन् । यो क्षेत्रमा ३६ मतदानस्थल र ८० मतदान केन्द्र रहेका छन् ।

यता ३को २मा ३२ हजार दुई सय ७९ पुरुष र ३१ हजार ९ सय ५ महिला गरी ६४ हजार एक सय ८४ मतदाता यो निर्वाचन क्षेत्रमा छन् । ३१ वटा मतदानस्थल रहेको यो क्षेत्रमा ७५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनको मिति नजिकिएसँगै नेताको घर दैलो समेत बाक्लिएको छ । अहिले नेता सिटौला र लिङ्देन झापा क्षेत्र नम्वर ३का विभिन्न कार्यक्रममा सहभागी हुँदै चुनावी माहोल बनाइरहेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी एमालेले यो क्षेत्रका लागि दुर्गा प्रसाईसहितका व्यक्तिको नाम सिफारिस गरेको छ । वाम गठबन्धनको सहयोगमा अघिल्लो निर्वाचनमा निर्वाचित लिङ्देनले यसपटक पनि एमालेको साथ लिने रणनीति तयार गरेका छन् । जसका कारण सिटौलालाई हराउन सहज हुने र आफू निर्वाचित हुने योजनाका साथ उनी चुनावी तालमेलका लागि भरपूर प्रयास गरिरहेका छन् ।

एमाले र राप्रपाबीच यसपटक पनि यदि चुनावी तालमेल भएको खण्डमा सिटौलालाई निर्वाचन जित्न गाह्रो पर्ने विश्लेषण गरिँदै आएको छ । तर, एमाले, कांग्रेस र राप्रपा एक्लै–एक्लै चुनावी मैदानमा उत्रिए सिटौलाको जित निश्चित रहेको त्यस क्षेत्रका राजनीतिकर्मी तथा सामाजिक अगुवाहरुले बताउने गरेका छन् ।

चुनावी तालमेल गर्दै यसपटक पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन अघि बढेको खण्डमा सिटौलाका लागि यसपटकको निर्वाचन पनि फलदायी नहुने बताइन्छ । राजनीतिमा चतुर खेलाडीका रुपमा कहलिएका सिटौला सत्ता गठबन्धनको चुनावी तालमेलको निर्णय, एमाले र राप्रपाबीचको सम्भावित समीकरण लगायत राजनीतिक दृश्यलाई नियालिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा सिटौलाको उचाइ ०६२÷०६३ को जनआन्दोलपछि माओवादीलाई शान्ति प्रक्रियामा प्रवेश गराउने भूमिकाबाट शुरु भएको थियो । लामो समयदेखि संसदीय राजनीतिमा भाग लिएका नेता सिटौला ०४८, ०५१, ०६४ र ०७४मा पराजित भएका थिए । ०४८ सालमा भएको निर्वाचनमा एमालेका द्रोणप्रसाद आचार्यले सिटौलालाई पराजित गरेका थिए । नेता सिटौलालाई चुनाव हराएर सांसद बनेका एमालेका नेता आचार्यको निधनपछि ०५०मा भएको उपनिर्वाचनमा पहिलोपटक चुनाव जितेका थिए । त्यसबेलादेखि नै सिटौलाको संसदीय राजनीतिक यात्रा शुरु भएको हो ।

त्यसपछि नेता सिटौलाले २०५६ साल र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए । २०५१ सालको संसदीय निर्वाचनमा एमालेका नेता पुष्पराज पोखरेलसँग सिटौला पराजित भएका थिए । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका नारायण राजवंशीलाई पराजित गर्दै सिटौला यस क्षेत्रबाट निर्वाचित भई संसदमा पुगेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग सिटौला फेरि पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका लिङ्देनलाई पराजित गर्दै सिटौला निर्वाचित भएका थिए । २०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिटौलालाई पराजित गर्दै राप्रपाका लिङ्देन पहिलोपटक निर्वाचित भएका थिए ।

२०७४मा झापा ३मा कूल मतदाता संख्या १ लाख १४ हजार ८६ थियो । त्यतिबेला लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएर सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याएका थिए । सिटौला १३ हजार ४ सय ४३ मतले पछि परेका थिए ।

झापा ३मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन् । जसमध्ये ०७९ को स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ । यसअघिको स्थानीय तहमा हल्दिबारी, कचनकवल गाउँपालिका राप्रपाले र बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो ।

२०७९ को स्थानीय तहमा कांग्रेसले पाएको कूल मत २६ हजार ५ सय ९९ छ । अघिल्लो स्थानीय तहमा कांग्रेसले पाएको मत २० हजार २२ थियो । यसपटक कांग्रेसको करिब ६ हजार मत बढेको देखिन्छ । कतिपय वडामा गठबन्धनको मत कांग्रेसको मतमा जोडिएको छ भने केही वडामा कांग्रेसको मत पनि माओवादीतिर गएको छ । झापा ३मा बिर्तामोड नगरपालिकाको वडा न १०, भद्रपुर नगरपालिकाको वडा नं. १देखि ८, कचनकवल गाउँपालिका, हल्दिवारी गाउँपालिका र बाह्रदशी गाउँपालिकाको भूगोल पर्छ । भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ ।

यस क्षेत्रमा रहेका कूल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडामा जित हासिल गरेको छ । एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडामा जित हासिल गरेको छ । माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

राप्रपाले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष र भद्रपुर नगरपालिकामा उपमेयर जितेको छ । एमालेले कचनकवलमा उपाध्यक्ष र बाह्रदशीमा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको वडागत मतलाई आधार मान्दा नेपाली कांग्रेस झापा ३मा सबैभन्दा बलियो शक्तिका रुपमा दरिएको छ । कांग्रेससँग २५ हजार ९४९ मत छ भने दोस्रो शक्ति राप्रपासँग २१ हजार १ सय ५९ मत रहेको छ । एमाले २१ हजार ८५ र माओवादीले ६ हजार २ सय ४७ मत पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here