दलहरुको च्याँखे दाउ

0
214

नेपालका राजनीतिक दलहरु प्रजातन्त्र पुनस्र्थापना यता दाउमा नबसेर च्याँखे दाउमा मात्र संलग्न भइरहेको देखिएको छ । यो प्रक्रिया २०५१ सालको मध्यावधि निर्वाचनपछि स्पष्ट रुपमा शुरु भए पनि २०७२ सालमा गणतन्त्रको संविधान जारी भएयता तीव्र बन्दै गएको छ ।

एकल बहुमत नआउने प्रबल सम्भावना बोकेको संविधान भएकोले पनि दलहरुले च्याँखे दाउ थाप्ने निहुँ पाएका छन् । तर, प्रमुख दल कांग्रेस र एमालेका शीर्ष नेताहरु पनि दाउ नै लिएर खेल्न सकिने अवस्थालाई पनि पन्छाएर च्याँखे थाप्न बानी परेकाले यसपटक पनि सरकार गठन, सभामुखको निर्वाचन र उपसभामुखको निर्वाचनमा पनि च्याँखे थाप्ने काम भएको छ । च्याँखे थापेर हरेक पटक हार्नेमा यसपटक कांग्रेसका नेताहरु अघि देखिएका छन् भने एमाले भने च्याँखे दाउमा सफल भएको छ । अरु दलहरुमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा पनि च्याँखे दाउमा सफल भएका छन् ।

च्याँखेको अर्थ र महत्व :

जुवा खेल नेपाली समाजमा चिरपरिचित खेल हो । यो पैसाको हारजीतमा सबैभन्दा खतरा खेल पनि हो । नगदमात्र होइन खेतबारी र आप्mनै पत्नी पनि दाउमा राख्ने चलनबाट अहिले आएर जुवा खेलका विभिन्न स्वरुप भएपनि सर्वसाधारण सम्मले जुवा भन्नाले प्राचीनकालदेखि हालसम्म पनि कौडा हानेर खेलिने खेल भन्ने बुझ्ने गर्छन् । जुवामा १६ कौडाको खेल हुन्छ । समुद्रमा पाइने मरेको सानो शंखे किराको खोलबाट कौडा बनाइएको हुन्छ ।

१६ कौडामा चार दाउ भने पनि एउटा दाउको चार वटा हुने भएकोले १६ वटै दाउ हुन्छन् । जुवा खेल्ने ठाउँलाई खाल भनिन्छ । मुख्य गरी चार जनाले एक–एक दाउ लिएर खालमा बस्ने गर्छन् । एक व्यक्तिले चार दाउ पाउँछ । अर्थात् एक्का दाउ लिनेले पञ्जा, नवौं र १३औं दाउ पनि पाउँछ । दुक्की दाउ पाउनेको छक्का, १०औं र १४औं पनि हुन्छ । तिर्की दाउ पाउनेको सातौं, ११औं र १५औं दाउ पनि हुन्छ भने चौका दाउ पाउनेको आठौं, १२औं र १६औं दाउ पनि हुन्छ । दाउ छुट्याउँदा कौडाको चित र पोट दुबै हुन्छ । सुल्टोलाई चित र घोप्टोलाई पोट भनिन्छ ।

ती चार दाउ लिनेको छेउमा दाउ नपाउने र दाउमा नखेल्नेले एक पटकमा कुनै एक दाउमा पैसा राख्न पाउँछ । त्यसरी पैसा राखेर जुवा जित्न खोज्ने कामलाई च्याँखे र व्यक्तिलाई पनि च्याँखे भनिन्छ । कुनै–कुनै खालमा च्याँखेले पैसा जित्छ । खालमा दाउ लिनेले हार्छन् । तर, प्राय गरी च्याँखे हार्छन् । कति च्याँखे एक दुई दाउमा पैसा जिते भने छोडेर भाग्छन् । कहिले च्याँखे हार्दै गएर पैसा सकिएपछि टाट पनि हुन्छन् । जे पनि हुन सक्छ जुवामा । जुवाको खालमा च्याँखेहरु नहुन पनि सक्छन् । तर, च्याँखे छैनन् भने जुवा रमाइलो हुँदैन । त्यसैले च्याँखेको महत्व जुवामा ठूलो छ । तर, नेपालको राजनीति भने च्याँखेका कारण घिन लाग्दो भएको छ । दलका नेताहरु दाउमा बस्नै छोडे । दाउमा विदेशीहरु बस्ने र च्याँखेमा हाम्रा दलका नेताहरु अलमलिने गर्दा नेपालको राजनीति घिन लाग्दो चरणमा अघि बढिरहेको छ ।

च्याँखेमा कांग्रेस :

केपी ओलीले दुई–दुई पटक संसद भंग गरेर पनि सर्वोच्चले अमान्य गरिदिएपछि च्याँखे थापेर बसेका कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए । पहिला पनि च्याँखेमा सफल मानिएका देउवाले मंसीर ४ को आम निर्वाचनमा भने दाउ पनि थापे भने च्याँखे पनि थापे । दाउमा च्याँखे थाप्न आएक रवि लामिछानेलाई ठाउँ नदिएर बुद्धि पु¥याउन नसक्दा हारे भने दाउमा बस्न खोजेका प्रचण्डलाई बस्न नदिएर आफैं बस्न खोज्दा नराम्ररी हारे ।

देउवाले दाउमा हारेपछि च्याँखे थापेर बसेका ओलीले दाउमा बस्ने मौकालाई गुमाएनन् । ओलीले दाउमा भकाभक पैसा मारेपछि अरु दोश्रो तहका नेताहरुले दाउ गइसकेको भन्दाभन्दै जिद्दी गरेर च्याँखे थाप्ता राप्रपालाई आफूतिर तान्ने च्याँखे पनि सफल भएन भने आपूmलाई धोका दिएर आफैं दाउ थापेका प्रचण्डको मिठासे बोलीलाई विश्वास गरेर सभामुख पाइने आशामा दलभित्र विरोध हुँदाहुँदै हुक्के लाउकेको विश्वासमा प्रचण्डलाई आवश्यकै नभएको विश्वासको मत दिएर थापेको च्याँखे पनि सफल भएन भने उपसभामुख पाउने अर्को च्याँखे पनि सफल भएन । अब पुनः कांग्रेसले राष्ट्रपतिको च्याँखे थाप्दैछ भने उपराष्ट्रपतिका लागि पनि च्याँखे थाप्यो भने अचम्भ नमाने हुन्छ ।

लोकतन्त्रमा ठूलो दल विपक्षमा बसेर सरकारको खबर्दारी गर्न पाउनु जनताले सुख पाउनु हो । दलहरुले जनताको सुख–सुविधाका लागि राजनीति गर्ने सैद्धान्तिक पक्ष हो । यो महान सैद्धान्तिक पक्षलाई कांग्रेस जस्तो दलले बिर्सेर खस्ला र खाउँला भनेर साँढेको पछि लाग्ने स्याल जस्तो भएपछि उसको च्याँखे दाउ असफल हुने नै भयो । यस्तो राजनीतिले अब आउने आम निर्वाचन कांग्रेस बढ्ने होइन सकिने हुने पक्का पक्की हुँदैछ ।

च्याँखे दाउ नेपालका अहिलेका सबै दलले खेलेका छन् । यस पटकको जुवाको खालमा कांग्रेस हारेकोले उसको चर्चा गरिएको हो भने अरुले जितेको हुनाले चर्चा नगरिएको हो । यस्तो दुरावस्थाको भविश्यलाई सुधार गर्न अब कांग्रेस विपक्षमा बसेर सरकारको खबरदारी गर्नुपर्छ भने आफूले गरेका गल्तीलाई स्वीकार्दै भविष्यमा लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात गरेर अघि बढ्छु भनेर जनतामा गएर संगठन विस्तारमा लाग्नु पर्छ । यसो गरेमा अझै कांग्रेसको भविष्य छ । तर, अब पनि देउवाकै भरपर्ने हो कांग्रेसलाई दैवले पनि बचाउन सक्ने छैनन् ।

प्रमुख दलको गल्ती :

मैले नै जित्नुपर्छ भन्ने सामन्ती सोच गाडेर बसेका कांग्रेस र एमालेका शीर्ष नेताहरुका कारण नेपालको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दैछ । यो उनीहरु बुझ्न चाहिरहेका छैनन् । आफैं दाउमा बस्नु पर्नेहरु नै च्याँखेमा रमाउँदाको अवस्थाले यस्तो दुरावस्था आउन लागेको हो । जब कि दुबै ठूला दलले यस पटकको आम निर्वाचन एक्ला एक्लै लड्नुपथ्र्यो ।

कांग्रेस गठबन्धन नछोड्ने अवस्थामा पुगेपछि एमाले पनि गठबन्धनतिर लाग्यो । परिणाम यी दुबै दलले पाउने सिट पनि केही नयाँ दलले खोसे भने सकिने नदलहरु राष्ट्रिय दल बन्न पुगे । यो भइसकेकै थियो । यो यस पटक सुधार्न सकिने अवस्थामा थिएन । तर, उनीहरुले सशर्त मात्र गठबन्धन गर्ने होइन भने हामी एमाले र कांग्रेस मिलेर राष्ट्रिय सरकार बनाउँछौं भन्या भए यात अहिलेका नन्दी भृंगी दलहरु शर्त मानेर समर्थन गर्न आउँथे । नआएर दुबै ठूला दलले राष्ट्रिय सरकार बनाएको भए देशले प्रगति पनि गथ्र्यो भने जनताले पनि सुख पाउँथे ।

अहिले सरकारमा भएकाहरु कोही राजा ल्याउने, गणतन्त्र र संघीयता नमान्ने, कोही संघीयता नमान्ने, कोही देशको अखण्डता नमान्ने र कोही आपराधिक क्रियाकलापलाई राजनीतिको आवरणमा ढाकछोप गरेर चोखिने किसिमका दलहरु छन् । को को यस्ता छन् भन्ने पाठक आफैंले छुट्याउन सक्ने भएकाले व्याख्या गर्न जरुरी छैन ।

यदि दुबै दलले अहिलेको संविधान अनुसार आफ्नो दलको विधानमै संशोधन गरेर समर्थन गर्न आउ होइन भने हामी मिलेर सरकार बनाउँछोैं भन्नुपथ्र्यो । तर, अगाध सत्ता स्वार्थ र सेखी झार्ने बकम्फुसे सामन्ती सोच राख्ने यी दुबै दलका केही शीर्ष तहका नेता र उनीहरुका हुक्के लाउकेका कारण अहिले अवस्था आएको हो ।

यस्तो हुनमा कुन दलको कति गल्ती थियो भन्ने कुरा तुलामा जोखेर अब एकअर्कालाई गाली गर्ने अवस्था छैन । अझै पनि मौका छ । ओली र देउवाले सत्ता लोभ त्याग्ने हो भने नन्दी भृंगीहरुलाई हटाएर अघि बढ्न सक्छन् ।

गम्भीर भएर सोचौं । नसोच्ने हो भने आउँदो आम चुनावमा योभन्दा तरल अवस्था यी दुबै दलले भोग्नु पर्छ । यो देशका लागि, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रका लागि अझ घातक हुनेछ । यस्तो अवस्थालाई चिर्ने क्षमता, बुद्धि र विवेक दलका नेताहरुमा आओस् ताकि प्राप्त अवस्था नमासियोस् । आज यत्ति नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here