दिवसलाई सार्थक बनाऊ

0
173

संयुक्त राष्ट्रसंघको महासभाले २४ जनवरीको दिनलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन घोषणाको थियो । शिक्षा आधारभूत मावन अधिकार मात्र नभई सार्वजनिक हित र दायित्व पनि हो । यसैलाई आत्मसात गरी संयुक्त राष्ट्रसंघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भुमिकालाई पर्वका रुपमा मनाउन आह्वान गरे अनुरुप प्रत्येक वर्ष २४ जनवरीलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालिएको हो । शिक्षा समग्र विकासको मूल आधार हो यो विश्व समाजले आत्मसात गरेको सत्य हो । त्यसैले शिक्षा सबैको पहुँचमा पु¥याउन, सर्वसुलभ गर्न र समावेशी, समतामूलक तथा गुणस्तरीय शिक्षा प्राप्त गरी पछौटेपन र गरिबीको चक्रलाई तोड्न सबैले अग्रसर हुनुपर्छ । त्यही चेतना सञ्चार गर्दै विद्यालय जानबाट वञ्चित बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार हनन भइरहेको छ ।

आज पनि विश्वमा विद्यालय जाने उमेर समूहका लाखौं बालबालिका निरक्षर छन् । विश्वका धेरै देशहरु गुणस्तरीय, सिपयुक्त, व्यवसायमुखी शिक्षाको माध्यमबाट उन्नत देशमा पुगिसकेका छन् । शिक्षाको त्यही महत्व र अनिवार्यतालाई मनन गरी हाम्रो देशमा पनि शिक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइने गरेको थियो । त्यसै अनुसार कोही पनि बालबालिका कुनै पनि नाममा विद्यालयीय शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले विशेष अभियानहरु सञ्चालन गरिएका थिए । नेपालमा अड्चालीस वर्षअघि अर्थात् वि.सं. २०३१ सालदेखि शिक्षा दिवस मनाउन थालिएको हो । त्यसबीचमा लाखौं विद्यार्थी, तिनका अभिभावक, शिक्षा सम्बद्ध व्यक्ति तथा संस्थाहरुको सर्वाधिक ठूलो उत्सवका रुपमा मान्न थालिएको यो पर्व अहिले औपचारिकतामा सिमित हुन थालेको छ ।

शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल तत्काल प्राप्त गर्न सकिँदैन । त्यसैले शिक्षा क्षेत्रमाथिको लगानी व्यापारिक दृष्टिले होइन सेवा त्यो पनि समाज तथा राष्ट्रिय स्वार्थका लागि गरिनुपर्दछ । शिक्षालाई राजनीतिक दाउपेचको दुष्पक्रबाट मुक्त गर्नुपर्दछ । हामीकहाँ अहिले राजनीतिबाट अछुतो कुनै क्षेत्र नै छैन । अझ शिक्षा, शिक्षालय, शिक्षण संस्था, शिक्षक तथा सम्बद्ध क्षेत्र राजनीतिको अभ्यासको थलो बनिएको छ । यस्तोमा दिवस मात्र मनाएर शिक्षा क्षेत्रमा विद्यमान असंख्यपूर्ण अवस्थाको अन्त्य हुनसक्ने छैन । त्यसैले यो दिवसको सार्थकता खोज्ने हो भने शिक्षालाई राजनीतिबाट तटस्थ राख्नुपर्छ । त्यसका लागि राजनीतिको मूलमा बस्नेहरुको विचार, व्यवहार र मानसिकतामा नै परिवर्तन आउनुपर्छ । अन्यथा यस्ता दिवसको कुनै सान्दर्भिकता रहने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here