नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

९ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

काठमाडौँ,

यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ ।

चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ । सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गर्नुभएको हो । पटकथा लेखकसमेत रहनुभएका निर्देशक वल यो चलचित्रमा भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न हो भन्नुहुन्छ । ‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उहाँको अपेक्षा छ ।

धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । प्रमोद कार्कीले खिच्नुभएको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here