चिसो बढेसँगै वनभोजको चहलपहल

३ पुष २०७९, आईतवार मा प्रकाशित

लक्ष्मी उप्रेती
मेचीनगर,

जाडो बढेसँगै मेचीनगर आसपाससहित जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा वनभोज (पिकनिक) चहलपहल बढेको छ ।
झापाका पिकनिक स्पटहरुमा वनभोज खाने र रमाउनेहरुको चहल बढ्न थालेको हो । यसकारण ती पिकनिक स्पटहरु पनि धमाधम बुकिङ भइरहेका छन् । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ÷नगर बस्तीमा नयाँ पिढीका युवाहरुमा पिकनिकको चहलपहल बढेको हो ।

मेचीनगरका बाँसबारी सिमसार क्षेत्र, कालिका, थोप्लेविरान सामुदायिक वन, पाताल गंगा, तेलपानी, मागुरमाडी सामुदायिक वन तथा कनकाई नगरपालिकामा रहेको जामनुखाडी, शिवसतासी नगरपालिकामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीयस्थल, भद्रपुर नगरपालिका क्षेत्रमा रहेको किच्चकबध धार्मिक तथा पर्यटकीयस्थल वनभोजका लागि प्रमुख आकर्षणका स्थान हुन् । यी स्थानहरु पिकनिकका लागि स्वदेशी एवम् विदेशीको रोजाइको गन्तव्य रहेका छन् ।

पिकनिकको सिजन शुरु भएसँगै यतिखेर ती स्थान भरिभराउ छन् । यी स्थानमा पिकनिक मात्रै नभएर अरु समयमा पनि धेरै पर्यटकहरुको भीड लाग्ने गर्छ । शान्त र हरियाली वातावरणमा पिकनिकको मजा लिन सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यी ठाउँ पर्ने गरेको झापा मेचीनगर–६ काँकरभिट्टाका कमल गुभाजूको भनाइ छ ।
पिकनिकको तयारीले वन क्षेत्रमा अहिले चहलपहल निकै बढेको छ । पिकनिकको सिजन शुरु भएसँगै पिकनिक आयोजन गर्ने समूहको रोजाइमा वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न थालेपछि अहिले जिल्लाका त्यस्ता स्थलहरुमा चहलपहल ह्वात्तै बढेको हो ।

अधिकांश पिकनिक स्पटमा पिउने र खाना बनाउने पानीको सुविधा, शौचालय तथा विभिन्न प्रकारका जीवजन्तु तथा बालबालिकाहरुका लागि खेल्ने साधन भएकाले पनि पछिल्लो समय स्थानीय स्तरमै रहेका पिकनिक स्पटमा पिकनिक खाने र रमाउनेहरुको संख्या बढ्ने गरेको हो । अन्य दिनको तुलनामा शनिवार भीडभाड हुने गरेको सम्बन्धित क्षेत्रका पदाधिकारीहरुको भनाइ छ । शनिवार सार्वजनिक विदा भएका कारण सरकारीदेखि गैरसरकारी संघ– संस्थाहरु समेत पिकनिकका लागि पुग्ने गरेको झापा काँकरभिट्टाकी राधिका कार्कीले बताइन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यी पर्यटकीय क्षेत्रमा बनेका पिकनिकस्थल केही बर्ष सुनसान थिए । अहिले मंसीर महिना शुरु भएसँगै पुसमा पिकनिक खानेहरुको संख्या बढेको छ । जसका कारण ती स्थलहरुको आम्दानी समेत राम्रो छ । व्यवस्थाका आधारमा पिकनिक स्पटको मूल्य तोकिन्छ । तर, केही पिकनिक स्पटले भने सबैखाले स्पटलाई एउटै दरमा दिने गरेको मेचीनगरको बाँसबारी सामुदायिक सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष तकदिर प्रसाईँले बताए ।

यहाँ पिकनिकसँगै विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने अध्यक्ष प्रसाईँको भनाइ छ । मंसीर महिना शुरु भएपछि यहाँ दिनमा कम्तीमा २५ वटासम्म टोली पिकनिकका लागि आउने गरेको उनको भनाइ छ । जाडो मौसममा पिकनिकसँगै घुम्न मासिक १० हजार पर्यटक आउने यस सामुदायिक सिमसार क्षेत्रमा कोभिड–१९को संक्रमण शुरु भएपछि पर्यटक नआउँदा सुनसानझै बनेको थियो । पर्यटकीयस्थलसँगै यी क्षेत्र आसपासमा खोलिएका ठूल्ठूला होटल रेस्टुरेन्ट समेत सञ्चालनमा आएका छन् ।
जिल्लामा विशेषगरी सामुदायिक वनहरुले २०देखि २ सयसम्म पिकनिकस्थल बनाएका छन् । शुरुमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले पर्या–पर्यटनका क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बनाइएका विभिन्न संरचनासँगै पिकनिकस्थल समेत निर्माण गरेपछि अन्य सामुदायिक वनले पनि पिकनिकस्थल निर्माण गरेका हुन् ।

सिजनमा पिकनिककै लागि आउनेको भीड नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न भ्याइनभ्याइ हुन्छ । आ–आफ्नो समूह बनाएर पिकनिकका लागि मानिसहरु आउने गरेका छन् । खास–खास अवसरमा पिकनिकका लागि यी ठाउँ आम रोजाइमा पर्न थालेपछि मेचीनगर नगरपालिकाले पिकनिकस्थलको योजनाबद्ध विकासका लागि चासो दिन थालेको छ । नगरपालिका क्षेत्रका पिकनिक स्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै स–शुल्क ठाउँ दिने परिपाटी बस्ने र यसले नियमित आम्दानीको स्रोत बन्ने नगरपालिकाले जनाएको छ ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले पिकनिकस्थलको विकास, प्रवद्र्धन र प्रयोगबारे योजनाबद्ध काम थालिएको बताइन् । नगरभित्रका प्रमुख धार्मिकस्थल, पर्यटकीयस्थल र पिकनिकस्थलको पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेको र केही ठाउँमा काम गर्न कानूनी जटिलता पनि रहेकाले यिनको समाधान गर्दै काम बढाउन लागिएको उनको भनाइ छ । पछिल्लो समय ती स्थानमा पिकनिकमात्र होइन धेरैले आ–आफ्नो संस्थाको साधारणसभा, वार्षिकोत्सव, स्थापना दिवस तथा जन्मदिनलगायत अन्य कार्यक्रम पनि आयोजना गर्ने गरेको रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष राजु महर्जनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here