अपाङ्गताले छेकेन सन्तोषलाई :घरबाटै लाखौंको व्यापार

0
255

सुरेन्द्र भण्डारी
झापा, बाह्रदशी गाउँपालिका–६ निवासी सन्तोष सुवेदी लिङ्गेपिङ खेल्ने क्रममा लडेर गम्भीर घाइते भए । पिङबाट लडेसँगै उनको मेरुदण्डमा गम्भीर असर प¥यो ।

वडादशैंको समयमा लगाइएको लिङ्गेपिङमा मच्चिँदा २०५६ सालमा उनी पिङबाट लडेर घाइते भएका थिए । पिङबाट लडेपछि उनलाई मेरुदण्डको पक्षघात भयो । लामो समयसम्म उपचार गर्दा पनि उनी साङ्ग सरह हिँड्डुल गर्न नसक्ने भए । अहिले ह्वील चेयरको सहारामा मात्रै सन्तोष हिँड्डुल गर्न सक्छन् ।

गम्भीर घाइते भएका सन्तोषलाई तत्काल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याइएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्था पूर्ण रुपमा ठीक नभएपछि थप उपचारका लागि काठमाडौंस्थित स्पाइनलकड पुनःस्थापना केन्द्र पु¥याइयो । तर, त्यहाँ पनि उनको उपचार पूर्ण रुपमा सफल हुन सकेन । मेरुदण्डमा गम्भीर असर परेका कारण उनी अहिलेपनि साङ्ग सरह हिँड्डुल गर्न सक्दैनन् ।

२०३७ सालमा पिता जयनारायण र माता रनमाया सुवेदीका जेठा पुत्रका रुपमा उनको जन्म भएको थियो । पाँचथरको साविक नागिन गाविस–८मा मध्यम बर्गीय परिवारमा जन्मिएका उनलाई राम्रो शिक्षा दिक्षा दिलाउने सपनासहित उनको परिवारले बसार्इँ सरी झापा ल्याएको थियो । झापाको साविक डाँगीवारी–८मा स्थायी बसोवास गर्दै आएको सुवेदी परिवारमा २०५६ सालको वडादशैंमा पर्नु बज्रपात प¥यो ।

विजयादशमीको हर्षाेल्लास सबैतिर छाइरहेका बेला सुवेदी परिवारमा भने दशै दशा बनेर आयो । जतिवेला सन्तोष १९ वर्षका मात्रै थिए । घर नजिकै लगाइएको लिङ्गे पिङ खेल्न गएका सन्तोष पिङबाट लडेर गम्भीर घाइते भएको दिनको पीडा अझैं पनि आलै छ– उनका वुवा जयनारायणको मनमा । २३ वर्षअघि लिङ्गे पिङ खेल्ने क्रममा पिङबाट लडेर घाइते भएका सन्तोष अहिले पनि शारीरिक रुपमा अशक्त छन् । तर, सन्तोष शारीरिक रुपमा अशक्त भए पनि उनको काम प्रतिको ऊर्जा साङ्गको भन्दा कम छैन ।

शारीरिक अपाङ्गता भएको शरीर लिएर पनि उनले गरेका कर्मका कारण उनको चर्चा अहिले दिनानुदिन समाजमा फैलिरहेको छ भने देश तथा विदेशीमा सन्तोषलाई खोजिरहेका हुन्छन् । अनलाइन व्यापारमा पोख्त रहेका सन्तोष घरमै बसी–बसी लाखौंको कारोवार गर्दैछन् । अनलाइन व्यापार झट्ट सुन्दा सजिलो लागे पनि सन्तोषको कर्म त्यसमा मात्र सीमित छैन । आफैंले ‘ब्ल्याक राइस’ उत्पादन गर्दै खाडीसहित युरोपियन मुलुकमा बिक्री गर्दै आएका सन्तोष त्यस क्षेत्रको सफल कृषक पनि हुन् ।

सुडानबाट ल्याएको कालो मकै, संयुक्त राज्य अमेरिकाबाट ल्याएको कालो आलु र कालो धानको खेतीले सन्तोषलाई अहिले देशी विदेशीले खोजिरहेका हुन्छन् । नयाँ–नयाँ प्रविधि अपनाएर बीऊ उत्पादनमा समेत उत्तिकै पोख्त सन्तोष अनाजसँगै पशु आहारको क्षेत्रमा पनि काम गर्छन् । जसका कारण उनले उत्पादन गरेको बस्तुले देश विदेशमा उनलाई चिनाएको छ नै आफूले उत्पादन गरेको बस्तुको बिक्रीबाट सन्तोषले राम्रो मुनाफा समेत आर्जन गरिरहेका छन् ।

कालो धान आफैंमा औषधीय गुणले भरिपूर्ण रहेकाले यसको माग विश्वबजारमा धेरै रहेको सन्तोषको भनाइ छ । अन्य चामलको तुलनामा यो चामलमा सबैभन्दा धेरै प्रोटिन पाइने र यसमा मानव शरीरका लागि आवश्यक सबै पोषक तत्ब हुने भएकाले पनि यसको माग उच्च रहेको सन्तोषले बताए ।

कालो चामलमा एन्टिअक्सिडेन्ट भरपूर हुने भएकाले वहुउपयोगी मानिँदै आएको सुवेदीको भनाइ छ । खासगरी ‘ब्ल्याक राइस’को माग विश्व बजारमा उच्च भएसँगै आफूले कालो धानको बीऊ उत्पादन गर्दै बिक्री गरिरहेको उनको भनाइ छ । कालो धानको बीऊ अनलाइनमार्फत बिक्री गरेर अहिले घरमै बसिबसी राम्रो कमाई गरिरहेको छु– सन्तोषले भने ।

त्यसो त आफूले कालो धानको बीऊ बिक्रीमार्फत राम्रो कमाइ गर्न थालेसँगै अन्य प्रजातिका बीऊ उत्पादन र बिक्री थालेको हुँ– सन्तोष भने– अहिले पनि कालो आलू र कालो मकैको बीऊ बिक्री हुँदै आएको छ । सन्तोषले गतवर्षबाट मात्रै कालो धानका थप तीन प्रजाति नेपाल भित्र्याएर बीऊ, उत्पादन शुरु गरेका छन् । बर्मेली ब्ल्याक राइस, बी वान र लङ ग्रीन ब्ल्याक राइसको बीऊ उत्पादन शुरु गरेको उनको भनाइ छ ।

पशु आहारका लागि सन्तोषले घाँसको बीऊ समेत उत्पादन गर्दै नेपालका बिभिन्न जिल्लामा बिक्री गर्दै आएका छन् । बिशेष गरी पशु आहारका लागि पोषिलो घाँँस उत्पादनमा आफूले छोटो समयमा उल्लेख्य सफलता हात पारेको उनको दावी छ ।

पशु आहारका लागि मक्का क्रस, बाजुरा क्रस, डीएचएन सिक्स, अस्टे«लियन रेड नेपियर, मुम्वासा, ताइवान जाइन किङ, बंगलादेशी नेपियर जस्ता प्रजातिको घाँसको बीऊ उत्पादन गरेर बिक्री गर्दै आएका सन्तोषले घाँसको बीऊ बेचेर पनि उत्तिकै कमाइ गरिरहेका छन् । उनले उत्पादन गरेको घाँस पश्चिम नेपालका विभिन्न जिल्लामा पुग्ने गरेको बताइएको छ ।

इन्टरनेटको माध्यमबाट घाँसका प्रजातिका विषयमा खोजी गर्दै शुरुमा गहिरो अध्ययन गरेपछि प्रयोगका रुपमा बीऊ मगाएर आफैं खेती गरेँ– उनले भने– आफूले लगाएको उन्नत जातको घाँस राम्रो र पशु आहारका लागि उपयुक्त ठहरिएपछि त्यसकै बीऊ उत्पादन गर्दै व्यापार थालेको हुँ ।

सन्तोषको यो कर्मलाई उनको परिवारले भरपूर साथ दिएको छ । उनका भाइ बुहारी इन्द्र र मीना तथा आमा वुवाले दिएको हौसलाका कारण उनले खुलेर विश्व बजारमा इन्टरनेटकै माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्दै लाखौं रुपैयाँ कमाइ गरिरहेका छन् । उनले उत्पादन गरेको घाँस महेन्द्र नगर, धनगढी, सुर्खेत, बारा, पर्सालगायतका जिल्लामा बढी बिक्री हुने गरेको छ भने कालो आलु, कालो मकै, कालो धान पाकिस्ताान, दुबई, अमेरिकालगायतका देशमा पुग्ने गरेको उनको भनाइ छ ।

बीऊका लागि उत्पादन गरेको घाँस साइलेज प्रविधि अपनाएर भण्डारण गर्दै आफू पनि व्यवसायिक पशु पालन गरिरहेका सन्तोषले अहिले बोयर र रेड बोयर प्रजातिका बाख्रा पालन गरेका छन् । बाख्रा पालनबाट समेत आफूले राम्रो मुनाफा लिने गरेको उनको भनाइ छ । अहिले पनि उन्नत जातका वोयर बोका १३ वटा छन् । प्रत्येक बोकाको मूल्य झण्डै ५० देखि ७० हजार हजार रुपैयाँँ पर्ने उनको भनाइ छ ।

शारीरिक रुपमा अपाङ्गता भएर पनि ब्यवसायमा जमेका सन्तोषलाई यदाकदा क्वारेन्टाइन बाधक बन्ने गरेको छ । आफूले उत्पादन गरेको सामान बिक्री गर्दा र नयाँ–नयाँ प्रजातिका बीऊ आयात गर्दा कहिले काँही क्वारेन्टाइनका कर्मचारीले झञ्झट दिने गरेको उनको दुखेसो छ ।

कृषि, व्यवसाय र पशुपालनमा रमेका सुवेदी फूलको पारखी छन् । सजावटका लागि रोपिएका फूल बिक्री हुन थालेपछि पछिल्लो समय उनले फूलको व्यवसायिक खेतीलाई समेत जोडेका छन् । हरेक सिजनमा पाइने फूलका विरुवा उत्पादन गर्दै अहिले सुवेदीले यो कर्मबाट पनि मनग्य आम्दानी गरिरहेका छन् । सुवेदीको नर्सरीमा अहिले टेरिसबल, कलकत्ते सयपत्री लगायत बिभिन्न प्रजातिका फूलका बेर्ना प्रशस्त छन् । फूलका विरुवा समेत उनी धेरैजसो अनलाइनमार्फत नै बिक्री गर्छन् ।

आदर्श बिद्या मन्दिर घैलाडुब्बाबाट २०६४ सालमा एसएलसीसम्मको अध्ययन पूरा गरेका सुवेदीले त्यस अघिको पढाइलाई निरन्तरता दिन सकेनन् । वरु उनले सामाजिक कर्म र व्यवसायमा आफूलाई जोडे । बाह्रदशी अपाङ्ग अभियानका अध्यक्ष समेत रहेका सुवेदी अपाङ्गता समन्वय समिति बाह्रदशीको सदस्य हुन् भने बाह्रदशी कला साहित्य प्रतिष्ठानका उपाध्यक्ष रहेर उनले विभिन्न सामाजिक र साहित्यिक गतिविधि सञ्चालन गरिरहेका छन् ।

बाह्रदशी गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुका लागि समेत सिपमूलक काममा सहजीकरण गर्दै आएका सुवेदी सबैलाई आय–अर्जनको बाटोमा डो¥याएर सँग–सँगै अघि बढाउन खेलेको भूमिका बाह्रदशी गाउँपालिकाका लागि मात्र नभई देशकै लागि अनुकरणीय रहेको बाह्रदशी कला साहित्य प्रतिष्ठानका अध्यक्ष दयानन्द गोश्वामी बताउँछन् । शारीरिक अपाङ्गता भएर पनि नवीन काम गर्दै दर्बिलो आय–आर्जनको बाटोमा लागेका सन्तोष अरुका लागि समेत प्रेरणा को गतिलो श्रोत बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here