गणतन्त्र दिवसले राष्ट्रप्रेम बढाओस्

१५ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

आज जेठ १५ गते । नेपालमा नयाँ राजनीतिक प्रणाली शुरु भएको विशेष दिनको सम्झनामा आजको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । राज्यको सम्पूर्ण शक्तिको स्रोत जनता भएकाले त्यही अजेय शक्तिको पनि स्मरण गर्दै परम्परागत राजतन्त्रात्मक प्रणालीको अन्त्यसँगै देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको दिनका रुपमा मनाउन थालेको पनि पन्ध्र वर्ष भएको छ । संविधानसभाबाट २०६५ जेठ १५ गतेका दिन देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो । त्यसपछि मनाउन थालिएको यो दिवसको सान्दर्भिकता, औचित्य र उपलब्धी भने जनतामाझ पुग्न सकेको छैन ।

०६२÷०६३ को जनआन्दोलनको उपलब्धीका रुपमा लिने गरिएको गणतन्त्रात्मक शासन व्यवस्थाले भने अझै लय समाउन सकेको छैन । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वलाई आन्दोलनरत् सात दलको प्रयासमा १२ बुँदे समझदारीमा टुङ्ग्याएको थियो । त्यसपछि सशक्त बनेको आन्दोलनरत् दलहरुको आह्वानमा आन्दोलन उत्कर्षमा पुग्यो । त्यही आन्दोलनको बलले राजा ज्ञानेन्द्रलाई पनि सहमतिमा आउन दवाव दियो । परिणाम स्वरुप आन्दोलनरत् दलको मार्गचित्रमा सहमति जनाई विघटन गरिएको संसद पुनः स्थापित भयो । त्यसपछि गठन भएको संविधानसभाले संविधान निर्माण गर्न सकेन र दोस्रो संविधानसभाको गठन भई देशले नयाँ संविधान पायो । त्यही संविधानको आधारमा देशमा सात वटा प्रदेश र बलिया स्थानीय तह बनाइए ।

गणतन्त्रात्मक शासन व्यवस्थाबाट जनताले के पाए ? यो प्रश्न आज पनि अनुत्तरीत छ । शासन सत्ताका नाइकेहरुको जीवनस्तर फेरिएको छ । पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्ने होड चलेको छ । दिनहुँ भ्रष्टाचारका नयाँ काण्ड थपिने क्रममा छन् । पछिल्लो पटक नक्कली शरणार्थी प्रकरणले देशको प्रतिष्ठामा आँच पु¥याएको छ । सत्ता सञ्चालनको उपल्लो तहमा रहेका व्यक्तिहरु पक्राउ परेका छन्, तर बिस्तारो–बिस्तारो यो मुद्दा ओझेलमा पर्ने डर बढ्दै गएको छ । विगतका काण्डहरु त्यत्तिकै सामसुम भएका दृष्टान्तका आधारमा आरोपितहरुले उन्मुक्ति पाउँदैनन् भन्ने अवस्था छैन । यस्तो बेला आज परेको गणतन्त्र दिवसले नेतृत्वका कारण नेपालीका मुहारमा कान्ति ल्याउन नसके पनि देशको स्वाभिमान र गौरवमा लागेको कालो दाग मेटाउन सकोस् । देश सबै सुखभन्दा माथिको सुख हो र जनता सुरक्षित रहे देश रहन्छ । यही सत्यलाई आत्मसात गर्दै जिम्मेवार पक्षले सुशासनको अनुभूति दिलाउन सकोस् । नेपाली जनताको जीवनस्तर, जीवीकामा सुधार होस् । राष्ट्र, राष्ट्रियता, राष्ट्रप्रेमको भावना बढेर जाओस्– गणतन्त्र दिवसको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here