डीएसपी र इन्स्पेक्टर बाहिनी तानिए

0
116

झापा ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक विभागीय कारबाहीमा परेका छन् ।

दक्षिणी झापाको कचनकवल–४स्थित पूर्वी लोदावारी नाकाबाट चाइनिज स्याउ भारत तस्करी भएको घटनामा डीएसपी शर्मा र इन्स्पेक्टर धानुकको नाम छानबिनको क्रममा मुछिएकोले विभागीय कारबाहीमा परेको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।

कारबाही स्वरूप डीएसपी शर्मा र इन्स्पेक्टर धानुकलाई बिहीबार नै हाजिर हुने गरी बाहिनी मुख्यालय सुनसरी तानिएको डीआइजी पोखरेलले बताए ।

उनीहरूको ठाउँ घेरावारीमा डीएसपी प्रभात गौतम र केचनामा इन्स्पेक्टर जीतेन्द्रबहादुर बस्नेतलाई अस्थायी रुपमा जिम्मेवारी दिएर पठाउन लागिएको छ । डीआइजी पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी बिक्रम हुमागाँईँको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै डीआइजी पोखरेलले भने– ‘प्रारम्भिक छानबिनको क्रममा डीएसपी र इन्स्पेक्टर घटनामा संलग्न रहेको देखियो, प्रतिवेदन आएपछि उनीहरूमाथि थप विभागीय कारबाही हुन्छ ।’

कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको डीआइजी पोखरेलले थाहा पाएलगतै सशस्त्रले आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे१ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो ।

त्यसपछि राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदावारीस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको थियो । बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्वमा बुझाइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here