प्रदेश १को नाम ‘लिम्बूवान किरात खम्वुवान’ राख्न माग

0
243

झापा।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको स्वयम्सेवक संगठन संघीय भोलेन्टियर्सले प्रदेश नम्वर १को नाम ‘लिम्बुवान, किराँत खम्वुवान’ राख्न माग गरेको छ ।

विगत लामो समयदेखि पहिचानको आधारमा लिम्बुवानसहितको १०+१ प्रान्त स्थापना गरिनुपर्ने माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको राष्ट्रिय मूल एजेण्डा रहेको बताउँदै भोलेन्टियर्सले सोमवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग अघि सारेको हो ।

प्रदेश १को नाम ‘लिम्बुवान, किरात, खम्वुवान’ राख्न पार्टीले निरन्तर सडकदेखि सदनसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने पार्टीका केन्द्रीय उपाध्यक्ष तथा लिम्बुवान भोलेन्टियर्स कमाण्डर याङसाङ्ग लावतीले बताए । उनले पहिचानको मूल आधार भनेकै भाषा रहेको र याक्थुङ्वा लिम्बू लगायतका अन्य रैथाने भाषालाई लोकसेवासंग आवद्ध गर्न समेत माग गरे ।

हजारौं वर्ष अघिदेखि यहाँका रैथाने याक्थुम्बा (लिम्बू) जातिले आस्थाको धरोहर मान्दै आएको पवित्र भूमि ‘मुकुम्लुङ’ मा आर्थिक उपार्जन र विकासको खोक्रो नारा लिएर केवुलकार सञ्चालन गर्ने तयारी गरेको भन्दै त्यसको समेत विरोध गरे । लिम्बू भाषामा मुकुम्लुङको अर्थ शक्तिको देवता वा पाथीभरा हुन्छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालनको तयारी अघि बढाइएको भन्दै लिम्बुवान भोलेन्टियर्सले त्यसको विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा सरकारी विद्यालयहरुमा गुणस्तरहीन शिक्षा, वेथिति, राजनीतिक चलखेल, हुने गरेको र धेरै सरकारी विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको भन्दै वेथिति अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न माग गरिएको छ ।

पत्रकार सम्मेलनमा सुकुम्वासी तथा भूमिहीनलाई पहिचान गरी निश्चित स्थानमा लालपुर्जा दिई व्यवस्थित गरिनु पर्ने, कृषिजन्य वस्तु वेचविखनमा बिचौलियाको चलखेलका कारण कृषकले उचित मूल्य नपाएकाले कृषि बजारको सरकारले नै व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सारेको छ । त्यस्तै प्राकृतिक वातावरण सन्तुलन राख्न र भू–क्षय रोकथाम गर्न वर्षमा कम्तिमा ५० हजार विरुवा रोप्नुपर्ने माग अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष नगेन राई, केन्द्रीय सिनियर उपकमाण्डर वसन्तराज सुब्बा, प्रान्तीय सचिवालय सदस्य सुमन सम्वाम्फे, केन्द्रीय सिनियर उपकमाण्डर मण्डेम लिम्बू, महिला विभाग अध्यक्ष अनिता थाम्सुहाङ, पार्टीका प्रान्तीय सचिव काजीमान लिम्बू लगायतले पार्टीको भावी कार्यक्रम र आन्दोलनका विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here