अकालमा कसैको ज्यान नजाओस्

0
141

युवा उद्यमी प्रेम आचार्यको आत्मदाहले देशमा नयाँखाले तरंग ल्याएको छ । उनले आत्मदाह गर्नुपूर्व उठाएका सवालहरु अहिले राज्यका लागि खोजी गर्नुपर्ने विषय बनिएका छन् । उनको मृत्युपछि सरकारका गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई भेटेर आचार्यले उठाएका विषयलाई गम्भीरतापूर्वक खोजी गर्ने आश्वासन दिएका छन् । त्यही प्रश्न, त्यही कुरा आत्मदाह गर्नुअघि सम्बन्धित ठाउँमा पटक–पटक उठाएको भए पनि कतैबाट सुनुवाई नभएपछि उनले कठोर निर्णय गर्नुपरेको बताइन्छ । त्यसो त हाम्रो अभिभावक भनेको सरकार हो, उसले आमजनताको शिष्ट, मर्यादित, सभ्य र शालीन भाषालाई कहिल्यै गम्भीर ढंगले लिएको छैन । उसलाई अमर्यादित, हिंसात्मक र अशिष्ट भाषा मात्रै सुन्ने र त्यसलाई सम्बोधन गर्ने बानी परेको छ । आचार्यले त्यहीकारण पनि आत्मदाह जस्तो भयानक बाटो रोज्नुपरेको हुनसक्छ ।

यसै पनि देशमा आत्महत्याको श्रृंखला प्रत्येक वर्ष बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रत्येक दिन औसतमा बाइस जनाले आत्महत्या गर्छन् । यसका पछि घोर निराशा नै मुख्यकारण रहेको पाइएको छ । आमजनतालाई आशामुखी, ऊर्जावान हुन, कर्ममा दृढतापूवर्क समर्पित हुने सामथ्र्य प्रदान गर्नु र वातावरण दिनु सरकारको जिम्मेवारी हो । तर, सरकारसँग जनताका दुःख अनुभूत गर्ने, निराशालाई आशामा बदल्ने र केही गर्नुपर्छ भन्ने युवालाई वातावरण प्रदान गर्ने संयन्त्र नै छैन । सिंगो देश नै दलाल प्रणालीमा लगिएको छ, सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न घुस नै खुवाउनुपर्छ । दलालमार्फत घुस खुवाएर काम गर्नुपर्ने भ्रष्ट मानसिकता र संयन्त्रले विधि र नियमको शासनको संस्कृतिलाई नष्ट गरेको छ । त्यही अवस्थाबाट उत्पन्न घोर निराशाका बीच देश चलाउँछौं भन्नेहरुलाई समेत खबरदारी गर्दै आचार्यले गरेको आत्मदाहले सरकारलाई गम्भीर बनाउनुपर्छ ।

आत्महत्या गर्नुका पछि आर्थिक अभाव, पारिवारिक विवाद, वैदेशिक रोजगार, सम्पत्तिको बाँडफाँट, प्रतिशोध, आवेग र अविश्वास जिम्मेवार रहेको मानिन्छ । त्यसबाहेक गरिखान्छु, स्वदेशमै उद्यम गर्छु भन्नेहरु र समाजमा आर्जित मानप्रतिष्ठामा आँच पु¥याउने जस्ता कारणलाई व्यवस्थापन गर्न नसक्दा कतिले यही बाटो रोज्ने गरेको तथ्यांकको विश्लेषणले देखाएको छ । आत्महत्या कमजोर मानसिकताको परिणाम हो भनिन्छ, हुन पनि मानवजीवन अमूल्य छ । तर, त्यसलाई ठीक ढंगले व्यवस्थापन गर्ने क्षमता सबैसँग हुँदैन । त्यसैले कतिपयले यस्तो अप्रिय निर्णय गर्न पुग्छन् । यस्तै परिवेशमा प्रेम आचार्यको आत्मदाह विगतका भन्दा फरक ढंगले प्रकट भएको छ । यी सबै असन्तुष्टि, निराशा र विकृतिहरुलाई व्यवस्थापन गर्दै सुशासनको अनुभूति दिलाउनु राजनीति र राजनीतिमार्फत् देशमा परिवर्तन गर्छौं भन्नेहरुको दायित्व हो । बलियो हुँदै गएको भ्रष्ट संयन्त्रलाई तोडेर इमान, धर्म, विधि र न्यायको शासनको स्थापना गर्न सकिएन भने अरुहरुले पनि यस्तै बाटो समाउन सक्छन् । त्यसैले आचार्यको कठोर निर्णयबाट राजनीतिक नेतृत्वले सच्चिने, भ्रष्टाचारको भुमरीबाट राज्यलाई मुक्त गर्ने शिक्षा लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here