तिब्बतीलाई नेपाली नागरिकता दिलाउने पक्राउ

0
131

झापा ।

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले ५ सय जनाभन्दा बढी तिब्बतीलाई नेपाली नागरिकता दिलाउने कार्यमा सम्लग्न गिरोहलाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोहका नाइके कृष्णबहादुर कटुवालसहितको गिरोहलाई पक्राउ गर्दै सार्वजनिक गरेको छ । कटुवाल झापाको कचनकवल निवासी हुन् । पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक समेत रहेका छन् ।

उनीहरुलाई वुधवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । तिब्बतीयनलाई पाँच लाख रुपैयाँसम्म लिएर नागरिकता दिलाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू अन्यमा भक्तपुरको मध्यपुर थिमीका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरंैचाका हिरालाल शिवाकोटी, तनहूँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस गरी गैरनेपाली व्यक्तिहरुको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेको भन्दै उजुरी परेपछि छानबिन थालेका थियौँ’– महाशाखाले भनेको छ – सोमबार बबरमहलबाट कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरिएको छ ।’

प्रहरीले उनीहरुका साथबाट विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, शैक्षिक संस्थाको प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयहरुको सिफारिस पनि बरामद गरेको छ ।

उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काठमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ । लामा ९ वर्ष अघिदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको खुलेको छ । उनैले जिल्ला प्रशासनमा मिलाउनु पर्ने कामको जिम्मा लिने गरेका थिए । उनले भित्र मिलाउनु पर्ने भन्दै कटुवालसँग एउटा नागरिकता बराबर १ लाख ५० हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ ।
त्यसैगरी पक्राउ पर्नेमा एकजना तिब्बतीयन शरणार्थी पनि छन्। लोब्साङ ठिन्ले नाम गरेका उनी तिब्बतीय शरणार्थी क्याम्पमै बस्छन् ।

उनले यही फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठिन्ले गुरुङको नामबाट काठमाडौं महानगरपालिका –१७ स्थायी ठेगाना राखेर २७–०१–७१–१५९०१ को नागरिकता नै लिएको खुलेको छ । प्रहरीले नागरिकता लिएका २५÷३० जनाको सक्कलै नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ ।

पक्राउ परेका कटुवाल यसअघि पनि कीर्ते र ठगीमा सजाय पाएर छुटेका व्यक्ति रहेको खुलेको छ । उनले ५÷६ वर्षको अवधिमा ५ सयभन्दा धेरै व्यक्तिलाई नागरिकता दिलाइसकेको प्रहरीले पत्ता लगाएको छ । यो घटनामा अन्य ५ व्यक्तिको पनि संलग्नता पाइएपछि उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अर्का पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठ र कटुवालले पिङछुङ शेर्पा नामकको नक्कली नगारिकता बनाइ प्रतिपटक १० हजार भाडामा दिई बुवाको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर सनाखत गर्ने गरेको पनि खुलेको छ ।

श्रेष्ठले हालसम्म तिब्बतीयन शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागररिकता बनाउन नक्कली बुबा बनेर सहयोग गरेको खुलेको छ । उता कटुवालले तिब्बतीलाई नेपाली नागरिकता दिलाउँदा प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएको पाइएको छ ।

यो प्रकरणमा गैरनेपालीलाई सक्कली नागरिकता दिलाउने कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसरी नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत् पूर्व तथा बहालवाल कर्मचारीहरुमाथि पनि अनुसन्धान थालिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here