माई नगर प्रमुख लिम्बूको निर्देशनमा स्थगित भएको निर्माणको कार्य सञ्चालन हुने

४ चैत्र २०७९, शनिबार मा प्रकाशित

अमित खम्बू,
अर्जुनधारा ।

माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूको निर्देशनमा झापा र इलामको सिमानामा रहेको सुखानी सहादतस्थलमा स्थगित भएको योजना निर्माणको कार्य सञ्चालन हुने भएको छ ।

सुखानी सामुदायिक वन उपभोक्ता समूहले झापाको अर्जुनधारा नगरपालिका–३ र इलामको माई नगरपालिका–४स्थित सुखानी सहादतस्थलमा शनिबार आयोजना गरेको सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो ।

तत्कालिन पञ्चायत शासन विरुद्ध आन्दोलन गर्दा मारिएका पाँच जना शहीदसँग जोडिएको उक्त ऐतिहासिक स्थलको संरक्षण तथा विकासका लागि चालु आर्थिक वर्ष ०७९÷०८०मा संघीय सरकारबाट शसर्त अनुदान अन्र्तगत १० लाख रुपैयाँ बजेट विनियोजन भएपछि समूहले सम्झौता अनुसार निर्माण कार्य सुरु गरेको थियो ।

गत फागुन १० गते अर्जुनधारा नगरपालिकामा योजनाको सम्झौता गरी कार्य गर्ने क्रममा माईका प्रमुख लिम्बूले पहिलोपटक आफै उपस्थित भएर र दोस्रोपटक प्रहरी परिचालन गरेर निर्माणको काम स्थगित गर्न निर्देशन दिएको समूहका अध्यक्ष मंगलसिंह लिम्बूले बताए । “समूहको क्षेत्राधिकारभित्र रहेको त्यस स्थलमा स्वीकृत पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०७८मा उल्लेख भए अनुसार कार्य गर्दा मेयर साबले स्थगित गर्न निर्देशन दिनुको रहस्य थाहा भएन ?”–उनले थप प्रष्ट पारे ।

पर्यापर्यटन सञ्चालन सम्बन्धी कार्ययोजना वन कार्यालयबाट स्वीकृत भइसकेको अवस्थामा समूहले काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरुको दुई मत नभएको कार्यक्रमका प्रमुख अतिथि माई सब डिभिजन वन कार्यालयका अधिकृत सरोज घिमिरेले बताए ।

समूहका अध्यक्ष लिम्बूको अध्यक्षतामा सम्पन्न भेलाको माइन्यूटमा माई सब डिभिजनका अधिकृत घिमिरेसँगै माईका प्रमुख लिम्बू, निवर्तमान उपप्रमुख विष्णुमाया आचार्य, अर्जुनधारा–३का निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी, नेकपा एमाले अर्जुनधारा–३ वडा कमिटीका प्रतिनिधि युवराज चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि खेम दाहाल, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि लक्ष्मी शर्मा, संघीय लिम्बुवानका प्रतिनिधि राजेन्द्र जवेगु, नेपाली काँग्रेस माई–४का प्रतिनिधि धनबहादुर कार्की, नेकपा माओवादी केन्द्र माई–४का प्रतिनिधि लक्ष्मण आले, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलाल, सल्लाहकार समितिका संयोजक ओमप्रकाश सिटौला, अनुगमन–मूल्याङ्कन समितिका संयोजक मनबहादुर जवेगु, लेखा समितिका संयोजक धनबहादुर तामाङलगायतले हस्ताक्षर गरेका छन् ।

पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०७८ मा के छ ?

समूहको स्वीकृत पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०७८मा सुखानी सामुदायिक वन उपभोक्ता समूहको खण्ड नं.२मा रहेको ४.९२ हेक्टर क्षेत्रफलमा पर्यापर्यटनका मौजुदा पूर्वाधारहरुको संरक्षण, व्यवस्थापन तथा सम्भाव्य नयाँ पूर्वाधारहरुको निर्माण गरि सामुदायिक वन क्षेत्रको अधिकतम विकास र पर्यापर्यटनका क्रियाकलापहरुको कार्यान्वयनमार्फत् उपभोक्ता समूहको आयस्रोत बढाउने उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष ०७८/०७९ देखि ०८७/०८८ सम्म सञ्चालन हुने उक्त कार्ययोजनाको सम्झौता पत्रमा समूहकोतर्फबाट अध्यक्ष मंगलसिंह लिम्बू र डिभिजन वन कार्यालय इलामकोतर्फबाट अधिकृत इन्द्रमणि भण्डारीले हस्ताक्षर गरेका छन् ।

कार्ययोजनाको लक्ष्य सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरि जैविक विविधता संरक्षण गर्दै दिगो वन व्यवस्थापनबाट रोजगारी सृजना गरि स्थानीय, प्रदेश र राष्ट्रको सम्वृद्धिमा योगदान पु¥याउने रहेको छ ।

के भन्छन् माई नगर प्रमुख लिम्बू ?

सुखानी सहादतस्थल ऐतिहासिक स्थल भएको हुँदा स्थानीय तहको मातहत हुनुपर्ने तर्क राख्दै आफूले निर्माण कार्य स्थगित गर्न निर्देशन दिएको माई नगरपालिकाका प्रमुख लिम्बूले स्वीकारे ।

त्यस क्षेत्रलाई आम्दानीको स्रोत भन्दा पनि भएको संरचनालाई संरक्षण गर्दै गुरुयोजना अनुसार कार्य गर्नुपर्ने उनको तर्क छ । आफ्नो नगर क्षेत्रभित्रको जमिन भएको बताउँदै उनले स्थगित भएको कार्यको जिम्मा प्रमुखको रुपमा आफूले लिने तर समूहले गर्ने योजना निर्माणको कार्य भने हुन नदिने बताए ।

यता जमिनको स्वामित्वको विषयमा जमिनको स्वामित्व नेपाल सरकारको हुने सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिएको र स्थानीय सरकार समन्वयकारी भूमिकामा हुनुपर्ने माई सब डिभिजन वन कार्यालयका अधिकृत घिमिरेको तर्क छ ।

कार्यक्रममा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष टंकप्रसाद भट्टराई, नेकपा एमाले अर्जुनधारा–३का प्रतिनिधि चापागाईं, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दुलाललगायतले आफ्नो धारणा राखेका थिए ।

समूहका पर्यटन उपाध्यक्ष विपिनकुमार चौहनले कार्यक्रमको औचित्य तथा उपाध्यक्ष जयबहादुर मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समूहका कार्यालय सचिव खगेन्द्र भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here