घृणायुक्त अभिव्यक्तिको अतृप्तता : नेपाली राजनीतिको महारोग

0
193

जब शिष्टता सकिन्छ, सभ्यता लोप हुन्छ र विवेकले काम गर्न छोड्छ, तब अशिष्टता, असभ्यता, गाली र आक्रोशको राज शुरु हुन्छ । नेपाली राजनीतिमा गालीगलौचको व्यापकता छ, नेताहरूको चरम घृणायुक्त अभिव्यक्तिका कारण राजनीति बिटुलो छ, राजनीतिमा आउन चाहने नवीन पुस्ताका लागि निराशलाग्दो परिस्थिति छ । सबै जसो दलका सिद्धान्त केही छ जस्तो देखिँदैन, जब उच्च पदस्थ नेता नै तल्लो स्तरका अभिव्यक्तिमा आफ्नो अनुहार हेर्छन् ऐनामा सभ्य सम्झेर आफूलाई । हाम्रा नेताहरूले विरोधी र विपक्षीलाई गरेका घृणायुक्त गाली–गलौचलाई शब्दमा उतार्न सकिन्न । संसारका अन्य देशमा यस्तो हुँदैन भन्ने होइन । तर, अभिव्यक्तिमा यो स्तरको अश्लीलता, भद्दापन र अमर्यादा कमै मुलुकमा पाइन्छ ।

भारत लगायतका दक्षिण एसीयाका अन्य मुलुकमा पनि राजनीतिमा गाली–गलौच छरपष्ट हुँदा राजनीति नै लज्जित भएको अनुभव गर्न सकिन्छ । जब नेताहरू उद्देश्यविहीन बन्छन्, राष्ट्रिय मुद्दामा निजी स्वार्थका लागि भावनात्मक हिसाबले प्रस्तुत हुन थाल्छन् र कसैप्रति रिस र प्रतिशोधको भावना पोख्न थाल्छन्, तब आफ्ना भनाइलाई पुष्टि गर्न तथानाम गालीगलौचमा उत्रन्छन् । वास्तवमा गालीगलौच कुरूप मानसिकताको उपज र मानसिक दरिद्रताको चरम नमुना हो । शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाज स्थापना गर्न गालीगलौच र अशिष्ट अभिव्यक्तिले कुनै भूमिका खेल्दैनन् । गालीगलौचमा उत्रने मानिस केही समय केही पिछलग्गु र अनुयायीका सामु लोकप्रिय बन्ला, तर त्यस्तो मानिस मानसिक रूपमा कमजोर नै हुन्छ ।

नेपाली राजनीतिमा गाली गर्दा लच्छेदार सैद्धान्तिक शब्द र वाक्यांश प्रयोग गर्ने त पुरानै रोग हो । कम्युनिस्ट गाली साहित्यमा सबैभन्दा अगाडि छन् । कम्युनिस्ट मात्र होइन, धेरथोरको मात्र कुरा सबै नेता गालीलाई नै राजनीतिको अचूक अस्त्र मान्छन् । उग्र वामपन्थी, विस्तारवादी, दक्षिणपन्थी, अराजकतावादी, विसर्जनवादी, माले, मसाले, मण्डले, दरबारिया, भारतपरस्त, चीनपरस्त, अमेरिकी जासुस, रअका एजेन्ट, मध्यपन्थी, संशोधनवादी, जडसूत्रवादी, वामपन्थी मनोरोगी, कठमुल्लावादी, पुस्तकपन्थी, हिंसावादी, अराष्ट्रिय तत्व आदि जस्ता शब्द र शब्दावली प्रयोग गरेर विरोधीलाई गाली गर्ने कुरा त नेपालमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै हुँदै आएका छन् ।

भारतीय दलाल, कोशी बेच्ने, गण्डकी बेच्ने, महाकाली–टनकपुर बेच्ने, प्रजातन्त्रलाई दरबारको पाउमा समर्पण गर्ने, राजावादी, गद्दार, राष्ट्रघाती आदि जस्ता शब्दावली विरोधीलाई गाली गर्ने क्रममा अभिव्यक्त हुने गरेका छन् । आफ्नो भाषणलाई तुच्छताको चरम नमूनाका रूपमा प्रस्तुत गर्दै व्यक्तिकेन्द्रित घृणा र आक्रोशजन्य गालीमा पनि नेपाली नेताहरू उत्रिने गरेका छन् । यसले निश्चय नै नीतिमा सर्वश्रेष्ठ मानिएको राजनीतिमा वैचारिक टाटपल्टाइ देखिन्छ भने नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जन्मने वा नेताकै बोली टिप्ने र गालीगलौच तथा अशिष्टताको निरन्तरता हुने सम्भावना बढेर जान्छ । आफू र आफ्नो पुस्ता मात्र होइन, नयाँ पुस्ता पनि बिटोलिने सम्भावना बढेर गएको छ ।

नयाँ जन्मेका नेताहरू पनि शान्त, शालीन, भद्र, जाग्रत, शिष्ट हुनुको साटो पुराना र पाका मानिएका नेताभन्दा पनि आक्रोशित र यो संसार मेरै टाउको वरिपरि घुम्छ र यदि घुम्दैन भने घुम्नुपर्छ जस्ता सोच र चिन्तनबाट ग्रसित देखिनु नेपालको भविष्यको लागि शुभसंकेत होइन । दूरदर्शी चिन्तन, फराकिलो सोच, पारदर्शी जीवनशैली, आलोचना सहने र दिइएका सल्लाह र सुझावलाई ग्रहण गर्ने सोच भएका नेता आवश्यक छन् । नेपालमा नेतामा जवाफदेहिताको पूर्ण अभाव देखिनु दुःखदायी कुरा हो ।

घृणायुक्त अभिव्यक्तिको आलोचनात्मक विश्लेषण र प्रतिरोध गर्ने तरिका जान्न आवश्यक छ । घृणायुक्त अभिव्यक्तिका बिरुद्ध लचिलोपनका साथ विमति राख्ने र आलोचनात्मक सोच कौशल भएका नागरिकहरूलाई सूचनाको मूल्याङ्कन गर्न र आफ्नो व्यवहारको लागि जिम्मेवारीको भावना विकास गर्न सशक्त बनाउन आवश्यक छ । तर नेपाली नेताहरू बाबुआमा नचिन्ने कुपुत्र, षड्यन्त्रको तानाबाना बुन्ने, निरंकुश, स्वेच्छाचारी, दम्भी, घमण्डी, विखण्डनकारी, फुटवादी, सत्ता पिपासु, स्वेच्छाचारी, सर्वसत्तावादी, गफाडी, फोहोरको झिँगा, व्यक्तिगत महत्त्वाकांक्षा, स्वार्थ, इगो, अहंकार, इष्र्या भाव र कुण्ठाबाट ग्रसित, आन्दोलनविरोधी, गणतन्त्र विरोधी, देशद्रोही, आफूभन्दा कनिष्ठ नेताहरूप्रति मर्यादित भाषाको प्रयोग नगर्ने, हप्कीदप्कीको शैलीमा प्रस्तुत हुने र भाषिक र पदीय मर्यादाको ख्याल नगर्ने सामन्ती सोच भएको भनेर गालीगलौच गर्ने आम प्रचलन झैं बन्दै गएको छ । नेपाली गालीराजनीतिमा झर्रा र ठेट शब्द पनि उत्तिकै प्रयोग हुने गरेका छन् ।

कुहिएर झरेको पात, कुपात्र, हरियो साँप, कुहिएको फर्सी, अगुल्टोबाट झरेको खरानी, उम्रिन नसकेको प्युसो, हात्ती हिँड्दा झरेको धुलो आदि जस्ता आक्रोश, गाली र तुच्छ शब्द पनि सामान्य बन्दै गएका छन् । मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको बुझाइलाई ठीक ढंगले ग्रहण नगर्दा यी समस्या आएकोमा कुनै शंका छैन । आउँदो पुस्तालाई मानव अधिकार शिक्षा र सामाजिक तथा भावनात्मक सिकाइ मार्फत सभ्यता र शिष्टताको पाठ पढाउन सकिन्छ ।

भोलि हुन सक्ने सम्भावित हानी आज गरिने घृणायुक्त अभिव्यक्तिका कारण हुन सक्छ भन्ने हेक्का राख्नुपर्छ । सम्भावित झडप, द्वन्द्व र युद्धलाई रोक्न हाम्रो सामुहिक जिम्मेवारी हो । घृणायुक्त अभिव्यक्ति र भाषणलाई प्रभावकारी रूपमा रोक्नको लागि कानूनभन्दा बाहिरको समग्र दृष्टिकोण चाहिन्छ हामीसँग । यसको रोकथामका उपायहरूमा हामीले ध्यान दिनुपर्छ । यस प्रकारका अभिव्यक्तिको रोकथाम सजिलो कुरा होइन । शिष्टता र सभ्यतासहित विरोधी र विपक्षीको आलोचना गर्न सकिन्छ भन्ने शिक्षाको खाँचो छ, शिष्टता परिवर्तनकारी शक्ति हो र सो अनुरूप अघि बढ्न जरुरी छ भन्ने राजनीतिकर्मीले बुझ्न आवश्यक छ । घृणायुक्त अभिव्यक्तिको मुद्दालाई शैक्षिक दृष्टिकोणबाट सम्बोधन गर्न र घृणायुक्त भाषणलाई सम्बोधन गर्न विशेष उपायहरूसहित शैक्षिक नीतिहरू र कार्यक्रमहरू सुदृढ पार्न आवश्यक छ । यसले विश्वव्यापी नागरिक शिक्षा र आमसञ्चार तथा सूचना साक्षरताको बढोत्तरी आवश्यक रहेकोमा जोड दिन्छ । सबैले आलोचनात्मक सोच र दृष्टिकोणहरू विकास गर्न आवश्यक छ । शान्ति र मानव अधिकारलाई समर्थन गर्ने सक्रिय नागरिकले मात्र लोकतन्त्रको मर्मलाई बुझ्न सक्छन् र मर्यादित, भद्र र शालीनरूपमा पनि आफ्नो असहमति वा फरक मत राख्न सकिन्छ भन्ने सच्चाइलाई आत्मसात गर्छन् ।

पटक–पटक इतिहासले प्रमाणित गरेको छ– ठूला–ठूला नरसंहार र सामुहिक अत्याचारहरू घृणाका शब्दहरू बाटै शुरु हुन्छन् । मुलुकमा राजनीतिक, जातीय, धार्मिक ध्रुवीकरण बढ्दो छ र असहिष्णुताले मुलुकमा घृणायुक्त अभिव्यक्तिको वृद्धिलाई बढावा दिइरहेको छ । यो अशिष्टता र असहिष्णुतालाई रोक्नका लागि शिक्षक, नागरिक समाज, मानवअधिकारकर्मी सबैको महत्त्वपूर्ण भूमिका हुन्छ । घृणाले घृणालाई जन्म दिन्छ । तसर्थ, लोकतान्त्रिक मूल्यको रक्षाका लागि र सामाजिक एकतालाई बलियो बनाउनका लागि सामाजिक सञ्जालको पनि सही उपयोग हुन जरुरी छ । सामाजिक सञ्जालले घृणायुक्त अभिव्यक्ति वनको डढेलोझैं सोचेको भन्दा छिटो फैलाइरहेको छ । घृणामिश्रित अभिव्यक्तिले शान्ति, स्थिरता, दिगो विकास र मानव मर्यादाको ठाडो उल्लंघन गर्छ । मानवअधिकारको संरक्षण र रक्षाका लागि घृणायुक्त अभिव्यक्तिबिरुद्धको विश्वव्यापी प्रयास बढाउन जरुरी छ ।

हाम्रोे शिक्षालाई मानवअधिकार र विविधता, सामाजिक न्याय र लैङ्गिक समानताको सम्मानको मूल्यहरू जगाउने गरी रूपान्तरण गर्न आवश्यक छ । गुणस्तरीय औपचारिक र अनौपचारिक शिक्षाले समावेशिता र शान्तिमा पनि योगदान दिन्छ र शत्रुता, वैरभाव, हिंसा र नरसंहार रोकथाम गरी विभाजन र भेदभावका खतराहरूबाट समाज र मुलुकलाई जोगाउन मद्दत पुग्छ । घृणाले विश्व, मुलुक र समाज विभाजित गर्छ । तसर्थ, साझा मानवताको लागि घृणायुक्त अभिव्यक्तिहरू रोक्नैपर्छ । जातिवादको सामना गर्न सजिलो छैन । धार्मिक र जातीय भेदभाव र असहिष्णुताले मानवताविरोधी जातिवाद र धार्मिक अतिवादलाई प्रश्रय दिन्छ र परिणाम स्वरूप हिंसा, विस्थापन र असमानता जन्माउँछ, किनभने अतिवाद र जातिवादको मातले अन्धो भएपछि मानिस बहुलता र विविधतालाई स्वीकार गर्न असफल हुन्छ ।

घृणायुक्त अभिव्यक्तिलाई बढ्न मलजल गर्ने काम जानेर वा नजानेर आम सञ्चारक्षेत्रले पनि गरिरहेको छ । तसर्थ, आमनागरिकसँगै सञ्चारक्षेत्र पनि आफ्नो कर्तव्यप्रति सजग र सतर्क हुन जरुरी छ । राज्यको चौथो अङ्ग मानिने सञ्चार क्षेत्र अनुशासित, जिम्मेवार र पथप्रदर्शक हुन सकेमा घृणाको राजनीति समाप्त हुन्छ र स्वच्छ प्रतिष्पर्धाका माध्यमबाट जनअनुमोदित हुँदै शासन व्यवस्था सञ्चालन हुन्छ । छुवाछुत, जातपात, होचोअर्घेलो र असमानताको बढोत्तरी घृणायुक्त अभिव्यक्तिकै कारण हुन्छ । सबैप्रति समभाव, सहानुभूति र समानुभूति राख्न सकेमा घृणा घट्ने क्रममा जान्छ र समाजमा समावेशिता र विविधताको भाव सञ्चार हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here