खानेपानी चुनाव र सार्वजनिक धारा

९ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

बोतलमा पानी बिक्ने प्रचलन आउनुभन्दा कैयौं दशक पहिलादेखि नै मारवाडी समुदायबाट बटुवा यात्रीहरुलाई पिउने पानीको सेवा पु¥याउँदै आएको छ । पहिला–पहिला धेरै भीड़भाड़ हुने स्थानहरूमा खाटमाथि माटाको घैलामा पानी भरेर सेवा गरिन्थ्यो भनेपछि आएर धाराबाट पानी आउन थालेपछि स्थायी पक्की ट्यांकीहरू बनाएर पानी खुवाई आएको सर्वविदित छ ।

बिर्तामोडको मुक्तिचोक पश्चिम पोखरेल मार्केट अगाडि मारवाडी महिला मञ्चबाट र पश्चिम बस स्टेण्ड र दुर्गा मन्दिर छेउमा मारवाडी सेवा समितिको व्यवस्थापनमा खानेपानी सेवा निरन्तर चलिरहेको छ । माघे संक्रान्तिको माई मेलामा, मतदान स्थलहरुमा, दशैं मेला वा विशेष आवश्यकता भएको ठाउँमा मारवाडी यूवा मञ्च, युवती मञ्चले समेत जारको पानी राखेर भए पनि खानेपानी सेवालाई प्राथमिकतामा राखेको देखिन्छ ।

बिर्तामोडमा सर्वसाधारण यात्रुवर्गका लागि मारवाडी समाजका विभिन्न संस्था मार्फत निःशुल्क पिउने पानी उपलब्ध गराई आए पनि ‘बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था’ चाहिँ यस सेवाप्रति सदा बेखबर, उदासीन रहेको छ । मारवाडी सेवा समितिका तत्कालीन अध्यक्ष स्व. रतीराम वंशलको पाला (वि.सं. २०५५/०५६)देखि नै सबै अध्यक्षहरूले सार्वजनिक स्थानमा रहेका धाराहरूको शुल्क छुट, सहुलियतका लागि अनुरोध, प्रयत्न गरे पनि खानेपानी संस्था सकरात्मक हुन सकेन । हामी देख्दछौं, अन्य धेरैैजसो शहरहरुका चोक–चोकमा खानेपानी संस्थाहरूले आफैले धारा निर्माण र व्यवस्थापन गरी सार्वजनिक स्थानहरूमा सर्वसाधारणका लागि निःशुल्क पानी वितरण गरी रहेको हुन्छ ।

बिर्तामोडमा वर्षेनि पानीको महसुल त बढाइन्छ । तर, सामान्य सामाजिक उत्तरदायित्व समेत वहन गरेको देखिँदैन । इनार र ट्यूवेलको प्रचलन घट्दै गएको र पानीको गुणस्तर पनि त्यति राम्रो नरहेको अवस्थामा कच्ची टहरा छाप्राहरूमा बसोबास गर्ने विपन्न नागरिकहरूलाई स्वस्थकर पिउने पानीको अधिकारप्रति जवाबदेही हुने की न हुने ? खानेपानीले गर्नुपर्ने कार्य एउटा समाज विशेषले गरिराखेको छ भने के खानेपानी संस्थाले केही लिटर पानी बाटोमा हिँड्ने यात्रीहरूलाई, सार्वजनिक प्रयोजनको लागि मठ–मन्दिरहरुलाई निःशुल्क उपलब्ध गराउन सक्दैन र ?

बढ्दो जनघनत्वको साथै घनाबस्तीको रुपमा विकसित बिर्तामोड बजारमा रहेका हजारौं घरहरु, साँघुरा गल्लीहरूमा रहेका पसलहरू, विभिन्न मल, मार्केटका पसलहरु तथा उद्योगहरूमा यदाकदा आगलागीका घटनाहरू भइरहन्छन् । खानेपानी संस्थाले आफ्नो कार्यक्षेत्र भरी अध्ययन गरी सम्भाव्य दुर्घटना नियन्त्रणका लागि फायर ब्रिगेडलाई सजिलो हुने गरी भल्भ पोइन्टहरू प्रयाप्त रूपमा जडान गरिनु पर्दछ ।

खानेपानी संस्थाको यही जेठ १५ गते आगामी कार्यकालका लागि निर्वाचन हुन गइरहेको छ । समाजका लागि केही गर्ने अठोट बोकेर उम्मेदवारहरु उठ्नु भएको छ । सबैमा शुभकामना छ, तर उम्मेदवारी दिँदै गर्दा बिर्तामोड खानेपानीको गुणस्तर उत्कृष्ट रहेकोले अझ राम्रोका लागि प्रयत्नशील रहने, हर समय स्वच्छ, सफा पानी उपलब्धताका लागि काम गर्ने, त्यसैगरी सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फ पनि खानेपानी संस्थालाई अग्रसर गराउनेछौं भनी प्रतिबद्धता जनाउने र कार्यान्वयन गर्ने दायित्व नवनिर्वाचित समितिले लिनै पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here