मोती पत्रकारिता पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपैयाँ र कोष पाँच लाख पुर्याइने

0
165

बिर्तामोड ।

नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याइने भएको छ ।

महासंघ झापाको हालै बिर्तामोडमा सम्पन्न साधाराणसभाले उक्त पुरस्कारको राशी वृद्धि गर्ने र अक्षयकोषको रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ ।

एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । कोषको ब्याजले पुरस्कारको राशी नधान्ने अवस्था आएपछि महासंघको वर्तमान नेतृत्वले अक्षयकोष वृद्धिमा जोड दिदै सो प्रस्ताव साधाराणसभामा पेश गरेको हो । सचिव डिकेश लामाले पेश गरेको सो सम्वन्धी प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ ।

महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ ।

त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी रु. २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ । रु.२५ हजार पाँच सय ५५ राशीको सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।

मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाली पत्रकारिताको शुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासंघको अधिवेशनमा प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासंघले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । पुरस्कारको राशी शुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले वि.स. १९४३देखि नेपाली पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो । उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो ।

मोतीरामकै सक्रियतामा वि.सं. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’ को प्रकाशन शुरु भयो । ‘सुधासागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रिकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो । मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल, डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।

‘केटो’ पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासंघको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । ‘केटो’ २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको झापाको पहिलो पत्रिका हो । मासिक रुपमा प्रकाशित भएको यो पत्रिका मेची अञ्चलकै जेठो मानिन्छ । श्यामकृष्ण उपाध्याय उक्त पत्रिकाको सम्पादक थिए ।

महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कार पहिलोपटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण शुरु भएको हो ।

शुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशी पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो । पुरस्कारबाट पत्रकारहरु गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुंगाना पुरस्कृत भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here