अन्यौलग्रस्त राजनीतिक यात्रा

११ माघ २०७९, बुधबार मा प्रकाशित

आफ्नै कारणले सत्ताविहीन हुन पुगेको नेपाली कांग्रेसले सम्पूर्ण ध्यान राष्ट्रपतिको निर्वाचनमा केन्द्रीत गरेको छ । आफ्नै खेलले गलत दिशा पु¥याएपछि संघका साथै प्रदेश सरकारबाट पनि बाहिरिएको कांग्रेसका लागि त्यसपछिको समय झनै आलोचित बनेको छ । डेढ वर्षदेखि सत्ता समीकरण गर्दै गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले एकाएक हिजो त्यागेको एमालेसँग गठजोड गरेपछि बदलिएको राजनीतिक आकाशमा अहिले पनि आशंकाको बादल मडारिइरहेको छ । यद्यपि बहुमत मात्र होइन सम्पूर्ण मतका साथ विश्वास प्राप्त गरेको वर्तमान सरकारलाई आगामी सत्ताको यात्रामा तत्काल कुनै अवरोध आउनेवाला छैन । अनि पनि राष्ट्रपतिको आसन्न निर्वाचनलाई लिएर सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथि सशंकित देखिएका छन् ।

प्रधानमन्त्रीको कुर्सीका लागि गठबन्धन तोडेका प्रधानमन्त्री दाहाल भने नेपाली कांग्रेसप्रति सकारात्मक नै देखिएका छन् । उनका अभिव्यक्तिहरु पनि कांग्रेसलाई मिलाएरै लैजाने पक्षमा देखिएका छन् । अब सर्वोच्च तथा आलंकारिक पद राष्ट्रपतिको निर्वाचन मात्र बाँकी रहेको सन्दर्भमा नेपाली कांग्रेसको नेतृत्वले सबै दलहरुसँग संवाद, छलफल तथा भेटघाटलाई तीव्रता दिएको छ । यसका लागि संस्थापन पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अघि सारिँदै गरेकोमा अहिले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि प्रत्याशीका रुपमा प्रस्तुत गर्न थालिएको छ ।

धेरै बाठो हुँदा तीन बल्ड्याङ लड्नुपर्छ भन्ने भनाइ नेपाली राजनीतिमा प्रमाणित भइसकेको छ । यसै सन्दर्भमा दलहरुले शक्ति केन्द्रकै रुपमा लिने गरेको राष्ट्रपतिका लागि सबै दलहरु आ–आफ्नै ढंगले लागीपरेका छन् । राष्ट्रपतिका धेरै आकांक्षीहरुका बीच सत्ता गठबन्धनकै समीकरण कायम रहन सक्यो भने ‘लौरो’ नै भए पनि जित्ने निश्चित छ । आखिर हाम्रो राजनीतिक इमान, नीति, विधि, पद्धतिभन्दा पनि जालझेल, षडयन्त्र, स्वार्थ र लाभहानीका हिसाबले चलेको छ । त्यसैले योग्य, सक्षम, कुशल, तटस्थ, विज्ञ तथा योगदानको कदर नगरिने प्रवृत्ति नै बलियो हुने भएकाले छलछाम, चलखेल गर्न नसक्नेले सफलता प्राप्त गर्न सक्दैनन् । यस्तोमा प्रतिपक्षमा बस्न पाउँ भनेर आवेदन दिनुपर्ने अवस्थाको नेपाली राजनीतिले कुन बाटो समात्ने हो चासो र चिन्ताकै विषय भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here