भ्रष्टाचारबिरुद्धको दिवस

0
163

भ्रष्टाचार आज विश्वको साझा समस्या हो । यो सामाजिक चुनौति पनि हो, जसले आर्थिक, राजनीतिक र वैचारिक क्षेत्रमा समेत नकारात्मक असर पु¥याइरहेको छ । धन, सुख र ऐश्वर्य कमाउने लालसाले मानिसलाई नैतिकहीन र गैरकानूनी काम गर्न उत्प्रेरित गरिरहेको छ । यही मानसिकता व्यापक हुँदै जाँदा आज भ्रष्टाचारले आर्थिक विकासलाई मात्र होइन शासन व्यवस्थालाई पनि कमजोर पार्दैछ । धन कमाउने लोभमा निजामति सेवाका कर्मचारी मात्र होइन सबै राष्ट्रसेवक कर्मचारीदेखि ठूला राजनीतिक दल तथा नेताहरु पनि भ्रष्ट हुँदै गएका छन् । शासन व्यवस्था अपारदर्शी, अनुत्तरदायी बनिँदा कुशासन बलियो हुँदै गएको छ । निर्वाचित जनप्रतिनिधिहरु नै राज्यकोषको दुरुपयोग गर्दै आ–आफ्नो सेवासुविधा बढाउने होडमा लाग्दा जनतामा राजनीतिक प्रणालीप्रति वितृष्णा बढेर गएको छ ।

भ्रष्टाचारले राजनीतिप्रति नै अनाकर्षण बढाउँदै लग्यो भने प्रजातन्त्रको आधारशिला नै कमजोर हुन्छ । त्यही भएर हाम्रो संविधान २०७२ को भाग २१ को धारा २३८ को व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरिएको छ । जसले संविधान विपरीत कार्य गर्ने, अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको उजुरी परेमा अनुसन्धान गरी सत्य निरुपण गर्ने काम गर्छ । कानूनी व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले पदको दुरुपयोग गरे–नगरेको छानविन तथा अनुसन्धान गरी दोषी पाइए तत्काल कानूनी उपचार गर्दा आममानिसमा आयोगप्रति विश्वास कायम हुन्छ । तर, हामीकहाँ ‘खाएँ त खाएँ, कसैको बाबुको खाइँन, राज्यको खाएँ’ भन्ने सार्वजनिक पदमा रहेकाहरुको अभिव्यक्तिलाई आयोगले नसुनेको जस्तो गर्ने कु–संस्कार दह्रो हुँदै गएको छ ।

सुशासन भनेको पारदर्शिता हो । सार्वजनिक पद धारण गरेका व्यक्तिले कानून अनुसार गर्ने काम÷कारवाहीको परिणाम नै सुशासन हो । त्यसैले उनीहरुले गर्ने काम छर्लङ्ग हुनुपर्दछ ऐना जस्तै । तर, हामीकहाँ जनप्रतिनिधिहरु नै ‘उन्नाइस वटा थिए, एउटा मर्दा बीस वटा हुन्छ’ भन्ने मानसिकताले ग्रस्त छन् । त्यसकै उदाहरण हुन्, ओम्नी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, बालुवाटार जग्गा काण्ड, लाउडा, धमिजा वा वाइडबडी काण्ड । जतिसुकै भ्रष्टाचार र अपराध गरे पनि राजनीतिक कवचले सुरक्षित गर्ने परिपाटीले हामीकहाँ संवैधानिक अङ्ग नै आलोचित छन् । आज न्यायालय जस्तो स्वतन्त्र र स्वायत्त अङ्ग नै राजनीतिक भागवण्डाको कारण निष्पक्ष रहन नसकेको अवस्था छ । त्यसले भ्रष्टाचारी प्रवृत्तिलाई मलजल गर्छ र नेपालीको सुशासन, भ्रष्टाचारमुक्त, पारदर्शी र लोककल्याणकारी राज्यको आकांक्षा कहिल्यै पूरा हुन दिँदैन । त्यसैले स्वतन्त्र, सभ्य, भ्रष्टाचारमुक्त, पारदर्शी शासन व्यवस्थासहितको मुलुक निर्माण गर्न, आजको भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसले सम्बद्ध पक्षलाई उत्प्रेरित गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here