चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण

0
178

चितवन,

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न यहाँका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नमूनाको रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । अधिकारीले पालिकाका स्वास्थ्य शाखा÷महाशाखाका कर्मचारीले जिम्मेवारीपूर्वक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले प्रत्यक्ष देखिने भएकाले सर्ने रोग प्राथमिकतामा पर्ने गरेको भन्दै नसर्ने रोगको उपचार र रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । रोग लाग्नै नदिने उद्देश्यसहित आएको यो कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले कार्यक्रम ल्याउँदा राम्रो देखिने तर कार्यान्वयनमा जाँदा समस्या हुने गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका प्रशिक्षक हरिप्रसाद भुसालले बागमती प्रदेशका एक सय १९ वटै पालिकामा यो कार्यक्रम लागू गर्न लागिएको बताउनुभयो । उहाँले ७१ प्रतिशत मानिसको मृत्यु दीर्घरोगका कारण हुने गरेको जानकारी दिँदै मुटु तथा रक्तनलीका रोग, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मधुमेह, मानसिक रोग प्रमुख रहेको बताउनुभयो ।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, शारीरिक निस्क्रियता, मदिराजन्य पदार्थको प्रयोगका कारण दीर्घरोग लाग्ने गरेको उहाँको भनाइ छ । उहाँले दीर्घरोग खरायोको गतिमा बढ्दै गएको भन्दै यसको रोकथामका कार्यक्रम कछुवा गतिमा रहेको बताउनुभयो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका जयस नेपालले हप्ताको एक दिन तोकेर स्वस्थ व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’बारे प्रकाश पार्दै उहाँले कार्यान्वयनको चरणसम्म स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा चापागाईँले नसर्ने रोगका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो । सुरुआतको चरणमा केही असहज देखिए पनि सबै मिलेर समस्या समाधान गर्दै कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

समाजमा लुकेर रहेका दीर्घरोगी स्क्रिनिङ गरेर उपचारमा ल्याउनु महत्वपूर्ण रहेको चर्चा गर्दै चापागाईँले केही प्रदेश अस्पतालमा नमूनाका रूपमा सञ्चालन भइसकेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक, स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श दिइने छ ।

कार्यक्रमको नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सल्लाह सुझाव तथा सेवा उपलब्ध गराउने उद्देश्य रहेको छ । नसर्ने रोग रोकथामसम्बन्धी समुदायस्तरमा चेतना अभिवृद्धि गरी रोगको जोखिम न्यूनीकरण गर्ने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम खोकीको लागि क्याट टेष्ट, तौल, उचाइ, पेटको मोटाइ, रक्तचाप, पिसाबको परीक्षण, दिसामा सुक्ष्म रगतको परीक्षण, रगतको परीक्षण, मिर्गाैला परीक्षण, कलेजो परीक्षण, फोक्सो परीक्षण, छातिको एक्सरेलगायत परीक्षण गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here