‘जीनेत राई’ नेपाली जनमानसमा एक प्रसिद्ध नाम हो । नेपाली मौलिक लोकगीतको क्षेत्रमा नेपाली लोकगीत गायन उनको प्रमुख देन हो । यसका अलावा उनी किरात संस्कृतिविद् हुन् र हुन् उनी एक अभियन्ता नेपाली लोकगीत, लोकसंस्कृति र किरात संस्कृतिका ।
जीतेन राईका स्वर, शब्द, संकलन र संगीतले सजिएका लोकगीतहरुमा नेपालको भूगोल, खोला नाला नदी, गाउँघर, हाटबजार, मेलापात, नेपाली विभिन्न जातजातिका भेषभुषा, भाषा, रीतिरिवाज, चाडवाड, लोक कथा, मौलिक लोकभाका, बाजागाजा, विविध संस्कृतिका आयामहरु समेटिएका पाइन्छन् । गायक जीतेन राईका धेरै गीतहरुमा यी विशेषताहरु झल्किन्छन् । यी लोक गीतहरु नेपालको सांस्कृतिक गहनाहरु हुन् । उनका गीतहरु शब्दकोष हुन् र हुन् सुन्ने संग्रहालय । जसबाट नेपाली लोकसंस्कृतिका धेरै कुरा जान्न सकिन्छ र अवलोकन गर्न सकिन्छ । उनका कैयन गीतहरु मध्ये, ‘पूर्व बज्छ ढोल च्याबु्रङ पश्चिम हुड्केली’ पनि एक हो । यस गीतमा पनि नेपालीका विभिन्न भेषभुषा, भाषा, रीतिरिवाज, चाडवाड, नेपाली लोक कथा, मौलिक लोक भाका, बाजा गाजा, विविध संस्कृतिका आयामहरु समेटिएका छन् ।
गीत यसप्रकार रहेको छ– ‘पूर्व बज्छ ढोल च्याबु्रङ पश्चिम हुड्केली, पेङ्दोर्जेले डम्फु नाच्यो उसकै पुख्र्यौली, उठौँ समाज बनाउन, संस्कृतिले देशै सजाउन, हिमालतिर बख्खु लाउँदा तराई धोती शुरुवाल, त्यसैभित्र बनाउनु छ अब नयाँ नेपाल, हिमाल तराई प्रकृति त्यस्तै संस्कृति, धिमे बज्दा कति राम्रो हाकुपटासी, नेपालको पहिचान हो बहुल संस्कृति, उठौँ समाज बनाउन, संस्कृतिले देशै सजाउन । एउटा जातलाई घाउ लाग्दा सबै जातलाई दुखोस्, एउटा वर्ग माथि उठ्दा सबै वर्ग उठोस्, तराई पहाड हिमाली सबै नेपाली । समानताको लागि लडाइँ लडिरहनुपर्छ, कसैले नहार्ने युद्ध छेड्नु पर्छ ।’
किरात संस्कृतिविद्, अभियन्ता तथा लोकगीत गायक जीतेन राईका अनुसार ढोल, च्याबु्रङ पूर्वी नेपालका बासिन्दा किरात र लिम्बुवानहरुको सांस्कृतिक बाजा हो र पेङ्दोर्जे भनेको तामाङहरुको ऐतिहासिक पुर्खा हुन् जसले लाछे चराबाट प्रभावित भएर डम्फु बाजा आविष्कार गरे । तामाङहरुले डम्फु नाचेको पुर्खेउली विरासत हो । बक्खु हिमाली भेगका बासिन्दाहरुले लगाउने एक प्रकारको लुगा हो । तराईतिर धोती लगाउँछन् । हाकु पटासी नेवार विशेष गरि ज्यापु समुदायका महिलाहरुले लगाउने कालो बुट्टे गुनिउ चोलो हो । अनि हुड्केली भनेको नेपालको सुदुरपश्चिमतिर बजाउने बाजा हो दमाहा भन्दा अलिक सानो ट्याम्को भन्दा अलिक ठूलो हुन्छ ।
गायक जीतेन राइको शब्द, संकलन, संगीत र स्वरमा सजिएको यो ‘पूर्व बज्छ ढोल च्याबु्रङ पश्चिम हुड्केली’ लोकगीतमा नेपालको पूर्वदेखि सुदूरपश्चिमका सबै सांस्कृतिक आयाम समेटिएका छन् । गीतले विविध संस्कृति सम्मिलित नयाँ नेपाल बनाउनुपर्छ भन्ने भाव बोकेको छ । सबै जातजातिमा सहअस्तित्व कायम गरौँ, मिलेर बसौँ भन्ने भाव प्रवाह गरेको छ । गीतको, उठौँ समाज बनाउन, संस्कृतिले देशै सजाउन हरफले उच्चकोटीको भाव बोकी सारा नेपालीमा आह्वान गर्दछ । समाजमा केही अप्ठ्याराहरु छन् या केही कुरा अधुरा छन् भने ती सब राम्रो बनाऔँ भन्ने हार्दिक सन्देश प्रवाद गर्दछ । यस्तै–यस्तै गुणहरुले भरिएका कैयन गीत सिर्जना भएका छन् गायक जीतेन राईको शब्द, संकलन, संगीत र स्वरमा । उनका गीतहरु अधिकार, वकालत, समानता, मार्गदर्शन र सामाजिक न्यायका सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् ।
प्रदेश एकको ‘कोशी’ नाम खोरेजीको माग र ‘पूर्व बज्छ ढोल च्याबु्रङ पश्चिम हुड्केली’ गीतको सान्दर्भिकता ः
यस गीत हप्ता दिनअघि ‘किरात पहिचान’ नामक यूटुब च्यानमा देखापरेको छ । तर, गीतको अन्तिम अन्तरामात्र समेटिएर र भिजुअलमा कोशी प्रदेश खारेज गर आदि आह्वान समेटिएका छन् । गीतको मूल रुप चाहिँ यूटुब च्यानल ‘म्यूजिक नेपाल’मा चार वर्षअघि अपलोड गरिएको रहेछ । सञ्चारमाध्यमहरुमा पनि यो गीत प्रशारण भइरहेका होलान् ।
यस गीतको महत्व प्रदेश एकसँग जोडिन आइपुगेका छ । यूटुब च्यानबाट खोज गरेर अर्को च्यानमा अपलोड गरिएको पाइएको छ । भन्नुको मतलब गायक जीतेन राईका गीतहरु दीर्घकालीन, खास महत्वका हुन्छन् र दर्शकश्रोताहरुले हदैसम्म सम्झन्छन् र खोज्दछन् । प्रदेश एकका किरात, लिम्बुवानका बासिन्दाहरुले प्रदेशको ‘कोशी’ नाम खारेजी माग गर्दै यस गीतलाई सम्झना गरि सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । भिजुअलमा लेखिएका छन्– ‘कोशी नाम खारेज गर, पहिचानसहितको किरात लिम्बुवान प्रदेश स्थापना गर, पहिचानको आधारमा नामाङकन गर’ आदि ।
गीतको अन्तिम हरफहरुले नेपालको खास मुद्दा बोल्दछन् । गीतमा रहेका– ‘एउटा जातलाई घाउ लाग्दा सबै जातलाई दुखोस्, एउटा वर्ग माथि उठ्दा सबै वर्ग उठोस्, तराई पहाड हिमाली सबै नेपाली । समानताको लागि लडाइँ लडिरहनुपर्छ, कसैले नहार्ने युद्ध छेड्नुपर्छ’ हरफले नेपालमा घटिरहेका घटनाको विषय उठान गर्दछन् । कोही नेपाली राजशी ठाँटले मोज गर्ने र कोही नेपाली अधिकार माग गरिरहनुपर्ने र बलिदान हुनुपर्ने अवस्था विद्यमान छ । यस गीतको सबैभन्दा अर्थपूर्ण हरफ यी हुन् भन्ने लाग्दछ । ‘समानताको लागि लडाइँ लडिरहनुपर्छ, कसैले नहार्ने युद्ध छेड्नु पर्छ ।’ यी हरफमा सबैले समानता पाउन प्रयास गरिरहनुपर्छ र यी प्रयास या क्रान्ति या संघर्षले कसैले नहार्ने वातावरण श्रृजना गर्नुपर्छ भन्ने भाव प्रवाह गर्दछ । यी शब्द चयन कस्ता विचारले भएका छन् त्यो महत्वपूर्ण विषय हो । न्यायपूर्ण, उदार, दूरदृष्टी र महान विचारले भरिपूर्ण लोकगीत गायक जीतेन राईका गीतहरु साँच्चै सामाजिक न्यायका लागि रचिएका दुर्लभ गीतहरु हुन् । जुन गीत सबै नेपालीका लागि बराबरी र अति नै सान्दर्भिक छन् ।
पदम लिम्बू् (लाजेहाड्ड)को बलिदान :
प्रदेश एकको कोशी नाम खारेजी र किरात लिम्बुवान नामकरण माग आन्दोलन माथि प्रदेश एक सरकारले गरेको दमनका क्रममा पदम लिम्बूले बलिदानी दिए । उनको बलिदानपछि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलित पक्षलाई वार्तामा बालुवाटार बोलाएर शान्तिपूर्ण आन्दोलन गर्न सुझाएका छन् । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षसँग अपिल गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घ–संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।
प्रधानमन्त्री दाहालको पहलले पक्कै पनि आन्दोलनरत पक्षको माग सम्बोधन हुने कुरामा आशावादी हुन सकिन्छ । सबैले अपनत्व महशुस गर्ने नामकरण हुनेछ । संस्कृतिविद्, अभियन्ता तथा गायक जीतेन राईका गीतले ‘समानताको लडाइँ लडिरहनुपर्छ, कसैले नहार्ने युद्ध छेड्नु पर्छ’ भने झैँ कोही जित्ने कोही हार्ने होइन कि सबैको जीत हुनु पर्दछ । अनि मात्र सामाजिक न्याय सहितको नयाँ नेपाल बन्नेछ । अनि मात्र परिवर्तनका प्रयासहरु सार्थक हुनेछन् ।