पूर्वानुमान संयन्त्रको सम्मान गर्ने दिन

९ चैत्र २०७९, बिहीबार मा प्रकाशित

आज विश्व मौसम विज्ञान दिवस । मौसमको फेरबदलमा बादलको महत्त्व देखाउँदै मानिस लगायत सम्पूर्ण पृथ्वीको सुरक्षाप्रति जागरण र सचेतना विस्तार गर्न यो दिवस मनाउन थालिएको हो । सन् १९६१ मा स्थापित वल्र्ड मेटेरोजीकल अर्गनाइजेशनको सम्झनामा मनाउन थालिएको यो दिवसले हावा, हुण्डरी, आँधी, वर्षा लगायतका प्राकृतिक विपत्तिहरुको पूर्व अनुमानसहित पूर्व तयारीका विषयमा सजग गराउन मद्दत गर्छ । हरेक वर्षको मार्च २३ लाई विश्व मौसम दिवसका रुपमा मनाइनुकापछि विपद् जोखिम न्यूनीकरणका निम्ति जल, मौसम र जलवायुको पूर्व सूचना दिएर पूर्व तयारीको अपरिहार्यतालाई ध्यान दिन विश्व समुदायलाई ध्यानाकर्षण गराउनु हो ।

विश्वमा प्रत्येक वर्ष बाह्र लाखभन्दा बढी मानिसको मृत्यु जलवायु परिवर्तनका कारण भइरहेको छ । जलवायु परिवर्तनका लागि बढ्दो जनसंख्या नै जिम्मेवार पनि छ । त्यसैकारण मानिसले जलवायु परिवर्तन गराउने गतिविधिलाई नियन्त्रण गर्दै जीवन पद्धतिमा सुधार गर्न जरुरी छ । अधिक वर्षा, गर्मी, खडेरी, शीतलहर, चट्याङ, बाढी जस्ता मौसमी प्रकोपका घटनाहरु वर्षेनि बढिरहेका छन् । यस्तोमा विपद्का जोखिमको संकटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमानसहिको पूर्व सूचनाको अत्यन्त महत्व छ । सही समयमा सही पूर्वानुमान र सूचनाको सम्प्रेषणबाट सचेत रहन सकेमात्र जल तथा मौसमजन्य विपद्बाट सुरक्षित हुन सकिन्छ । त्यसैलाई मध्यनजर गरी विश्व मौसम विज्ञान संगठनको स्थापना गरिएको थियो । त्यही संगठनको आह्वान अनुसार यस्ता विपद्हरुको पूर्व सूचना दिने प्रणालीको आवश्यकता महशुस गरी विश्वव्यापी रुपमा विस्तार गर्न थालियो ।

यस वर्षका लागि ‘द फ्युचर अफ वेदर, क्लाइमेट एण्ड वाटर एक्रस जेनरेशन’ नारा दिइएको छ । यही नाराका साथ आज विश्वभर मनाइने विश्व मौसम दिवसले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरुको योगदानलाई प्रकाशित गर्नुपर्दछ । किनकि यही विज्ञानको सहायताले हामी सम्भावित प्राकृतिक प्रकोपबाट सुसूचित र सुरक्षित हुने र प्रतिकार्यमा लाग्न सक्षम हुन्छौं । तिनै सूचना र संयन्त्रका जानकारीका आधारमा हाम्रा नित्यकर्म निर्देशित हुन सके भने सम्भावित क्षति कम हुन सक्छ । मौसमको भविष्यवाणी गर्ने विज्ञान र संयन्त्रको महत्वलाई आत्मसात गर्दै पछिल्लो पुस्तालाई सुरक्षित गर्नेतर्फ हाम्रा कर्म केन्द्रीत होस् । जलवायु प्रभावित गर्ने हाम्रा कर्म सच्चिउन् र पृथ्वीको रक्षा होस् । त्यसो भएमात्र मानव जाति, सभ्यता र सम्पूर्ण प्राणीसँगै पृथ्वीबासीको कल्याण हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here