झापामा सुरक्षा सतर्कता उच्च

0
120

झापा ।

मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइएको हो । कारागारका कैदीबन्दी र कर्मचारीका लागि चन्द्रगढीमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जिल्लाका २ सय ८५ वटा मतदानस्थलमा रहेका ७ सय ६८ मतदान केन्द्रमा सुरक्षा व्यवस्था उच्च बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

निर्वाचनको तयारीका विषयमा पालिका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधिहरुसँगको छलफलपछि निर्वाचनलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जिल्लामा रहेका मतदानस्थललाई तीन भागमा वर्गीकरण गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सामान्य ४६, संवेदनशील १४४ र ९५ वटा अति संवेदनशील मतदान केन्द्र रहेका छन् ।

मतदान केन्द्रको सुरक्षासहित निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरीका दुई हजार ८२ जना र म्यादी प्रहरी तीन हजार ४ सय ६२ जना परिचालन गरिएको छ । त्यस्तै थप सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरिएको बताइएको छ । निर्वाचन अवधिभरि सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीका थप आठ जना प्रहरी नायव उपरीक्षक परिचालन गरिएको बताइएको छ । योसँगै झापामा प्रहरी नायव उपरीक्षकको संख्या १२ पुगेको छ ।

यता निर्वाचनका लागि छ हजार २ सय २८ र दुई वटा अस्थायी मतदान केन्द्रका लागि छ जना गरी छ हजार एक सय ३४ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय झापाका सूचना अधिकारी वीरेन्द्र बस्नेतले जानकारी दिए । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा सदस्यका लागि ९४ जना र प्रदेशसभा सदस्य पदका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनपछि झापामा झण्डै १३ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्क अनुसार झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ३ लाख ३१ हजार ४४, रहेको छ भने महिला मतदाताको संख्या ३ लाख ३२ हजार २ सय ५९ र अन्य ८ जना मतदाता रहेका छन् । राजनीतिक नेतृत्वको शीर्ष नेताको जिल्ला भएका कारण पनि झापामा सुरक्षा व्यवस्था उच्च बनाइएको छ ।

झापा क्षेत्र नम्वर १बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबीच प्रतिष्पर्धा हुन लागेको हो । त्यस्तै झापा २मा गठबन्धनका उम्मेदवार हरिकुमार राना र एमाले नेता देवराज घिमिरेबीचमा प्रतिष्पर्धा हुँदैछ ।

झापा क्षेत्र नम्वर ३मा भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिपर्धा हुँदैछ । झापा ४मा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे र एमाले नेता एलपी साँवा लिम्बूको प्रतिष्पर्धा रहने छ ।

यता झापा झापा ५मा गठबन्धनका तर्फबाट खगेन्द्र पाण्डव अधिकारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिष्पर्धा हुँदैछ । झापामा स्वतन्त्र सहित अन्य साना दलको समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि प्रतिस्पर्धा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here