मेरो ‘म’ ले म सँग विद्रोह गरी
सुगौली सन्धीलाई धुजा–धुजा पारेर
केही टुक्रा टिष्टामा र केही सतलजमा
बगाएर ऊ रमिता हेरेर बसेको छ ।
मेरो ‘म’ मेरै चेतनाको बिरुद्धमा
भक्ति थापाको कम्मरको खुकुरीमा
खिया लाग्न नदिने भन्दै
साँध लाउन तल्लिन छ ।
मेरो ‘म’ पृथ्वीनारायण शाहको शालिकको
चोर औलाले देखाएको गंगा उत्तरका
आगँनको चौघेरामा बुर्कुसी मार्दै
उफ्रिन हतारिएको छ ।
मेरो वर्तमान युगवोध र
मैले पढेको भूगोल र मानचित्रलाई
चुनौति दिँदै मेरो ‘म’ नयाँ नक्सा
र भूगोल लेख्न व्यस्त भएको छ ।
यह हमारा है एटा आमार भन्दै
जिस्काउनेहरुलाई मेरो ‘म’
साँध लगाई टिलिक्क पारेको खुकुरीले
खाँडो जगाउदै बैरीको टाउकामा ट्वाक
पार्न मरिहत्ते गर्दैछ ।
(कवि शर्मा साहित्य विशारत र धर्मरत्न हुन् ।)
प्रतिकृया व्यक्त गर्नुहोस् ।