जिल्ला प्रशासनमा लैंगिक हिंसाबिरुद्ध छलफल

0
350

बिर्तामोड ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाउने सम्बन्धमा अन्तरक्रिया र छलफल सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिससका प्रमुख विश्वमणि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुले लैंगिक हिंसा न्यूनीकरण गर्न पीडितलाई न्यायका लागि सम्बन्धित निकायसम्म पु¥याउन सरोकारवालाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै हिंसा प्रभावितहरुलाई आय आर्जनको व्यवस्था गरिनुपर्ने, हिंसाबिरुद्ध बोल्नेलाई प्रोत्साहित गरिनुपर्ने, हिंसा बिरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने, हिंसा न्यूनीकरणका लागि टोल विकास संस्था परिचालन गरिनुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त पाठकले कतिपय झुठा मुद्दा भन्ने थाहा हुँदाहुँदै संघ–संस्थाको दबाबमा दर्ता गर्न प्रहरीलाई बाध्य पारिने हुँदा यस क्षेत्रमा क्रियाशील संघ–संस्थाहरुलाई यस्ता विषयमा संवेदनशील भइदिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले प्रत्येक वर्ष नोभेम्बर २५देखि १० डिसेम्बरसम्म सञ्चालन हुने हिंसाबिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सम्बन्धित निकाय वा संस्थाहरुलाई निर्देशन दिए ।

त्यसैगरी जिसस प्रमुख बरालले आफूले पनि जिल्लाभित्र रहेका अभियानसंग सम्बन्धित कार्यक्रमहरुलाई अनुगमन तथा निरीक्षण गर्ने बताउँदै कार्यक्रमलाई प्रभावकारी ढंगबाट सम्पन्न गर्न सबै पालिका र संघ–संस्थालाई अनुरोध गर्ने बताए ।

कार्यक्रममा प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाराकोटी, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत झापाका विभिन्न पालिकाका सम्बन्धित क्षेत्रका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुखहरु, सरकारी वकिल कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here