अग्निदाह : सरकारको असफलताको संकेत

0
168

सूर्योदय नगरपालिका इलामका एक उद्यमीले संसद भवनअघि आफूलाई आगो लगाएर आत्मदाह गरेका छन् । छत्तीस वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि लेखेको आत्मवृत्तान्तमा आफू उद्योगी÷व्यवसायी भएको, व्यापार, व्यवसायमा जतासुकै असफलतामात्रै हात लागेको, सरकारले असहयोग गरेको, व्यावसायिक प्रतिष्ठानहरुले धोका दिएका र बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो पीडाको सुनुवाई नगरेको उल्लेख गरेका छन् । मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका आचार्यको बुधबार उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । सफल उद्यमी तथा व्यवसायी बन्ने उत्कट इच्छा, आँट र लगनले पनि साथ नदिएपछि आत्महत्या जस्तो गम्भीर निर्णय गर्न पुगेका उनको मृत्युमा को– कति जिम्मेवार होलान् सम्बद्ध पक्षले गम्भीर चिन्तन गर्नुपर्छ ।

काम गरी खान्छु, समाज तथा देश सापेक्ष सेवा गर्नु र राष्ट्रको समृद्धिमा इँटा थप्छु भनेर पटक–पटक नयाँ–नयाँ व्यवसाय गरेर स्वरोजगार बन्ने, परनिर्भरता कम गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने आचार्यको अग्रसरता सलामयोग्य छ । तर, बुझ्नेले कुरा नबुझेपछि सहयोग गर्नुपर्ने स्थानीयदेखि संघीय सरकार आफन्त र आफ्नाको संकीर्णताबाट मृक्त नभएपछि प्राप्त हुने परिणाम यस्तै हृदयविदारक हुन्छ । त्यसै पनि देशको अर्थव्यवस्था जर्जर छ त्यसमाथि सरकार जनताका भोगाइ कष्ट र पीडामा सधैँ उदासीन छ । जनताको आर्थिक जीवन उकास्ने, राष्ट्रको समृद्धिमा सहायक बनिने सरकारसँग न योजना छ, न त कुनै निष्ठापूर्ण प्रतिबद्धता । राजाका समयमा स्थापित आत्मनिर्भरता र समृद्धिका सहायक दर्जनौं कलकारखाना, उद्योग बिक्री गरेर परनिर्भरता र पश्चगामी यात्रा तय गर्ने सरकारका लागि आचार्यको आत्मदाह सामान्य हुनसक्छ ।

अरुलाई पीडा दिएर, यातना दिएर विभत्स ढंगले हत्या गर्नु क्रुरता मनपर्नेका लागि मनोविनोदको कुरा हुनसक्छ । तर, आफूले आफूलाई जलाएर त्यो पनि सार्वजनिक ठाउँमा अझ देशकै कार्यकारी प्रमुख तथा प्रतिनिधिका अघि आत्मदाह गर्नु विवशता र निरीहताको पराकाष्ट हो । यो घटना सम्भवतः इतिहासको पहिलो हुनुपर्छ । सुन्दा मात्रै पनि आङ जिरीङ हुने आत्मदाहको घटना हाम्रा जनप्रतिनिधि, स्थानीय, प्रदेश तथा संघ सरकारका लागि लज्जाबोधको विषय भएन भने त्यो अझै दुर्भाग्यपूर्ण हुनसक्छ । धेरै प्रयास गर्दा पनि कतैबाट साथ, सहयोग नपाएका अरु थुप्रै प्रेम आचार्यहरु आत्मघाती भएर ननिस्कियुन यसतर्फ सरकार आजै सचेत होस् । उनको आत्मदाहको पछि जे–जे कारण लुकेको भए पनि सबैभन्दा मुख्य कारण सरकारको असफलताको उत्कर्ष हो । सत्तास्वार्थका लागि राजनीतिक अस्थिर बनाएर पानी धमिलो पारेर माछा नै मार्नुपर्ने हाम्रा राजनीतिक दलहरुको अभीष्टले फेरि–फेरि अरु प्रेमहरुलाई यस्तो भयानक निर्णय र बाटो रोज्न विवश नपरियोस्, हामी राज्यलाई खबरदारी गर्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here