राष्ट्रको अस्मितामाथि खेलबाड नगर

0
48

नेपालको संसदीय इतिहासमा सोमबारका दिन सांसद अमरेशकुमार सिंहले प्रकट गरेको विद्रोह चर्चा र टीकाटिप्पणीको विषय भएको छ । प्रतिनिधिसभाको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न नपाएका सांसद सिंह अर्धनग्न भएर बिरोध प्रदर्शन गरेका थिए । सांसदले जनताको प्रतिनिधित्व गर्छन्, उनी प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् । तसर्थ, जनभावनालाई विधायिकाको सर्वोच्च थलो संसदमा प्रकट गर्नैपर्छ र सकेसम्म त्यसको पूर्णताका लागि भद्र संघर्ष पनि गर्नुपर्छ । बैठक शुरु हुने बित्तिकै सांसद सिंहले सभामुख देवराज घिमिरेसँग बोल्ने समय मागेका थिए । बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय भन्दै विशेष आकस्मिक समय कटौती भएको बताएका पनि थिए । तर, सांसद सिंह र नेमकिपाका प्रेम सुवालले नक्कली भुटानी शरणार्थीका विषयमा बोल्न पाउनुपर्ने भन्दै समय मागेका थिए । सभामुखले आफ्नो कुरा नसुनेको भन्दै सिंहले कम्मरमाथिको वस्त्र खोलेर विरोध प्रदर्शन गरे ।

सांसद सिंहको त्यस्तो कृत्य अशिष्ट, अमर्यादित, अश्लील र आपत्तिजनक भन्दै सभामुखले कारवाहीको चेतावनी समेत दिएका थिए । त्यही हिजोदेखि चर्चा र टीकाटिप्पणीको विषय बन्यो । यद्यपि संसदमा विरोध, असहमति र अस्वीकृतिका लागि जुत्ता हान्ने, ब्रिफेकस खोस्ने, कुर्सी तोडफोड गर्ने, वक्तव्य च्यात्ने जस्ता व्यवहार विगतमा भएका थिए । सत्तापक्षले प्रतिपक्षको कुरा नसुनेको, आफूखुशी गरेको र निरंकुश बनेको भन्दै विरोधस्वरुप विद्रोह गरेको बताइएको थियो । त्यही क्रममा सोमबारको घटना नयाँ शैलीका कारण चर्चित बनेको हुनसक्छ । सिंह लामो समयदेखि नेपाली कांग्रेससँग आवद्ध थिए । गएको निर्वाचनमा भने उनी स्वतन्त्रका हैसियतले निर्वाचन जितेर सांसद भएका हुन् । विचार, तर्क र जुझारु स्वभावका कारण उनी यसै पनि बलियो जनप्रतिनिधि ठानिन्छन् मतदाताका माझ ।

सांसद सिंहले विरोधको यो शैली नअपनाएको भए हुन्थ्यो भन्ने स्वर ठूलो हुनसक्छ । तर, उनले उठान गर्न खोजेको विषय भने नेपाल र नेपालीको अस्मितासँग जोडिएको चाहिँ हो । ठूला र मूलधारका भनिएका राजनीतिक दलका शीर्ष नेताहरु जसरी ‘नक्कली शरणार्थी’ काण्डमा जोडिएर पहरो नै हल्लाउने अवस्थामा पुगेका छन् तिनको कर्तुतको निन्दा गरेर मात्रै नपुग्ने भएको छ । नक्कली विवरण तयार गर्न विचौलियाहरुको प्रयोग र तिनको सत्तासँगको ‘कनेक्सन’का जे–जति विवरण सार्वजनिक भएका छन् त्यत्ति मात्रैले हाम्रो राजनीतिक प्रणाली र राजनीतिक दलहरुलाई कलंकको टीका लगाइदिएको छ । यो विगतका भ्रष्टाचारका घटनाहरुलाई तिनै दलहरुको सहमतिमा ‘गुपचुप’ गरिँदाको परिणाम हो । त्यसैले सरकार निर्मम हुनुपर्छ भन्ने आवाज प्रकट भइरहेको छ । यस्तोमा जनभावनाको विम्व समातेर सांसद सिंहले गरेको विरोध प्रदर्शन त्यति ठूलो आलोचनाको विषय नहुनसक्छ । बरु देश र जातिको अस्तित्व र अस्मितामाथि खेलवाड गर्नेहरुलाई हदैसम्मको सजाय दिलाउनेतर्फ सम्बद्ध पक्षको गम्भीर अग्रसरता देखिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here