‘उपभोक्तालाई २४सै घण्टा शुद्धपानी उपलब्ध गराउँछौं’

१२ जेष्ठ २०८०, शुक्रबार मा प्रकाशित

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यही जेठ १५ गते हुने चुनावका लागि अहिले उम्मेदवारहरु मतदाताको घर–घर पुगेर भोट मागिरहेका छन् । संस्थाको आसन्न निर्वाचनमा विगतमा जस्तै कांग्रेस र राप्रपाले सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गरेका छन् । दुई दल ‘लोकतान्त्रिक राष्ट्रवादी समूह’का नाममा निर्वाचनको मैदानमा उत्रिएका छन् । एमालेसहितका दलहरु स्वतन्त्र प्रगतिशील प्यानलका नाममा मैदानमा छन् ।

खानेपानीमा लामो अनुभव भएकाले कांग्रेस र राप्रपाले तालमेल गरेर गठन गरेको ‘लोकतान्त्रिक राष्ट्रवादी समूह‘बाट अध्यक्ष पदका साझा उम्मेदवारका रुपमा मेघराज बाँस्तोला छन् । यसअघि उनी बिर्तामोड साना शहरी खानेपानीमा सचिवको भूमिकामा थिए । खानेपानी संस्था सञ्चालनको लामो अनुभव बाँस्तोला बलिया उम्मेदवार हुन् । उनै अध्यक्षका उम्मेद्वार मेघराज बाँस्तोलासँग पूर्वाञ्चलकर्मी नरेन्द्र ढकालले गरेको कुराकानीको सम्पादित अंश :

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा यहाँको उम्मेदवारी किन ?

– खानेपानी संस्थामा लामो समयदेखि विभिन्न पदमा बसेर उपभोक्ताको सेवा गर्ने अवसर प्राप्त गरिसकेको छु । संस्थामा एक कार्यकाल कार्यसमिति सदस्य र दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसकेको हुनाले अब संस्थाको नेतृत्व लिन सक्छु भन्ने विश्वासका साथ अध्यक्षको उम्मेदवार बनेको हूँ । बिर्तामोड खानेपानी संस्था सन् २०१८ र २०२२ मा गरी दुई पटक देशकै उत्कृष्ट बनिसकेको छ । यो कार्यलाई निरन्तरता दिन पनि मेरो उम्मेदवारी हो । उपभोक्तलाई सहजरुपमा खानेपानी उपलब्ध गराउने बाचाका साथ चुनावी मैदानमा छु । आशा र विश्वास लिएको छु । मलाई सदस्य र सचिवको जिम्मेवारी सम्हाल्दा जुन विश्वास गर्नुभएको छ । त्यसै अनुसार अध्यक्षमा पनि उपभोक्ताले अत्याधिक मतका साथ विजयी गराउनु हुनेछ । संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाई र वर्तमान अध्यक्ष जलकुमार गुरुङले गरेका कामलाई निरन्तरता दिँदै आम उपभोक्तालाई सेवा प्रवाह गर्नेछु ।

खानेपानीमा के छन् हाल समस्या र समाधानमा यहाँको कस्तो हुन्छ भूमिका ?

– अत्यन्त राम्रो प्रश्न गरी दिनुभयो यहाँलाई धन्यवाद । खानेपानीको विभिन्न पदमा हुँदा मैले देखेको समस्या भने वितरणमा केही असहजता विगतमा भएका हुन् । हामी विकास चाहन्छौं । कुनै पनि स्थानमा सडक बिस्ता र कुनै पनि विकास निर्माणका काम हुँदा पाइप फुट्ने र समयमा पानी नपुग्ने समस्या उपभोक्ताले व्यहोर्नु प¥यो । तर, अब हामीले त्यसलाई समाधान गर्नका लागि तत्काल समस्या आएको स्थानमा हाम्रो टोली पुगेर मर्मत गरेर पानी वितरणलाई सहज बनाउने काम पनि थालेका छौं । म सचिवको जिम्मेवारीमा रहँदा अध्यक्ष जलकुमार गुरुङ र म आफैं पनि धेरै स्थानमा पुगेका छौं । हामी उपभोक्तालाई सहजरुपमा शुद्ध पानी पु¥याउनुपर्छ भन्ने मान्यता राखेर काम गर्ने मान्छे हौं । हो संस्थाको नेतृत्व गर्न पद आवश्यक हुन्छ, तर हामी यो पदमा छौं मैले कहाँ काम गर्ने हो र भनेर बस्ने मान्छे होइनौं । हामी आफैं फिल्डमा खटिएर काम गर्दै खानेपानीमा देखिएका समस्या समाधन गर्ने पक्षमा छौं । अझ नेतृत्व गर्ने अवसर पाएमा यसलाई थप प्रभावकारी बनाउने छौं । हाम्रो एउटै उद्देश्य हो उपभोक्ताले २४सैं घण्टा खानेपानी पाउनुपर्छ ।

बिर्तामोड साना शहरी खानेपानीमा कति उपभोक्ता आबद्ध रहेका छन् ?

– बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा हाल आठ हजार सात सय ५४ जना उपभोक्ता रहनुभएको छ र हामीले २४सैं घण्टा पानी उपलब्ध गराएका छौं । यो प्रक्रियालाई आगामी दिनमा पनि निरन्तरता दिँदै ध्ज्इ को मापदण्ड अनुसारको पानी उपलब्ध गराउने छौं । उपभोक्तको माग अनुसार हरेक गाउँ–टोलमा पाइपलाइन बिस्तार गर्दै उपभोक्तालाई सहजरुपमा पानी उपलब्ध गराउन हामी प्रतिबद्ध रहेका छौं । हामी कुरामा भन्दा काममा विश्वास गछौं ।

पछिल्लो समय शहरीकरण बढिरहेको छ । खानेपानीको समस्या बढ्न सक्छ । त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

– अत्यन्त सान्दर्भिक प्रश्न गरिदिनुभयो । हो, बिर्तामोड क्षेत्रमा वर्षेनि जनघनत्व बढिरहेको छ । हामीले जनघनत्वलाई पनि राम्रोसँग मूल्याङ्कन गरेका छौं । कतिपय क्षेत्रमा यस्ता विषयमा ध्यान नदिँदा खानेपानी बिहान–बेलुका अर्थात् खानेपानी वितरणमा पनि लोडसेडिङ गर्ने गरिएको पाइन्छ । तर, हामीले अहिले पनि २४सैं घण्टा खानेपानी उपभोक्तालाई वितरण गरेका छौं । यो प्रक्रियालाई हामी निरन्तरता दिनेछौं । हामी जनघनत्वले असर गर्न दिँदैनौं । त्यसका लागि थप क्षेत्रमा पानी कसरी वितरण गर्ने तथा के गर्दा उपयुक्त हुन्छ विज्ञसँग परामर्श गर्दै पानी वितरणलाई निरन्तरता दिनेछौं ।

खानेपानीमा पनि राजनीतिक दलको जस्तै गठबन्धन गरेर उम्मेद्वारी दिनुभएको छ । के खानेपानीमा पनि राजनीति गर्नुभएको हो ?

– खानेपानीमा राजनीति गर्नुहुन्न भन्नेमा हामी स्पष्ट छौं । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दुई कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरिसकेकाले सर्वसम्मतरुपमा मलाई अध्यक्षको जिम्मेवारी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको भएका साँच्चै राम्रो हुने थियो । तर, राजनीतिक दलहरुले विभिन्न गठबन्धन गरेपछि म पनि कुनै न कुनै दलमा आबद्ध छु । मलाई कांग्रेस र राप्रपाले सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गर्दै ‘लोकतान्त्रिक राष्ट्रवादी समूह’को अध्यक्षको उम्मेदवार बनाउनुभएको छ । उपभोक्ताले आस्था विचार जता भए पनि काम गर्ने र नेतृत्व गर्न सक्ने हिसाबको मूल्याङ्कन गर्दै मलाई विजयी गराउनुहुन्छ भन्नेमा आशावादी रहेको छु ।

तपाईले विजयी हासिल गरेमा खानेपानीको क्षेत्रमा के परिवर्तन पाउँछन् उपभोक्ताले ?

– पक्कै पनि म नेतृत्वको ‘लोकतान्त्रिक राष्ट्रवादी समूह’का उम्मेद्वारलाई मतदाताले अत्यधिक बहुमतका साथ विजयी गराएमा हामीले उपभोक्ता माझ गरेका पाँच वटा प्रतिबद्धता पूरा गर्नेछौं । हामीले उपभोक्तलाई भनेका छौं– २४सैं घण्टा हरेक धारामा पानी, मठमन्दिर, चर्च, देवालय, मस्जिदहरुमा न्यून शुल्कमा पानी उपलब्ध, देशकै उत्कृष्ट खानेपानी घोषित भएको यो संस्थालाई फेरि पनि उत्कृष्ट बनाउने लक्ष्य, धारा जडानका लागि निवेदन दिएको २४ घण्टामा धारा जडान गरी उपभोक्तालाई सुविधा, शहरीकरण जनघनत्वलाई ध्यानमा राखेर डिप बोरिङ्ग, आोभरहेड र अण्डर ग्राउण्ड ट्यांकी निर्मााण गर्दै उच्च गुणस्तरीय पिउने पानी उपलब्ध राउने हाम्रो लक्ष्य रहेको छ । हाम्रा प्रतिबद्धतालाई हामी काम गरेर देखाउने छौं । हामीले सार्वजानिक स्थानमा पनी न्यून शुल्कमा धारा जडान गरेर पानी उपलब्ध गराउनका लागि विभिन्न सामाजि संघ–संस्था तथा स्थानीय निकायसँग साझेदारी गर्ने जर्मको गरेका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

– अन्त्यमा तमाम बिर्तामोडबासी आमा–बुबा, दाजुभाइ–दिदीबहिनीमा मेरो नमस्कार । आगामी जेठ १५ गर्ने हुन गइरहेको यस बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ‘लोकतान्त्रिक राष्ट्रवादी समूह’का सबै उम्मेद्वारलाई विजयी गराई दिन आग्रह गर्दछु । म मेघराज बाँस्तोला अध्यक्षको उम्मेद्वार हुँ । त्यस्तै उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, खुल्ला सदस्य आनन्द गुरुङ र खगेन्द्रकुमार थापा, महिला सदस्यहरु कमला अग्रवाल, बालादेवी खरेल र मायादेवी प्रधान श्रेष्ठलाई मतदान गरेर विजयी गराई दिनुहुन अनुरोध गर्दछु । उपभोक्ताको मागका विषयलाई आत्मसाथ गर्दै स्वच्छ र गुणस्तरीय पिउने पानी २४सैं घण्टा उपलब्ध गराउन खटिने छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here