१६ वर्ष टेकेको नेपाली गणतन्त्र आक्रमणको निशानामा छ । नेपाली गणतन्त्रको ओठ माथि जुँगाको रेखी बस्न थालेका छन्, तर परिपक्व हुनु अघि नै गणतन्त्र विस्थापनका प्रयासहरू पनि भइरहेका छन् । गणतन्त्रको मर्म र भावना अनुरूपका विचार, व्यवहार र गतिविधि गणतन्त्र पक्षधर नेता र दलबाट नभएका कारण जनतामा चरम निराशा बढेको छ । जनताका छोराछोरी निर्वाचनका माध्यमबाट राज्यको सबभन्दा उपल्लो स्थान अर्थात् राष्ट्रपति बन्न सक्ने व्यवस्था नै गणतान्त्रिक व्यवस्था हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था छ यतिबेला ।
२०६५ जेठ १५ गते अर्थात २८ मे २००८ रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल विधिवत् गणतन्त्रमा प्रवेश गरेको हो । अहिले नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भएको छ । गणतान्त्रिक मुलुक एउटा यस्तो मुलुक हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुन सक्छ । गणतन्त्रले जहानियाँ शासनलाई निषेध गर्छ । वास्तवमा गणतन्त्र लोकतन्त्रको एक विशिष्ट र सुन्दर रूप हो । नेपालमा आजको राज्यव्यवस्थाको मूल अभिव्यक्ति गणतन्त्र हो ।
नेपालको इतिहासमा सामन्तवादी निरङ्कुशताबिरुद्ध राजनीतिक आन्दोलनको आरम्भ भएपछि गणतन्त्रको विजयको यात्राको शुभारम्भ भएको मान्न सकिन्छ । नेपाली गणतान्त्रिक चेतनाको औपचारिक र मूर्त अभिव्यक्ति राणा शासन विरोधी आन्दोलनकै सेरोफेरोबाट भएको हो । एक सय वर्षको अवधिको पृष्ठभूमि बोकेको गणतन्त्र प्राप्तिको चाहना र चेतना लामो कालखण्डदेखि नेपाली समाजमा कुनै न कुनै रूपमा विद्यमान रहेको थियो । गणतन्त्र स्थापनाका लागि भएका जनसङ्घर्ष, जनान्दोलन र जनक्रान्तिमा प्राणोत्सर्ग गर्ने महान शहीदहरूले आजको अवस्थाका लागि बलिदान दिएका थिए भनेर प्रश्न हामीसामु उभिएको छ ।
वास्तविक अर्थमा आजको गणतन्त्रको पक्षधरता के हो ? घाइते, अपाङ्गता भएका र बेपत्ता नागरिकको पीडा कसले सुनिदिने आज ? नेपाली समाजमा प्राचीनकालमा वंशानुगत राजतन्त्रको आरम्भ हँुदाताकादेखि नै पनि राजतन्त्र विरोधी चेतना थियो । राजतन्त्र र सामन्तवादका बिरुद्ध विद्रोह बोलिरहने प्रखर सुधारवादी चेतना र वर्णवाद, जातिवाद, हिंंसावाद र कर्मकाण्डी संस्कारका विरोधका गर्भबाट गणतन्त्रको भ्रुण विकास भएको हो । गणतान्त्रिक चेतनाभित्र वर्गीय, जातीय, नश्लीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनको कारक सामन्तवाद र पुँजीवाद समेतका बिरुद्धको चेतना लुकेको छ ।
नेपालमा स्थापना भएको गणतन्त्र स्थापना धेरथोर जनताको चाहना पनि थियो । उत्पीडनलाई कायम राखि राख्ने यथास्थितिवादी परिपाटी र व्यवस्थाका बिरुद्धको र त्यसको अन्त्यको चाहनाबाट गणतन्त्र निसृत भएको हो । विपरीत सिद्धान्त र धारका पात्रहरूबीच पनि सोच्नै नसकिने सहकार्य र सहयात्राका कारण गणतन्त्रको भ्रुण जन्मेको हो । भारतीय राजनीतिमा दक्षिण एसियाली र नेपाल विज्ञ मानिने ‘थिंक ट्याङ्क’ प्राध्यापक एस.डी. मुनिले नेपाली गणतन्त्र आफ्नो ह्याचरीमा कोरलेको चल्ला भएको बताएको आधारमा भन्न सकिन्छ– नेपालको राजनीतिमा सदैव प्रत्यक्ष–परोक्ष प्रभाव राख्ने छिमेकी मुलुक भारतमा २०६२ सालमा तत्कालीन विद्रोही नेकपा माओवादी र संसदीय राजनीतिमा विश्वास गर्ने सात राजनीतिक दलबीच सम्पन्न १२ बुँदे सम्झौताको पृष्ठभूमिमा नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
गणतन्त्र स्थापना भएको पनि डेढ दशक बितिसकेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रले राजतन्त्रको प्रतीकको रूपमा रहेको राजशाही आवास नारायणीहिटी छोडेको धुमिल स्मृति मात्र छ । उनले शान्त र गम्भीररूपमा गद्दी त्यागेर कुनै विद्रोह नगरी नेपाल सरकारले छुट्याएको गोकर्णस्थित आवासमा बसाइँ सरेका थिए । यो इतिहाससिद्ध कुरा हो । तत्कालीन राजा ज्ञानेन्द्रमाथि घरेलु र बाह्य शक्तिको दबाब नै सो बहिर्गमनको प्रमुख कारण रहेकोमा कुनै शंका छैन ।
नेपाली जनताको सात दशकभन्दा बढी समयदेखि जनताले निर्वाचित गरेको संविधानसभाबाट जनताका लागि संविधान बनाउने सङ्कल्प थियो । यो चाहना २०७२ सालमा मात्र पूरा भएको मानिन्छ । तर, गणतन्त्रको सहउत्पादनको रूपमा राजतन्त्रको अवशेष गणतन्त्रवादी भनी मानिएको नेताहरूमा औतारी लामामा आत्मा जागे जस्तो वा दुष्टात्माले प्रेत जगाए जस्तो गरी देखा प¥यो । यसबाट के पुष्टि भयो भने यथार्थमा नेपालबाट सामन्तवादी राज्यव्यवस्था बिदा भइसकेको थिएन । राजतन्त्रलाई सामन्तवादी राज्यसत्ताको उपरीसंरचनाको रूपमा हेरिन्छ ।
नेपाली जनताको सङ्घर्ष सामन्तवादी राज्यव्यवस्था बिरुद्धमा थियो र भन्न सकिन्छ नेपाली जनताको निरन्तरको सङ्घर्ष राजतन्त्रबिरुद्ध मात्र लक्ष्यित थिएन, त्यो त बँचेखँुचेका सामन्तवादी अवशेष र मानवताविरोधी शोषणको मुख्य आधार दलाल पुँजीवादी व्यवस्थाका बिरुद्ध थियो । राजतन्त्रलाई सामन्तवादी निरङ्कुशताको केन्द्रीकृत खम्बा मानियो, तर राजतन्त्र पुँजीवादी व्यवस्थाको पृष्ठपोषक भइसकेको थियो । दलहरूले राजालाई हटाए, बिडम्बना सामन्तवादी संस्कृति र पुँजीवादी व्यवस्था अहिले पनि कायम छ । अहिले त राजा छैनन्, दोष कसलाई दिने ? एकापसी मनमुटाव, पदलोलुपता र कुर्सीको तानातानमा समय व्यतीत गरेकाले जनतामा यिनै राजनीतिक चरित्रहरूले देखाएको बाटो गणतन्त्रको बाटो मान्दा गणतन्त्रप्रति नै वितृष्णा बढ्दै गएको छ । जनताले राजा हटेर जीवनमा परिवर्तन आएको महशुस हुन सकेको छैन । गणतन्त्रवादी नेताहरू अहम् र व्यक्तिगत महत्त्वाकांक्षा परिपूर्तिको दौडमा छन् । एक राजाको ठाउँमा दर्जनांै राजाहरू जन्माउन गणतन्त्रको स्थापना भएको होइन ।
नेपाली गणतन्त्रले जनअपेक्षित रूपमा आफूलाई दह्रो रुपमा उभ्याउन सकेन । गणतन्त्रका मुख्य रक्षक दलहरू तथा तिनका नेताहरूका क्रियाकलाप कै कारण जनतामा निराशा बढेको छ । गणतन्त्रवादीहरू माथिको नेपाली जनताको विश्वासमा ह्रास आउनु राम्रो अवश्य होइन । नेताहरू पदलोलुपताले वशिभूत भएर आफ्नो इतिहास एकै पटकमा तिलाञ्जली दिन तयार भएका छन् । निर्वाचनमा हारेकाहरू मनोनित कोटामा सांसद बन्नुपर्ने, निर्वाचनभन्दा अघि नै असमयमै प्रधानमन्त्री, मन्त्री र राष्ट्रपति बन्नुपर्ने लालसाले वशिभूत भएर आफ्नै दलमाथि वञ्चरो प्रहार गर्ने विकृति र विसंगतिपूर्ण क्रियाकलापहरू बढिरहेका छन् । नेपालका सबै सङ्घर्ष र आन्दोलनका उपलब्धिहरूलाई संस्थागत रूप भनेको आजको व्यवस्था हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट नेपाली जनताको चाहना र भावना सम्बोधन हुन सकेको छैन । ठोस रूपमा भन्ने हो भने यो व्यवस्थाले श्रम गर्ने मेहनतकश जनताको जीवनमा खुशियाली ल्याएको छ ? यो गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हमपट्टी लगाउन सकेको छ ? यो राज्यव्यवस्थाबाट जनताले जीवनमा खुशीयाली पाएका छैनन् । धर्मनिरपेक्षता र सङ्घीयतासहितको गणतन्त्रात्मक राज्यव्यवस्थाले नेपाली जनताको दीर्घ सपनाको सम्बोधन गर्न सकेको छैन ।
गणतन्त्रले जनतामा सन्तुष्टिको अभिवृद्धि गर्न आवश्यक छ । आजको व्यवस्था उत्पीडन र शोषण, विभेद र असमानतालाई नसहने बनाउने कसरी ? गणतन्त्रवादीहरूले आफ्ना विरोधीहरूलाई सत्तोसराप गर्नुभन्दा आफ्ना कर्म र गतिविधिलाई पुनरावलोकन गर्न जरुरी छ । सत्ताधारी दलभित्रकै अन्तरकलह र जनतालाई सुशासन दिन नसकेको पृष्ठभूमिमा जनतामा निराशा बढेको हो । दर्शन र चिन्तनका आधारमा गणतन्त्रको सपना आवश्यकता र उपयोगिताका आधारमा लिइदिँदा आजको समस्या देखिएको हो । जनताको आङमा अझै घाम लागेको छैन । जनताको सपना माथि भ्रष्टाचार, अवसरवाद र पदलोलुपताको ध्वाँसो दलिने क्रम रोकिएको छैन र गणतन्त्र नेपाली जनताका लागि दूध नदिने गुजराती गाई जस्तो भएको छ । एकातिर गहिरो समुद्र छ, र अर्कोतिर डरलाग्दो भीमकाय राक्षस छ नेपाली जनताका लागि– गणतन्त्रको विकल्प खोज्न पनि नमिल्ने, गणतन्त्रको पूजा गरेर र आरती उतारेर न भोको पेट भरिने, न नाङ्गो आङ् ढाकिने ।
ठीक यतिबेला धमिलोमा माछा मार्न केही जालारी अध्याँरो कोठामा षडयन्त्रका तानाबाना बुन्दै छन् । वास्तवमा दलहरूमा सामन्तवाद विरोधी भावना र गतिविधिभन्दा प्रत्यक्ष–परोक्ष रूपमा सामन्तवादलाई नै मलजल गर्ने र बढोत्तरी गर्ने क्रियाकलाप हुनु जनतामा निराशा बढ्ने मूल कारण हो । सामन्तवादी र पुँजीवादी व्यवस्था मानवद्वेषी व्यवस्था हुन् । सामाजिक न्याय र समताको सिद्धान्त विपरीत यी व्यवस्थाले मानवजातिलाई अमानवीकरण गर्ने र विभिन्न किसिमको उत्पीडन थोपर्ने कार्य गर्दछन् । रूपमा आएको गणतन्त्र सारमा प्रत्याभूत हुन सकेको छैन ।
नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादोन्मुख राज्यव्यवस्थाको आधार खडा गर्न सकेमा मात्र गणतन्त्रको उपादेयता सिद्ध हुन सक्छ । गणतन्त्रले दहीचिउरा दिन सक्दैन भने पनि पानीचिउरा चाहिँ दिनुपर्छ । थारो गणतन्त्रको भ्रममा नेपाली जनता कहिलेसम्म बाँच्ने ? गणतन्त्रको सग्लो र जनअपेक्षा अनुरूप काम गर्ने अभिलाषा बोकेको अनुहारमा गणतन्त्रका नेताहरूले भ्रष्टाचार, अवसरवादिता, पदलोलुपताको ध्वाँसो दलिरहेका छन् । ध्वाँसो दलिएको गणतन्त्रको भविष्य कसरी जनमनमा सुरक्षित हुन सक्ला ? आजको नेपालको समकालीन राजनीतिको मूल यक्ष प्रश्न यही हो ।
नेपालमा पूर्ण रूपमा राजतन्त्र समाप्त भएको छैन र साँचो अर्थमा गणतन्त्र पनि आएको छैन । आफ्नो सबैभन्दा मूल्यवान मानिने आफ्नै जीवनको बलिदान दिने नेपाली आमाका हजारौं सर्वोत्तम छोराछोरीको सपना पूरा गर्न गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने र सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकतालाई अझ सुदृढ गर्ने अभिभाराबाट दलहरूले अलगथलग हुन मिल्दैन । संविधान अनुरूप अघि बढ्न आवश्यक छ, राष्ट्रहित र जनजीविकाका सवालमा जनपक्षधरता कायम राख्न आवश्यक छ । विद्यमान गणतान्त्रिक नेतृत्वमा अवतरित राजतन्त्रको भुत्याहा आत्माबाट मुलुक र व्यवस्थालाई जोगाउन आवश्यक छ ।
तष्चतजबपजबचभद्दिण्द्दड२नmबष्।िअयm